सिस्नुको झोलदेखि गुन्द्रुकसम्म पाउने राक्सिराङमा हाटबजार
हेटौंडा– राक्सिराङ गाउँपालिकाको प्रमुख प्रशासनिक भवन रहेको वडा नं ५ चैनपुरस्थित मनहरी खोलाकिनारमा पाक्षिक हाटबजार सुरु भएको छ । २०८० सालकोको पहिलो हाटबजार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले उद्घाटन गरेका छन् ।
राक्सिराङ गाउँपालिकाले स्थानीय कृषिउपजको प्रवद्र्धन, बिक्री, बितरण र गाउँसमाजका किसान, व्यापारी र सरोकारवालाको भेटघाट र छलफल सहजै होस् भन्ने हेतुले पाक्षिकरुपमा हाटबजार सुरु गरेको जनाएको छ । हाटबजार हरेक महिनाको १ गते र १५ गते सञ्चालन हुनेछ ।
हाटबजारको व्यवस्थापनका लागि कोपिला गोलेको संयोजकत्वमा हाटबजार व्यवस्थापन समिति समेत गठन गरिएको छ । हाटबजारका लागि निर्मित २० वटा स्टलहरु पहिलो दिनको हाटबजारमा पूर्णरुपमा भरिभराउ देखिन्थे ।
स्थानीय उत्पादनहरु गहत, मास, फापर, कोदा, आलु, पिँडालु, बेतबाँसका सामग्री, आरनमा बनाइएका फलामे औजारहरु, स्थानीय परिकार गिठ्ठा, भ्याकुर, पिँडालु, तरुल, सिस्नुको झोल रहेका होटलहरु, स्थानीय जातका खसी, बोका, लोकल कुखुरा, स्थानीयस्तरमा उत्पादित मौरीको महलगायतका दर्जनौ स्टलहरु हाटबजारमा रहेका थिए ।
पश्चिम मकवानपुरको मनहरी बजार हरेक महिनाका १ गते र १५ गते बन्द हुने हुँदा मनहरी बजारबाट जम्मा ६ किलोमिटर दूरीमा रहेको राक्सिराङका ग्राहक, उपभोक्ता र व्यापारीलाई समेत आकर्षण गर्ने लक्ष्य हाटबजारले लिएको छ ।
हाटबजार अघिल्लो बर्षभन्दा अझ सुदृढ र प्रभावकारी ढंगले चलाउन लागिएको प्रचारप्रसार उपसमितिका संयोजक एबम् सञ्चारकर्मी ज्ञानेन्द्र तामाङले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको हाटबजारको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख घलान प्रमुख अतिथि थिए । गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले स्वागत गरेका थिए । कार्यक्रममा ३ नं वडाध्यक्ष उत्तम वाइबा, ७ नं वडाध्यक्ष रामबहादुर प्रजा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष सागर प्रजा, नेपाली काँग्रेसका सभापति बीरेन्द्र जिम्बालगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा २ नं वडाध्यक्ष बुद्धराम मुक्तान, नेपाल चेपाङ संघ बागमती प्रदेशका अध्यक्ष खुसीलाल प्रजासहित विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, नेपालकै पहिलो चेपाङगायक रविनकुमार चेपाङ, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।
कार्यक्रममा स्थानीय कलाकारसहित गन्धर्व उत्थान समाजका गायकले सारंगीमा गीत गायन, खैँजडी भजन समूहको टोलीद्वारा खैँजडी भजन, जलपरी सांस्कृतिक समाजका कलाकारद्वारा नृत्य प्रस्तुत भएको थियो ।