बागमतीको सत्ता समीकरण फेरबदलमा राप्रपा र ‘हानेपा’ निर्णायक

निशा गुरुङ
फाल्गुन २२, २०८०

हेटौंडा । केन्द्रीय सत्ता गठबन्धनमा उलटपुलट आएसँगै बागमतीमा पनि सरकार फेरबदल निश्चित प्रायः छ ।

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएर नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धन बन्ने भएपछि बागमतीमा पनि जोडघटाउ सुरु भएको छ । बागमतीमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को सरकार छ । सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टी (हानेपा)भने सरकारमा सहभागी छैन् ।

बागमतीमा हाल माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् । सत्ता समीकरणमा फेरबदल आएसँगै उनको मुख्यमन्त्रीको पनि टंगो छैन् । केन्द्रमा एमाले र माओवादीबीच कोशी र मधेश प्रदेशबाहेक पाँच वटा प्रदेशमा एमालेलाई ३ र माओवादीलाई २ मुख्यमन्त्रीको भागबण्डा लागेको चर्चा छ ।

नयाँ भागबण्डाअनुसार बागमती कुन दलले पाउने भन्नेमा निश्चित भइसकेको छैन् । बागमती माओवादी केन्द्रकै भागमा परे जम्कट्टेल नै मुख्यमन्त्री रहने छन् । एमालेको भागमा परे संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री हुनेछन् । जसकारण प्रदेशको भागबण्डा नटुंगिएसम्म मुख्यमन्त्री जम्कट्टेलकै कार्यकालको टुंगो नलागेको हो ।

एमालेका एक सांसदका अनुसार भागबण्डाको टुंगो नलागेसम्म औपचारिक रुपमा कुरा अगाडि नबढ्ने संकेत देखिएको छ । बागमतीमा समाचार तयार पार्दासम्म माओवादी र एमालेको सरकारको विषयमा संवाद हुन सकेको छैन् । केन्द्रबाट भागबण्डाको टुंगो लगाएपछि मात्रै संवाद हुने ती एमाले सांसदले बताए ।

बागमतीमा पछिल्लो ७ महिनादेखि एमाले र माओवादीको सम्बन्ध राम्रो छैन् । बजेटमा विपक्षीका योजना समेट्ने सहमति गरेर मुख्यमन्त्री जम्कट्टेलले कार्यान्वयन नगरेपछि एमाले र राप्रपा रुष्ट बनेका थिए ।
जम्कट्टेले सहमति कार्यान्वयनमा देखाएको व्यवहारले एमाले मुख्यमन्त्री परिवर्तनमै लाग्न सक्ने चर्चा पनि छ । ‘माओवादी र एमालेबीचको बजेट विवाद केन्द्रसम्म पुगेको छ । मुख्यमन्त्रीप्रति एमालेको असन्तुष्टी पहिल्यैदेखि हो । सायद एमालेले मुख्यमन्त्रीमा दाबी गर्न सक्छ ।’, एमालेका एक नेताले भने ।

२६ पुसमा माओवादी, एमाले र राप्रपाको गठबन्धन सरकार बागमतीमा थियो । त्यसको झण्डै दुई महिनापछि सत्ता समीकरणमा फेरबदल आएकाले माओवादीले कांग्रेस, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी (हानेपा)को समर्थनमा नयाँ सरकार बनाएको थियो ।

त्यसको एकवर्षपछि पुनः सत्ता समीकरणमा परिवर्तन आएको हो । केन्द्रीय राजनीतिमा गत १० पुसमा एमालेसहितको गठबन्धन बन्दा र पुनः कांग्रेससहितको सत्ता समीकरण बदलिँदा पनि बागमतीको मन्त्रिपरिषद्मा पनि फेरबदल आएको थियो ।

बागमतीमा सत्ता समीकरण फेरबदलमा भने राप्रपा र हाम्रो नेपाली पार्टी (हानेपा) निर्णायक बनेका छन् । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि बहुमत ५६ सदस्य आवश्यक पर्दछ । प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हानेपाको २ सदस्य छन् । नयाँ गठबन्धनका नेकपा एमाले र माओवादी केन्द्रको सिटले मात्रै बागमतीमा सरकार सञ्चालन हुने अवस्था छैन् ।

एमालेको २७ र माओवादी केन्द्रको २१ सिटले ४८ हुन आउँछ । एमालेबाट अपसरा चापागाईं उपसभामुख छिन् । एमाले र माओवादीलाई नयाँ सत्ता समीकरणमा सहजै बहुमत पु¥याउन राप्रपालाई सरकारमा ल्याउनु पर्ने हुन्छ । प्रदेशसभामा राप्रपासँग १३ सिट छ । राप्रपाका भुवनकुमार पाठक सभामुख छन् । एमालेको २६, माओवादीको २१ र राप्रपाको १२ सिट जोड्दा ५९ हुनेछ । जुन सरकार लागि पर्याप्त बहुमत हो । गत २६ पुसमा पनि यी तीन दलले सरकार गठन गरेक थिए ।

तर, राप्रपा सरकारमा नजाने भएपछि बहुमत पु¥याउन नेकपा एकीकृत समाजवादी र हानेपाको समर्थन आवश्यक पर्नेछ । एकीकृत समाजवादी ल्याएर मात्रै पनि सरकारलाई बहुमत नपुग्ने भएकाले हानेपाको साथ निर्णायक बनेको हो ।

एमाले, माओवादी, एकीकृत समाजवादी र हानेपाको गरेर ५७ सिट हुन आउँछ । जुन सरकारका लागि पर्याप्त हो । बागमतीमा नेपाली कांग्रेस, राप्रपा र नेकपा (एकीकृत समाजवादी)को पनि सरकार गठनका लागि सिट पुग्छ । कांग्रेस, राप्रपा र एकीकृत समाजवादी गरी ५७ सिट हुन आउँछ ।

राप्रपाले आन्दोलनमा रहेकाले सरकारमा नजाने बताएसँगै बागमतीको नयाँ गठबन्धनमा एकीकृत समाजवादी र हानेपालाई सहभागी गराउनुको विकल्प देखिँदैन् । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीले निर्णय गरेअनुसार बागमतीमा भूमिका खेलिने बताए ।

अर्थमन्त्री लामा विदेशमै
सत्ता समीकरणमा बदलाब आए पनि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा भने यतिबेला विदेश भ्रमणमा व्यस्त छन् ।

नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायसमेत रहेको भ्रमणमा लामासँगै प्रदेशमा खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामा पनि अर्थमन्त्री लामासँगै गएका हुन् । पार्टीले आयोजना गरेको विभिन्न कार्यक्रमहरुमा सहभागी हुन भन्दै सहमहामन्त्री उपाध्यायसँगै अर्थमन्त्री लामा १३ फागुनमा विदेश भ्रमणमा निस्किएको उद्योग, वाणिज्य, भुमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले जानकारी दिए ।

स्पेन, फ्रान्स, पोर्चुगललगायत अन्य ५ देशको भ्रमणमा गएका अर्थमन्त्री लामा एक दुई दिनभित्रै फर्किने तयारी भएको उद्योगमन्त्री चित्रकारले बताए । लामा फर्किए लगत्तै बागमतीमा कांग्रेसले छलफल गरेर निर्णय लिने मन्त्री चित्रकारको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*