ठेकेदारलाई सडक निर्माण समयमै सक्न सांसद बर्तौलाको निर्देशन

संवाददाता
२०८० मंसिर २१, बिहीबार २२:०५

हेटौंडा– मकवानपुर क्षेत्र नम्बर २ का सांसद तथा एमाले सचेतक महेशकुमार बर्तौलाले हेटौंडा–काठमाडौं छोटो सडकमार्ग छिटो सक्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

बुधवार संसदीय दलको कार्यालयमै ठेकेदारलाई बोलाएर सांसद बर्तौलाले सडक निर्माणको काम छिटो तथा समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् । बर्तौलाले हेटौंडा–काठमाडौं छोटो मार्ग अन्तर्गतको हेटौंडा–कुलेखानी–चखेल–काठमाडौं सडक निर्माणको जिम्मा पाएका व्यवसायीलाई सिंहदरबार बोलाएर निर्देशन दिएका हुन् ।

बर्तौलाले सडक निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहरु मारमा पर्ने गरेको, दुर्घटनाको जोखिम बढेको र धुलो र हिलोको कारण स्थानीयको स्वास्थ्यमा समेत समस्या देखिन थालेको भन्दै कामलाई समयमा सक्न दिर्नेशन दिएका हुन् ।

बर्तौलाले निर्माण व्यवसायी शिव चौलागाईंलाई काठमाडौं बोलाएर निर्देशन दिएका हुन् । निर्माण व्यवसायीले प्राप्त गरेको ठेक्का समयमा सक्नुपर्ने दायित्व बहन गर्नुपर्ने भन्दै बर्तौलाले राज्यबाट प्राप्त ठेक्काका कामलाई ब्यवसायीले तिब्र गतिमा गर्नुपर्ने बताए ।

हेटौंडाबाट सबैभन्दा छोटो सडक मार्गको रुपमा रहेको चखेल सडकखण्डको काम सुस्त भएको भन्दै स्थानीयवासीले गुनासो गरेको र सडकको अवस्थाबारे समाचार प्रकाशित भएपछि सांसद बर्तौलाले चौलागाईंलाई बोलाएर निर्देशन दिएका हुन् ।

सांसद बर्तौलाको निर्देशन पछि व्यवसायी चौलागाईंले आफूहरु तालिका बनाएर कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्न लागिपर्ने बताए । हेटौंडाबाट काठमाडौं पुग्ने हेटौंडा–भीमफेदी–फाखेल–काठमाडौं, सिस्नेरी, चखेल तथा चित्लाङ सडकखण्डको अवस्था जर्जर बन्दा दैनिक हजारौं यात्रुले सास्ती बेहर्नुपरेको सन्र्दभमा बर्तौलाले अब नियमित सबै सडक निर्माणको जिम्मा पाएका निर्माण ब्यवसायीलाई बोलाएर छिटो काम सम्पन्न गर्न निर्देशन दिने बताएका छन् ।

यसैगरी, हेटौंडालाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुंगल सडक एक महिनाका लागि बन्द हुने भएको छ । मकवानपुर र काठमाडौँको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेकाले बिहीबारबाट एक महिनाका लागि सवारी आवागमन बन्द गर्न लागिएको हो ।

ईन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दूतराज तितुङले सडक खण्डको दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेको निर्धारित समयभित्र सडक निर्माण कार्य पूरा गर्न सवारी आवागमन बन्द गरिएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*