संविधान राम्रो बनाए तर, काम राम्रो गरेनन्ः डा.भण्डारी

संवाददाता
पुस १७, २०८०

हेटौंडा– प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले यो देशको नेतृत्वले संविधान राम्रो बनाएको भएपनि काम भने राम्रोसँग गर्न नसकेकाले युवावर्गमा निराशा पैदा भएको बताएका छन् ।

डा. भण्डारीले युवा देशको भविष्य भएको र युवाले मुलुक बनाउन सक्ने बताएका हुन् ।वीपी विचार समाज मकवानपुरको आयोजना तथा नेपाली कांग्रेस मकवानपुरको संयोजनमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आइतबार हेटौंडामा सम्बोधन गर्दै डा. भण्डारीले वी.पी सत्य र निष्ठाका नेता भएको बताउँदै वीपीसँग राष्ट्र बनाउने सपना रहेको बताए ।

सांसद भण्डारीले नेपाललाई आईटी र स्वास्थ्यको हब बनाएर समृद्ध बनाउनुपर्ने बताएका छन् । छिमेकी देशलाई आकर्षित गर्दै यसतर्फ लाग्नुपर्नेमा उनको जोड थियो । डा. भण्डारीले पोखरा र भैरहवा विमानस्थलको ऋण तिर्न नसक्ने अवस्था आएको भन्दै विकासको काम गर्दा देशको भुगोल अनुसार गर्नुपर्ने बताए ।

विदेशमा रहेका नेपाली युवाको रेमिट्यान्सलाई सदुपयोग गर्ने हो भने विश्व बैंक जस्ता दाता निकायबाट विकासका लागि ऋण लिनु नपर्ने बताएका छन् । डा. भण्डारीले विश्वेश्वरप्रसाद कोइराला आफ्नो दृष्टिकोणबाट कहिले पनि बिचलित नभएको नेताको रुपमारहेको बताए ।

वीपीको विचारलाई अनुशरण गर्न नजान्दा नेपालकोराजनीतिले इमोसन दिन नसकेको बताउदै अब पुरानो ढर्राकोराजनीतिक नेतृत्वबाट देश अघि नबढ्ने दाबी डा. भण्डारीको थियो । पद र प्रतिष्ठाका लागि मात्र नेताहरुले लुछाचुडी गरेको अवस्था देखिएको देशको गति अघि बढाउन युवालाई आशा जगाउने काम गर्नुपर्नेमा जोड दिदै डा. भण्डारीले युवालाई देश फर्कने वातावरण बनाउनसके मात्र वीपीको राष्ट्र बनाउने सपना पुरा हुने बताए ।

अहिले राजनीतिक दलका नेताहरुले राजनीतिको लागि मात्र राजनीति गरेको भन्दै समाजले चाहेको कुरामा राजनीतिक दृष्ट्रिकोण जानुपर्ने डा. भण्डारीको जोड थियो । पाईलैपिच्छे नेतालाई गलत गर्ने छुट नभएको भन्दै उनले लोकतान्त्रिक व्यवस्थाले भित्रिएको प्रविधिको सदुपयोग गर्न नसकेको अभिव्यक्ति दिए । युवाले परिवर्तन मागे पनि अहिलेको नेतृत्वले कार्यशैली परिवर्तन गर्न नसकेको बताउँदै उनले आधुनिक प्रविधिको शिक्षा जरुरी रहेको बताए ।

अहिले युवाले घुम्ती होईन सुरुङमार्ग खोजेको बताउँदै नेताहरुले आफू धनी भएर देशलाई गरिब बनाएको आरोप लगाए । भाषणले मात्र देश नचल्ने बताउँदै डा. भण्डारीले प्राकृतिक स्रोतसाधनलाई अधिकतम प्रयोग गरी मुलुकमा देखापरेको समस्यालाई पार लगाउनुपर्नेमा जोड दिए ।

युवाले परिवर्तन माग्दा राजनीतिक दलले दिन नसक्नुको कारण नेताहरु अपडेट हुन नसकेको उनले आरोप लगाए । हामीले जनतालाई के दियौं ? युवाले खोजिरहेका छन् त्यतातिर देश हाक्नेको ध्यान नगएको भन्दै भौतिक विकास र मानवीय विकासको निमय बुझ्न नसक्नु नेताको कमजोरी रहेको बताए ।

हरेक पार्टीभित्र देखापरेको गुटले न पार्टी बलियो भयो न सम्बन्ध बढ्यो भन्दै डा। भण्डारीले गुटगत राजनीति अन्त्य हुनुपर्नेमा जोड दिए । नेताहरुले युवालाई देश फर्कने प्रतिवद्धता व्यक्त गर्न नसक्दा दिनहुँ विदेशिने युवाको लर्को लाग्नु स्वाभाविक भएको उनले बताए ।

विश्वमै राम्रो र समावेशी संविधान नेपालको रहेको बताउँदै यति राम्रो संविधान बनाउने नेतृत्वले कामचाहिँ किन राम्रो गर्न सकेनन् ? डा.भण्डारीको प्रश्न थियो । कमिशन र घुसखेरीले देश बिग्रको भन्दै निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, नेकपा (एस) का केन्द्रीय सदस्य मुनु सिग्देल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, वीपी विचार समाजका केन्द्रीय अध्यक्ष लोकेश ढकाललगायतले आफ्ना विचार राखेका थिए ।

वीपी विचार समाज मकवानपुरका अध्यक्ष विनोदचन्द्र ढकालको सभाध्यक्षतामा भएको गोष्ठीमा नेपाली कांग्रेस मकवानपुरका महासमिति सदस्य उमा दाहाल, पूर्वसभापति माइकल रामचन्द्र अर्याल, कार्यबाहक सभापति धर्मराज लामिछाने, नेकपा (एस) मकवानपुर अध्यक्ष विष्णु दाहाललगायत नेताको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*