‘मिल्क होलिडे’को मारमा किसान, ३० करोड बढी भुक्तानी गर्न बाँकी
हेटौंडा– हेटौंडा दुग्ध वितरण आयोजना लगायत निजी क्षेत्रका डेरी उद्योगले साताको दुईदिन अघोषित रुपमा किसानको दूध खरिद नगर्दा मकवानपुरका किसान यतिबेला ‘मिल्क होलिडे’ को मारमा परेका छन् ।
साताको दुईदिन ‘मिल्क होलिडे’ भएपछि दुग्ध उत्पादक कृषकहरु समस्यामा परेका हुन् । दूध बिक्री नभएपछि मकवानपुरगढी गाउँपालिकाका कृषकले उत्पादन गरेको दूध पुन गाई, भैंसीलाई खुवाउने र बाँकी रहेको फाल्नु पर्ने बाध्यता सिर्जना भएको छ । डेरी उद्योगले साताको दुईदिन दूध खरिद नगर्नुका साथै दूधको रकम पनि भुक्तानी दिएका छैनन् ।
डेरी उद्योगले भारतीय बजारबाट सस्तोमा दूध आयात पनि गरिरहेका छन् । खुला सीमानाका कारण भारतीय बजारको दूध नेपालका डेरी उद्योगमा सहजै आइपुग्ने गरेको छ ।
मकवानपुरमा रहेका निजी र सरकारी स्वामित्वको संस्थानले कार्तिक मसान्तसम्म कृषकलाई ३० करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड मकवानपुरका व्यवस्थापक कुमामणि दाहालले जानकारी दिएका छन् ।
‘दुग्ध विकास संस्थान हेटौंडा दुग्ध वितरण आयोजनालाई हामीले दैनिक ७ हजार लिटर दुध दिन्छौं । संस्थानले पनि लामो समयदेखि हामीसँग बटर स्टक छ, पाउडर स्टक छ र यो विक्री नगरेसम्म हामीले भुक्तानी गर्न सकेनौं भनिरहेका छन्,’ व्यवस्थापक दाहालले भने, ‘मकवानपुरमै एउटा खुशीको कुरा थियो ‘डक चिट’ भनेर अमेरिका निर्यात हुने बाहिरी मुलुकमा जाने पदार्थ उत्पादन हुन्थ्यो त्यहाँ पनि स्टक त्यसैगरी बस्यो । त्यसरी नै सबै उद्योगमा स्टक बसेपछि भुक्तानी बाँकी रहन पुग्यो ।’
ब्यवस्थापक दाहालले मकवानपुरका १३ वटा उद्योगलाई दूध विक्री गर्दा २० हजार लिटर पनि खपत नहुने गरेको बताए । जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दैनिक दुध संकलन गर्दा ४० देखि ५० हजार लिटर दुध दिनमा संकलन हुने गरेको र एकदिन बन्द एक दिन खुल्ला गर्ने बित्तिकै ६० हजार पुग्ने गरेको व्यवस्थापक दाहालले बताए । उनले विगतमा किसानहरु ‘मिल्क होलिडे’ को मारमा परेपनि यसपटक भने रकम सहितको मारमा परेको बताए ।
मकवानपुरगढी गाउँपालिकामा भैंसी फर्म चलाउँदै आएका किसान सन्दीप सापकोटाले ‘मिल्क होलिडे’ का कारण समस्या परेको बताए । उनले उद्योगले मिल्क होलिडे गर्नुका साथै भुक्तानी नगर्दा झन् धेरै समस्या भएको बताए । साताको दुई दिन मिल्क होलिडे हुँदा महिनामा ३ करोड रुपैयाँको दूध खेर जाने गरेको उनको भनाई छ ।
तर, हेटौंडा दुग्ध वितरण आयोजना लगायत निजी क्षेत्रका उद्योगले नियमितरुपमा दूध संकलन गर्न छोडेर सातामा पाँच दिनमात्र दूध संकलन गर्नु भनेर जिल्ला दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडमार्फत मनकामना दुग्ध सहकारीलाई सूचना गरेकाले कृषकहरु समस्यामा परेका हुन् ।
सहकारीले साताको दुईदिन दूध संकलन नगर्दा दैनिकरुपमा दुईसय लिटरसम्म दूध बिक्री गर्दै आएका किसान थप समस्यामा परेको सहकारीका व्यवस्थापक शशी लम्सालले बताए । जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाले ६१ वटा दुग्ध सहकारीमार्फत दैनिक ५० हजार लिटर दूध खरिद गरेर बिक्री गर्दै आएको छ ।
तीमध्ये अहिले १५ हजार लिटर दूध हेटौंडामा खपत भइरहेको छ भने २० हजार लिटर दूध ललितपुर, भक्तपुर र काभ्रेमा पठाउने गरिएको छ । संकलन गरिएका दैनिक १५ हजार लिटर दूध खपत हुन सकेको छैन । जसका कारण संस्थाले साताको पाँच दिनमात्र दूध संकलन गर्ने गरेको छ ।