हेटौंडा कप बुद्धिचालको उपाधि भारतीय खेलाडी कुण्डुले जिते

संवाददाता
मंसिर १८, २०८०

हेटौंडा– एसियन खुल्ला रेटिङ हेटौंडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका छन् ।

कुण्डुले ९ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित ७ दशमलव ५ अंक बनाएर उपाधि हात पारेका हुन् । उनले नगद एकलाख २५ हजार पुरस्कार पाए । कुण्डुले अन्तिम खेल बराबर गर्दा उपाधि आफ्नो नाममा रहने भएपनि बंगलादेशका एफएम सरिफ होसेनमाथि जित हात पार्दै एकल बिजेता बनेका हुन् ।

नेपाल बुद्धिचाल महासंघको तत्वावधान तथा नेपाल खेलकुद महासंघ र जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा ७÷७ अंक जोड्दै दोश्रो स्थानमा बंगलादेशका आईएम मोहमद मिनहाज उद्दिनले नगद ७५ हजार र तेश्रो स्थान बनाएका भारतका एफएम अरबिन्दर प्रित सिं नगद ४० हजार जित्न सफल भए ।

बंगलादेशका सरिफ होसेन, भारतका अमरदीप बर्तके, बंगलादेशका आईएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ, एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमा सबैले ६ दशमलव ५ अंक प्राप्त गर्दै चौथौंदेखि दशौं स्थानमा समेटिन सफल बनेका छन् ।

यसैगरी, हेटौंडा चेस क्लबको व्यवस्थापन रहेको प्रतियोगितामा एफएम नयम हक एघारौं, नेपालका एआईएम शुश्रुत दहाल बाह्रौं, डेवोस्निक तेह्रौं, आशिष् राज चौधौं र भारतका आदित्य बर्टके पन्धौं स्थानमा रहे ।

मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको सभाध्यक्षतामा भएको पुरस्कार वितरण एवं समापन समारोहमा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत, प्याब्सन बागमती अध्यक्ष केशवलाल श्रेष्ठले विजयी खेलाडीहरुलाई नगद पुरस्कारराशीसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*