मेला, महोत्सवमार्फत् व्यापार र मनोरञ्जनमा झुम्दै मकवानपुर

संवाददाता
मंसिर २७, २०८०

हेटौंडा– आर्थिक मन्दीको चपेटामा रहेको ब्यापार ब्यवसायमा चहलपहल बढाउने र मनोरञ्जन गर्ने लहर चलेको छ । थाहानगरमा आयोजना भएको थाहा महोत्सव आज मंगलबारदेखि सकिएको छ ।

पुसको पहिलो साता बसपार्कमा वडा कार्यालयको मेला र खेलकुद विकास समितिको खेलकुद तथा ब्यापार मेला हुँदैछ । हुन त यतिबेला देशभर मेला महोत्सवको सिजन चलेको छ । मेला/महोत्सव भनेको उत्पादक र उपभोक्ताको सीधा सम्पर्क हुने माध्यम हो ।

तर, नेपाली समाजमा यसलाई सही रुपमा उपयोग गर्न सकिएको छैन । युरोपमा हरेक वर्ष यस्ता ब्यापार मेला आयोजना गरिन्छ जुन फरकफरक देशमा हुन्छ ।

स्यान्जेन मुलुकमा एक वर्ष मेला आयोजना गरेपछि तीन दसकपछि मात्र त्यो देशले महोत्सव आयोजना गर्ने पालो पाउँछ । महोत्सव ब्यवस्थापन गर्ने कम्पनीले आगामी वर्ष कुन देशमा हुने भन्ने घोषणा चालु वर्षमै गरेको हुन्छ । हाम्रो छिमेकी देश भारतमा पनि फरकफरक बिधाका महोत्सवहरु फरकफरक सहरमा आयोजना गर्ने गरिएको छ ।

उदाहरणका लागि भारतको कुनै सहरमामेशिनरीको मेला/महोत्सव भयो भने अर्को सहरमा अटोको महोत्सव आयोजना गरिन्छ । तर, हाम्रो समाजमा यस्तो अवस्था छैन । धेरै मेला/महोत्सवहरु नक्कलको रुपमा दोहोरिन्छन् ।

बिगतका दिनमा मेला/महोत्सवको महत्व धेरै थियो तर, आजभोलिका मेला/महोत्सवको आकर्षण कम हुँदै गएको छ । दर्शक वा उपभोक्ताले मेला/महोत्सवलाई सामान्य रुपमा लिन थालेका छन् ।

स्थानीय घरेलु उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्य सहित हेटौंडा–१० बसपार्कमा पुसको २ र ३ गते मेला सञ्चालन हुने भएको छ । हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालयको आयोजनामा हुने घरेलु उत्पादन तथा नृत्य प्रतियोगिता सञ्चालन हुने भएको हो ।

मंगलबार वडा कार्यालयले पत्रकार सम्मेलन गरी उपमहानगर क्षेत्रका १९ वटै वडामा भएको उत्पादनलाई नगरवासी माझ जानकारी गराउँदै प्रवद्र्धन गर्ने उद्देश्यअनुसार मेला सञ्चालन गर्न लागिएको जनाएको छ ।

स्थानीय उत्पालनलाई प्रवद्र्धन गर्ने, उत्पादित बस्तुको बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पु¥याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको पत्रकार सम्मेलनमा वडाअध्यक्ष फुर्वादोर्जे लामाले जानकारी दिए ।

उनका अनुसार प्रदर्शनीमा स्थानीय जातजातिका भेषभूषा झल्कने नृत्य प्रस्तुत गर्दै संस्कृति संरक्षणमा सहयोग पु-याउने लक्ष्य रहेको छ । दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा उपमहानगरका १९ वटा वडाको उत्पादन झल्काउका लागि ३० वटा स्टल सहित यस क्षेत्रका कलाकारको नृत्य प्रस्तुत हुने बताइएको छ ।

प्रदर्शनीको पहिलो दिन उद्घाटन सहित स्थानीय उत्पादनको बजारीकरण र दोश्रो दिन सास्कृतिक कला सहितको नृत्य प्रतियोगिता गरिने वडाअध्यक्ष लामाले जानकारी दिए । प्रदर्शनीमा निःशुल्क स्टल र नृत्य प्रतियोगितामा सहभागिता खुल्ला गरिएको छ ।

