१०० दिनमा बागमतीका उद्योगमन्त्रीको २४ बुँदे प्रगति दाबी
हेटौंडा– ४ भदौ २०८० बाट बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री रामकृष्ण चित्रकारले आफ्नो सय दिन पूरा गरेका छन् ।
लामोसमय बिनाविभागीय मन्त्री रहेर उद्योग मन्त्रालयको कार्यभार सम्हालेको चित्रकारले बुधवार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन क्षेत्रमा गरेको काम र उपलब्धि सार्वजनिक गरेका हुन् । चित्रकार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रदेशको उद्योग प्रशासन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने ‘प्रदेश औद्योगिक व्यवसाय ऐन’ तथा ‘प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन’ को समयानुकूल संशोधन गर्न आवश्यक प्रक्रिया सुरु गरिएको बताए ।
उपभोक्ता हितसंरक्षण र बजार अनुगमन सम्बन्धमा साविकमा रहेको प्रदेशस्तरीय संयुक्त बजार अनुगमन निर्देशिका २०७५ लाई विस्थापन गरी ‘प्रदेशस्तरीय संयुक्त बजार व्यवस्थापन अनुगमन निर्देशिका, २०८०’ मन्त्रिपरिषदबाट स्वीकृतिको अन्तिम चरणमा रहेको मन्त्री चित्रकारले बताए ।
काठमाडौं उपत्यकालगायत सम्भाव्य स्थानमा हस्तकलाग्राम निर्माण गरी काष्ठकला, प्रस्तरकला जस्ता मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यका साथ ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रदेशसभामा दर्ता गरिएको मन्त्री चित्रकारले जानकारी दिए ।
उद्यमी व्यवसायीलाई प्रोत्साहन गरी लगानीमैत्री वातावरण तयार गरी निर्यातजन्य उत्पादन अभिवृद्धि गरी उनीहरुको सीपसंरक्षण गरी ५० प्रतिशतको लागत साझेदारीमा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजित कार्यक्रमको कार्यान्वयन सम्बन्धित जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय र उद्योग वाणिज्य तथा उपभोक्ता हितसंरक्षण निर्देशनालयबाट कार्यान्वयन प्रारम्भ गरिएको उनले बताए ।
बडादसैं, दीपावली तथा अन्य पर्वको अवसरमा साल्ट टे«डिङ कर्पोरेसनसँगको सहकार्यमा प्रदेशभित्रका २४ स्थानमा चाडपर्व लक्षित सुपथ मूल्य पसलहरु सञ्चालन गरिनुलाई पनि उनले उपलब्धि मानेका छन् ।
यस्तै, ‘स्वदेशी उत्पादन अभियानः उद्यमीको सम्मान’ भन्ने नाराका साथ नवौं उद्योग दिवसको अवसरमा प्रदेश भित्रका १३ वटै घरेलु कार्यालय तथा निर्देशनालयको आयोजनामा सरोकारवालासँगको अन्तरक्रिया, छलफल तथा गोष्ठी कार्यक्रम सञ्चालन गरिएको उनले बताए । चालु आर्थिक वर्ष २०८०÷८१ मा यस मन्त्रालय मातहतका निर्देशनालय, १३ वटै जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयबाट हालसम्म करिब २३४० औद्योगिक तथा व्यापारिक फर्म दर्ता भएको मन्त्री चित्रकारले जानकारी दिए ।
प्रदेशको उद्योग तथा लगानी प्रवद्र्धनन समितिको बैठकले अनुसूची–१ बमोजिमको सहमति लिनुपर्ने ९ वटा उद्योगलाई सहमति दिइएको उनले बताए । मन्त्रालयले प्रदेश भित्रका विभिन्न जिल्ला कार्यक्षेत्र भएका र प्रचलित वातावरणीय कानुनले आईई स्वीकृत गर्नुपर्ने भनी तोकेका ११ वटा उद्योगको प्रारम्भिक वातावरणीय अध्ययनको प्रतिवेदनलाई स्वीकृति प्रदान गरिएको छ ।
जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयको भौतिक पूर्वाधार, मानव संशाधन, योजना कार्यक्रम कार्यान्वयन लगायतका सम्पूर्ण अवस्थाको बारेमा यथार्थ जानकारी लिने क्रममा सिन्धुली, धादिङ, ललितपुर, भक्तपुर, चितवन र मकवानपुरका घरेलु तथा साना उद्योग कार्यालयको स्थलगत निरीक्षण गरिएको जनाइएको छ ।
