खेलकुद महोत्सवका लागि खड्कीको संयोजकत्वमा समिति
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजना हुन लागेको बृहत् खेलकुद तथा व्यापार महोत्सवका लागि मूल आयोजक समिति गठन भएको छ ।
खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा १०१ सदस्यीय महोत्सव मूल आयोजक समिति गठन भएको हो । खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाको संयोजकत्वमा विभिन्न खेल संघका पदाधिकारी रहने गरी खेलकुद संयोजक निर्माण गरिएको छ ।
यस्तै सम्पूर्ण पूर्व अध्यक्षहरु सल्लाहकार समिति निर्माण भएको छ । महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विभिन्न खेलकुद प्रतियोगिता हुनेछ । महोत्सवमा महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीको महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता हुनेछ ।
यस्तै कराँतेको जिल्लास्तरी प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्ला स्तरीय, आर्चारीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन हुनेछ । ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ए साइड फुटबल प्रतियोगिता गर्ने आयोजकले जानकारी दिएको छ ।
सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलकुद महोत्सवबाट कम्तिमा २५ लाख रुपैयाँ खेलकुद विकास समितिले बचत गर्ने लक्ष्य रहेको अध्यक्ष खड्कीले बताए ।
‘मकवानपुर खेल क्षेत्रको उर्वरभूमी हो । आर्थिक अभावकै कारण धेरै खेलाडीले बीचमै खेल छोड्नुपरेको छ । आर्थिक अभावमा उपचार हुन नसकेको अवस्था छ’, अध्यक्ष खड्कीले भने, ‘यो सबै समस्याको समाधानका लागि आर्थिक जोहो गर्ने उद्देश्यले खेलकुद तथा व्यापार महोत्सवको आयोजना गर्न लागेका हौं । हाम्रो उद्देश्य पवित्र छ, तसर्थ सबै संघसंस्था र आम जिल्लाबासीबाट सहयोग प्राप्त हुनेमा विश्वस्त छौं ।’
महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने अध्यक्ष खड्कीले प्रष्ट्याए । महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलक, खानाखाजाका स्टल समेत रहनेछ ।
यस्तै बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत आयोजना हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा मकवानपुरमा क्रियाशिल खेलकुदसँग सम्बन्धित सबै संघसंस्थाको प्रतिनिधित्व रहने बताइएको छ ।