अख्तियार हेटौंडामा चार महिनाभित्रै ९ सय वटा उजुरी

संवाददाता
मंसिर २७, २०८०

हेटौंडा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न माध्यमबाट ९ सय ४ वटा उजुरी परेको छ ।

अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ सय ८० सहित एक हजार ७ सय ८४ उजुरी परेको हो । यो संख्या कार्तिक मसान्तसम्मको हो । अख्तियारको कार्यालय हेटौंडाले गत आवको १७८ र चालु आवको ३ सय १० सहित ४ सय ८८ उजुरी फछ्र्यौट गरेको छ भने एक हजार २ सय ९६ उजुरी फछ्र्यौट गर्न बाँकी रहेको सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए ।

अख्तियारको कार्यालय हेटौंडाका अनुसार राजस्व हिनामिनासम्बन्धी ६ सय ७५ उजुरी परेकोमा १ सय ५३ वटा उजुरी फछ्र्यौट भएको छ ।

अख्तियारको कार्यालय हेटौंडामा गत आवबाट सरेर आएको र यस आवको उजुरी सबैभन्दा धेरै बारा र कम रसुवा जिल्लाको परेको छ । तथ्याङक अनुसार बाराको ५ सय ८, रौतहटको ४ सय ८, पर्साको ३ सय ५८, मकवानपुरको ३ सय २०, चितवनको १ सय ४२ उजुरी परेको छ । यसैगरी, धादिङको १५, दोलखाको ९, नुवाकोटको ९, काभ्रेपलाञ्चोकको ९, सिन्धुपाल्चोकको ५, रामेछापको ४ र रसुवाको ३ वटा उजुरी रहेको अख्तियार कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

कुल उजुरीमध्ये गैरकानुनी लाभहानी सम्बन्धी ४ सय २४ उजुरी परेकोमा १ सय ९, सार्वजनिक खरिद निर्माण सम्बन्धी ३ सय ३२ उजुरी परेकोमा ७८, विविध २ सय २१ उजुरी परेकोमा ९६ उजुरी फछ्र्यौट भएको हो ।

त्यस्तै भूमि सम्बन्धी ९१ उजुरी परेकोमा २६, गैरकानुनी सम्पत्ति सम्बन्धी २० उजुरी परेकोमा १४, शैक्षिक प्रमाणपत्र सम्बन्धी १६ उजुरी परेकोमा ९, घुस/रिसवत सम्बन्धी ५ उजुरी परेकोमा ३ वटा उजुरी फछ्र्यौट भएको सूचना अधिकारी गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*