हेटौंडाको रातोमाटेमा रेलवे स्टेशन बन्ने, डिजाइन कार्य अन्तिम चरणमा

संवाददाता
मंसिर २६, २०८०

हेटौंडा– नेपालको रेल बिभागले निजगढ–हेटौंडा–भरतपुर खण्डको बिस्तृत डिजाईन कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाल सरकारले २०६७ सालमा रेलवे बिभागको स्थापना गरेपछि धिमा गतिमै भएपनि काम गरिरहेको छ ।

मेची–महाकाली द्रुत विद्युतीय रेलमार्गको काम बिभिन्न खण्डमा बिभाजन गरेर यसको बिस्तृत डिजाइनको काम भइरहेको बिभागले जनाएको छ । निजगढ–हेटौंडा–भरतपुर खण्डमा यात्रु स्टेशन ५ वटा रहेन प्रारम्भिक अध्ययनमा देखिएको छ ।

सिग्नल स्टेशन ९ वटा रहने रेलमार्गको केन्द्रबिन्दुबाट २५–३० मिटर दायाँबायाँ राइट अफ वे रहने बताइएको छ । यात्रु स्टेशनका लागि एकसय ६० मिटर चौडाई र एक सय ७० मिटर लम्बाई भएको जमिनको आवश्यकता पर्ने बताइएको छ ।

अधिकतम् गति एक सय ८० किलोमिटर प्रतिघण्टाको रहनेगरी रेलमार्ग निर्माण गरिने प्रारम्भिक अध्ययनमा देखिएको छ । हाल ब्रोडगेजको सिंगल लाइन निर्माण गरिने तर, आवश्यकताका आधारमा भबिश्यमा डबल लाइन निर्माण गरिने गरी अध्ययन भइरहेको फुलब्राईट कन्सलटेन्सी प्रालिले जनाएको छ ।

प्रालिका प्राबिधिकका अनुसार वातावरणीय प्रभाव मूल्यांकनको प्रतिबेदन तयारीका लागि कुनै गुनासो भए सोको जानकारी दिनका लागि सूचना पनि गरिएको छ ।

बाराको निजगढ नगरपालिकाको वडा नं ३, ४, ५, १०, ११, १३ र जीतपुर सिमरा उपमहानगरपालिकाको २२ नं वडामा निर्माण गरिने रेलवे लाइनका लागि स्थानीय सरोकारवालाबीच छलफल भइरहेको कन्सल्टेन्सीले जानकारी दिएको छ । हेटौंडा उपमहानगरको वडा नं। ८, ९, १२, १३, १४, १५, १६, मनहरी गाउँपालिकाको वडा नं।३, ५, ६, ८, ९ मा रेलवे लाइन निर्माण हुनेछ ।

त्यस्तै चितवनको राप्ती नगरपालिकाको वडा नं। १, २, ३, ६, खैरहनी नगरपालिकाको वडा नं। ५, ७, १०, रत्ननगर नगरपालिकाको वार्ड नं। ४, ५, ९ र भरतपुर महानगरको वार्ड नं। ४, ५, ७, ८, १६ मा रेलवे निर्माण गेर्न प्रस्ताव गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टिकौली जंगलको ४ किमि क्षेत्रमा कसर अगाडि बढ्ने भन्ने बिषयमा पनि छलफल भइरहेको बताइएको छ ।

हेटौंडा–१६ र जीतपुर सिमरा उपमहानगरको २२ नं। वडाको बीचमा पर्ने चुरे पहाडमा करिव ७ किमि सुरुङमार्ग निर्माण गरी रेलवे लाइनले बारा र मकवानपुर जोड्ने गरी अध्ययन अगाडि बढाइएको छ ।

नेपाल सरकारको प्रचलित नियम कानून अनुसार रेलवे आयोजनाले स्थानीयमा पर्नसक्ने सामाजिक, सांस्कृतिक, वातावरणीय प्रभावका बारेमा पनि अध्ययन गरी प्रतिबेदन तयारी गर्ने कार्य भइरहेको कन्सल्टेन्सीले जनाएको छ ।

यसका लागि हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा सरोकारवालाबीचमा सार्वजनिक सुनुवाई पनि आयोजना गरिने छ । स्थानीयले सार्वजनिक सुनुवाइका क्रममा आफ्नो समस्या वा गुनासोहरु निर्धक्कसँग राख्न सक्ने बताइएको छ ।

रेलवे सर्भेको बिषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईको संयोजकत्वमा आइतबार छलफल भएको थियो । उपमहानगरको अरु वडामा कुनै समस्या नभएपनि हेटौंडा–१५ र १६ मा समस्या देखिएको बताइएको छ ।

हेटौंडा–१५ का वडाअध्यक्ष सुनिल मोक्तान विदेशमा रहेकोले वडाअध्यक्ष मोक्तान नेपाल फर्किएपछि पुसको पहिलो हप्ता छलफल गर्ने सहमति भएको छ ।

रेलवे परियोजनाका लागि निजगढ–हेटौंडा–भरतपुर खण्डमा निजी जग्गा करिब ४ सय हेक्टर अधिग्रहण गर्नुपर्ने देखिएको छ । सरकारी जमिन वा जंगल क्षेत्र करिब ७ सय हेक्टर र खोला, खहरे, नदीबगर आदि ४० हेक्टर जग्गा आवश्यक देखिएको प्राबिधिकहरुले बताएका छन् ।

रेलवे परियोजनाका लागि अध्ययन गर्ने फुलब्राईट कम्पनीले नै हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सुरु·मार्ग निर्माण गर्ने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको परियोजना प्रस्तावको प्रारम्भिक अध्ययन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*