नृत्य प्रतियोगिता सहभागी हुनेलाई वडा कार्यालयले पुरस्कारको व्यवस्था गरेको छ । प्रतियोगितामा सहभागीमध्य पहिलो हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ३५ हजार तृतीय हुनेलाई ३० हजार र सान्त्वना पुरस्कारस्वरुप ४ जनालाई ५/५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रदर्शनी मेला तथा सास्कृतिक कार्यक्रमलाई सफल बनाउनका लागि वडा कार्यालयले ६ वटा उपसमिति बनाएको छ । वडा कार्यालयले चालु आर्थिक बर्ष २०८०/८१ मा छुट्याएको ५ लाख रुपैयाँबाट कार्यक्रम गर्न लागिएको जानकारी दिइएको छ ।

वडा कार्यालयको आयोजनामा हुने प्रदर्शनी मेलामा टोलविकास संस्था नगरसमन्वय समिति, टोलविकास संस्था वडासमन्वय समिति, मकवानपुर उद्योग वाणिज्य संघ, जाल्पादेवी महिला उद्यमी समूह, स्थानीय क्लव, टोल विकास सस्था, आमा समूह र विद्यालयहरुसँग सहकार्य रहने बताइएको छ ।

खेलकुद महोत्सवप्रति खेलका संघ उत्साहीजिल्लाको खेलकुद क्षेत्रको विकासका लागि यही पुष ५ गतेबाट आयोजना हुन लागेको बृहत् खेलकुद तथा व्यापार महोत्सवप्रति मकवानपुरका खेलकुद संघका पदाधिकारी एवम् खेलाडीहरु उत्साही बनेका छन् ।

तर, मकवानपुर उद्योग वाणिज्य संघमा आबद्ध बस्तुगत संघहरुले भने खेलकुद महोत्सवमा खेलसम्बन्धी बिधा मात्र समाबेश गर्न र ब्यापारिक कारोबार नगर्न दबाब दिएका छन् । खेलकुद विकास समितिले आफ्नो क्षेत्राधिकारको काम मात्र गर्न बस्तुगत संघहरुले दबाब दिएका हुन् ।

खेलकुद विकास समितिमा आबद्ध विभिन्न संघका पदाधिकारी तथा खेलाडीले मंगलबार महोत्सव आयोजना स्थल टिसिएन चौरको सरसफाई गरेका छन् । खेलकुद र खेलाडीको हितको लागि आयोजना गर्न लागिएको महोत्सव सफल बनाउन सबै एकजुट रहेको उनीहरुको भनाई रहेको छ ।

उनीहरुले चौरको झाडी तथा फोहोर सरसफाई गरेका हुन् । नितान्त खेल क्षेत्रको विकासका लागि आयोजना हुन लागेको महोत्सवका लागि सबै खेलकर्मी र जिल्लाबासीले सहयोग गर्नु जरुरी रहेको धारणा आयोजकको छ ।

एकातिर बिरोधको स्वर गुञ्जायमान हुँदै जाने आयोजकले तयारी गर्दै जाने अवस्था आयो भने महोत्सवको उद्देश्य पुरा नहुन पनि सक्छ । यो बिषयमा आयोजकले बेलैमा ध्यान पु¥याउनु जरुरी छ ।

मउवासंघ अन्तर्गतका बस्तुगत संघका प्रतिनिधिसँग छलफल गरी सबैले सहयोग गर्ने वातावरण सृजना गर्नु जरुरी छ । खेलकुद महोत्सव हो भनिरहँदा यसले गर्ने गतिबिधिको पारदर्शीता पनि दर्शक वा उपभोक्ताले खोजी गर्छन् भन्ने कुरा आयोजकले हेक्का पु-याउनु पर्छ ।

मकवानपुरको खेलकुदको विकासमा लागि केही रकम जोहो गरौं भन्ने पवित्र उद्देश्यले महोत्सव गर्न लागेका आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विभिन्न विधामा खेलकुद प्रतियोगिता हुने बताइएको छ ।

महोत्सवमा महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीतर्फ महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

यस्तै कराँतेको जिल्ला स्तरीय प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्लास्तरीय, आर्चरीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने आयोजकको तयारी छ ।

ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ‘ए’ साइड फुटबल प्रतियोगिता गर्ने आयोजकले जानकारी दिएको छ ।

सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलकुद महोत्सवबाट कम्तिमा २५ लाख रुपैयाँ खेलकुद विकास समितिले बचत गर्ने लक्ष्य राखेको छ ।

महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने योजना रहेको बताइएको छ ।

महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामूलक, खानाखाजाका स्टल समेत रहनेछ । यस्तै बालउद्यान,राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी आयोजना हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*