फापरबारी–बेथानचोक सडक वैकल्पिक राजमार्ग बनाइने

संवाददाता
पुस ९, २०८०

हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडा कायम भएपछि हेटौंडासँगको सडक सम्पर्कको बिकल्पहरु खोजी भइरहेको छ । मकवानपुरसँग सीमा जोडिएका काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुली, धादिङ जोड्ने भरपर्दो बिकल्पको खोजी तीब्र रुपमा भइरहेको हो ।

सहरी विकासमन्त्री सीता गुरुङले हेटौंडा जोड्ने बेथानचोक–च्याम्राङबेंसी–फापरबारी सडकलाई वैकल्पिक सहायक राजमार्ग बनाउने घोषणा गरेकी छन् । यो राजमार्ग हेटौंडा–काठमाडौं जोड्ने मार्गको बिकल्पको रुपमा विकास गर्न लागिएको हो । मकवानपुरको फापरबारी सर्लाही, सिन्धुली, काभ्रे, ललितपुरको संगम पनि हो । धरान–चतरा सडक आयोजनाले बागमतीमा पक्की पुल निर्माण गरेपछि फापरबारीसँग सीमाना जोडिएका जिल्लासँग सडक पूर्वाधार जोड्ने कार्यलाई प्राथमिकतामा खाख्न थालिएको हो ।

बेथानचोक गाउँपालिका–२ पाट्नेखोलामा मोटरेबल पुल शिलान्यास गर्दै मन्त्री गुरुडले पनौती–खोपासी–ढुङखर्क हुँदै च्याम्राङबेंसी–फापरबारीसम्म पुग्ने सडकलाई हेटौंडाको वैकल्पिक सहायक राजमार्ग बनाउने प्रतिबद्धता व्यक्त गरेकी हुन् । बागमती प्रदेसभा सदस्यहरुलाई प्रदेश राजधानी सहर हेटौंडा आउनका लागि छिटो र भरपर्दो सडक निर्माण कार्य सरकारको उच्चप्राथमिकतामा परेको छ । मन्त्री गुरुङले गाउँपालिकाको वडा नं २ स्थित नयाँबस्ती–दुलुङखोला सडक स्तरोन्नति कार्यको पनि सुरुआत गरेकी छन् ।

मन्त्री गरुङले स्थानीय तह, प्रदेश र संघ सरकारका प्रतिनिधिको सहकार्य र समन्वयमा यो मार्गलाई प्रदेशको वैकल्पिक सहायक राजमार्ग बनाउन तत्काल निर्णय गरी कार्य अघि बढाइने आश्वासन दिएकी छन् । वर्षातको समयमा हेटौंडा–भीमफेदी–कुलेखानी सडक र कान्तिराजपथ अबरुद्ध हुँदाको अवस्थामा बिकल्पको रुपमा फापरबारी–बेथानचोक सडक प्रयोगमा ल्याउन सकिन्छ । मकवानपुरको सीमाना जोडिएका जिल्लामा सडक सञ्जालको बिस्तार कार्यले प्राथमिकता पाएपछि ग्रामीण क्षेत्रका बासिन्दाले पनि लाभ लिन सक्नेछन् ।

बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादेले गाउँपालिकाहरुमा विकासका कार्य तीव्ररुपमा अघि बढेको भन्दै आफ्नो तर्फबाट सधैं सहयोगका लागि प्रतिबद्ध रहेको बताएका छन् । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले सडक स्तरोन्नति र पुल शीलान्यास कार्यले गाउँपालिकामा विकासका सम्भावनाहरु थपिएको बताए । अब नागरिकलाई थप सहज र सरलयात्राका लागि वैकल्पिक मार्ग महत्वपूर्ण हुने उनको विश्वास अध्यक्ष अधिकारीको थियो । काठमाडौं उपत्यका जोड्ने बैकल्पिक मार्गको स्तरोन्नति गर्ने कार्यलाई तीनै तहका सरकारले उच्चप्राथमिकतामा राखेका छन् ।

बेथानचोकको पट्नेखोलाको साँघुरो मुखमा बन्ने २० मिटर लामो पुलको ठेक्का खम्पाचे–गोल्मादेवी इञ्जिनियरिङ जेभीले लिएको छ । ४ करोड ५६ लाख ६४ हजार रुपैयाँ ९भ्याटसहित० को लागत रहेको गाउँपालिका अध्यक्ष अधिकारीले बताएका छन् । निर्धारित समयमा पुल निर्माण भएको खण्डमा आगामी वर्षदेखि नै यो सडकबाट फापरबारी र बेथानचोक जोडिने छ । एक वर्षको निर्माण अवधि तोकेर २०८० कात्तिक २३ गते पुल निर्माण गर्न निर्माण कम्पनीसँग सम्झौता भएको हो ।

नेपालको सडक सञ्जालमा निकै महत्वपूर्ण स्थानमा रहेको निजगढ–काठमाडौं फास्टट्रयाक निर्धारित समयमा सम्पन्न हुन नसक्ने भएपछि बैकल्पिक सडक स्तरीकरण गर्ने योजनाले प्राथमिकता पाएको छ । फास्टट्रयाक निर्माण सम्पन्न भएर संचालनमा आएपछिका दिनहरुमा पनि यो बैकल्पिक सडकको प्रयोगमा कमी नहुने स्थानीयले बताएका छन् । फास्टट्रयाकले राष्ट्रिय राजमार्गको सवारी चापमात्र धान्न सक्यो भने पनि ग्रामीण क्षेत्रका बासिन्दाका लागि यस्ता बैकल्पिक मार्गको उपयोगिता यथावत रहने स्थानीयको धारण रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*