मनहरीका चेपाङ समुदायले मागे रोजगारी

संवाददाता
मंसिर २१, २०८०

हेटौंडा– मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा रहेका चेपाङ समुदायले स्वास्थ्य र शिक्षामा प्राथमिकता दिन गाउँपालिकालाई आग्रह गरेका छन् ।

गाउँपालिका र चेपाङ समुदायका अग्रज व्यक्तित्वबीच बुधबार मनहरीमा भएको अन्तरक्रियामा सरोकारवालाले यस्तो सवाल उठाएका हुन् । चेपाङ समुदायका अगुवाले विकास निर्माणका कार्यमा यो समुदायलाई समेट्नु पर्ने माग गरेका छन् ।

चेपाङलाई रोजगारीको व्यवस्था गरी आत्मनिर्भर बनाउन पनि उनीहरुले अनुरोध गरे । कार्यक्रममा बागमती प्रदेशका पूर्वराज्यमन्त्री सन्तबहादुर चेपाङले आफ्नो कार्यकालमा चेपाङ जातिका लागि उल्लेखनीय कार्य गरेको दावी गरे ।

हालसम्म १ अर्ब ६० करोड लगानी गरी चेपाङ समुदायको लागि स्तरोन्नतीका कार्यक्रम ल्याइएको उनले दाबी गरे । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले चेपाङ समुदाय लक्षित बजेट निर्माणका लागि सबैको सल्लाहअनुसार अघि बढ्ने बताए । सीमान्तकृत चेपाङ समुदायको निशुल्क शिक्षा र स्वास्थ्यका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउँदै आवश्यकता अनुसार वडा कार्यालयको सीफारीस अनुसार सेवा लिन आग्रह गरे ।

कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगर, ४ नं वडाअध्यक्ष प्रकाश थापा, १ नं वडाअध्यक्ष शिव खनाल र ३ नं वडाअध्यक्ष अनन्तप्रकाश अर्याल, सामाजिक विकास शाखाप्रमुख ज्ञानेन्द्र ढकाल र ४५ जना चेपाङ समुदायका अग्रजको उपस्थिति रहेको थियो । आदीवासी जनजाति समूह मकवानपुरको सहजीकरण र गाउँपालिकाको आयोजनामा अन्तरक्रिया भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*