चित्रकारले आफ्नो नेतृत्वमा सञ्चालनमा नआएको उद्योगलाई पुनउपयोग गर्न छलफल गरिरहेको दाबी गरेका छन् । बागमती प्रदेशमा उद्योग स्थापनाको लागि लगानी गर्न ईच्छुक दक्षिण कोरिया, चीन तथा जापानका व्यवसायीको टोलीसँग भेट गरी लगानीको लागि प्रेरित गरिएको, पाकिस्तानका उद्यमीलाई भ्रमणका लागि निमन्त्रणा पठाइएको उनले बताए ।
बागमती प्रदेशलाई औद्योगिक प्रदेशको रुपमा रुपान्तरण गर्न सहयोगको लागि अनुरोध गर्न सम्माननीय राष्ट्रपति, नेपाल सरकारका, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलगायतसँग भेट गरी सहयोगको लागि अनुरोधगरिएकोलाई पनि उनले उपलब्धीमा
राखेका छन् । मन्त्री चित्रकारले हेटौंडा कपडा उद्योग, हेटौंडा सिमेन्ट उद्योग, रिद्धिसिद्धि सिमेन्ट उद्योग, निक ट्रान्सफर्मरलगायतका उद्योगको स्थलगत भ्रमण गरी उद्योगको हालको अवस्था अध्ययन गरिएको बताए ।
प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा ७ को उपदफा ९१० बमोजिम मन्त्रालयले गर्नुपर्ने संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहतका संगठनको संगठनात्मकस्वरुप र दरवन्दीतेरिज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पेश गरिएको पनि उनले बताए ।
प्रदेशभित्र सञ्चालन हुने उद्योग, व्यापारलगायत अन्य यस्तै प्रकृतिका मेला, महोत्सवको प्रवद्र्धन गर्नका लागि ‘मेला, महोत्सव, प्रदर्शनी सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०’ मन्त्रिपरिषदबाट स्वीकृत गराइएको मन्त्री चित्रकारले जनाए । संविधान दिवसको अवसरमा हेटौंडामा प्रदेश हस्तकला प्रदर्शनी आयोजना गरिनुका साथै अन्य धेरै स्थानमा हस्तकला मेला महोत्सवमा सक्रिय सहभागिता जनाइएको उनले जानकारी दिए ।
मन्त्री चित्रकारले विद्यमान नीतिगत एवम् कानुनी व्यवस्थाका सम्बन्धमा सरोकारवालाको राय, परामर्श, सुझाव ग्रहण गर्ने कार्यलाई तिव्रता दिइनुका साथै घरेलु तथा साना उद्योग कार्यालय धादिङ र ललितपुरको आयोजनामा सञ्चालित सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सहभागी भई भुँई तहदेखिका उद्योगी, व्यवसायीकापिरमर्का, गुनासो सुन्ने कार्य भएको बताए ।
निर्माण सम्पन्न भई सञ्चालनको चरणमा रहेका कोशेली घरलाई स्थानीय तह तथा सरोकारवालालाई हस्तान्तरण गरी व्यवस्थित रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न ‘भौतिक संरचना हस्तान्तरण सम्बन्धी कार्यविधि’ तयार गरी सहमतिको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइएको बताइएको छ । साथै उपभोक्ता हकहित संरक्षण सम्बन्धी कानुनको मस्यौदा तयार गर्ने प्रक्रिया सुरु गरिएको छ ।
उद्योग प्रशासनलाई सेवाग्राही र प्रविधिमैत्री बनाउने र उद्योग तथा व्यवसायको स्थापना सञ्चालन र बहिर्गमन सम्बन्धी सेवालाई थप सरल र प्रविधिमैत्री बनाउने हेतुले साविकको मन्त्रालयबाट निर्मित उद्योग व्यवसाय र व्यापार व्यवसायसम्बन्धी अनलाइन सफ्टवेयरलाई समयसापेक्ष अपगे्रड गरी तत्काल घरबाटै सेवाग्राहीले सेवा प्राप्त गर्न सकिने र मन्त्रालयले सो बारे अनुगमन गर्न सकिने बनाउन योजना बनाइएको र सो को कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई छलफलका लागि बोलाइएको मन्त्री चित्रकारले बताए ।
उपभोग्य वस्तुको गुणस्तर कायम गर्न बजार अनुगमनको कार्यलाई नियमित तथा प्रभावकारी बनाइनुका साथै चाडपर्वको समयमा आकस्मिक तथा अन्य समयमा नियमित रुपमा गरी १५१३ वटा व्यापारिक फर्मको अनुगमन गरिएको र जसबाट करिब ६ लाख रुपैयाँ बराबर जरिवाना तथा ४ लाख रुपैयाँ बराबरका म्याद नाघेका सामग्रीहरु नष्ट गरिएको मन्त्री चित्रकारले बताए ।