खेलकुद तथा व्यापार महोत्सवमा थामिनसक्नु दर्शक, प्रमोदले नचाए
हेटौंडा– मकवानपुरको हेटौंडामा सञ्चालन भैरहेको खेलकुद तथा व्यापार महोत्सवमा सोमबार गायक प्रमोद खरेलले हेटौडेलीलाई नचाएका छन् । खरेलको सांगीतिक प्रस्तुति सुन्न हेटौडामा दर्शकहरुको भीड लागेको थियो ।
युवा पुस्ताले निकै रुचाएका गायक खरेलले महोत्सवको आफ्ना करिब एक दर्जन गीत गाएका थिए । महोत्सवका दर्शकहरुले नाच्दै र गाउँदै उनलाई साथ दिएका थिए । सोमबार खरेलसंगै गायिका सहिमा श्रेष्ठ, गायक असिमकुमार कटुवाल र जादुगर बलराम सरकारको प्रश्तुती रहेको थियो । महोत्सवमा मंगलबार लोक गायक पशुपति शर्मा, लोक गायिका ज्योति मगरसहित मनोज गोर्खाली, ध्रुव विस्को, केको सिङ लगायतको प्रश्तुती रहने आयोजकले जनाएको छ ।
प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहँदै आएको महोत्सवमा दैनिक दर्शकको उपस्थिति बढ्दै गएको आयोजकले जनाएको छ । पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा २६० वटा विभिन्न स्टल रहेको छ ।
महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका साथै बाल उद्यान लगायत राखिएको छ । महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सवबाट मकवानपुर जिल्ला खेलकुद विकास समितिले करिब २५ लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।