थाहानगरलाई फिल्मसिटी बनाउने प्रस्ताव

संवाददाता
मंसिर ११, २०८०

हेटौंडा– मकवानपुरको थाहा नगरपालिकालाई फिल्म सिटीको रुपमा विकास गर्न शनिबारबाट थाहा नगरपालिकामा पहिलोपटक ‘थाहा फिल्म फेस्टिभल’ सुरु भएको छ ।

थाहा नगरपालिकाको इन्दायणीचौरमा रहेको जेसीज हलमा सुरु भएको फिल्म फेस्टिभलको उद्घाटन गर्दै बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले फेस्टिभलले थाहाको पर्यटन प्रवद्र्धनको साथै फिल्म सिटी निर्माणको उद्धेश्य पूरा गर्न सकिने बताए ।

काठमाडौंको सीमानामा रहेको थाहा नगरपालिका प्राकृतिक तथा सांस्कृतिकरुपमा धनी भएको भन्दै मन्त्री चित्रकारले सरकारले फिल्म उद्योगलाई ब्यवस्थित बनाउँदै फिल्म सिटीको अवधारणा अनुसार काम गर्नुपर्नेमा जोड दिए ।उनले भने ‘हामीले भारतको फिल्म उद्योग भन्नेवित्तिकै मुम्बईलाई सम्झन्छौँ, त्यहा ठूला फिल्मसिटीहरु निर्माण भएका छन्, हामीले नेपाली चलत्रिको विकासको लागि नेपालमा पनि यस्ताखाले फिल्म सिटिको अवधारणालाई अघि सार्नुपर्छ, त्यसको लागि थाहा नगरपालिका उपयुक्त स्थल हो ।’

फेस्टिभलमा थाहा नगरपालिकामा जन्मेर नेपाली कलाकारिता क्षेत्रमा योगदान दिएका दर्जन बढी श्रष्टालाई सम्मान गरिएको थियो भने करिब आधा घण्टाको थाहाको पर्यटन र सास्कृतिक पक्ष समेटिएको बृत्तचित्र प्रस्तुत गरिएको थियो ।

फेस्टिभलमा चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग लगायत प्रर्दशन हुने आयोजकले जनाएको छ । थाहा नगरमा चलचित्र छायांकनको स्थल विकास तथा प्रचार गर्ने गरी आयोजकले विभिन्न पर्यटकीयस्थलमा चलचित्रकर्मीलाई भ्रमण पनि गराउने छ ।थाहा नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्रहरुको पहिचान गरी फेस्टिभलमा बृत्तचित्र प्रर्दशन गरिने आयोजक थाहा कलाकेन्द्रका सानुबाबु मुक्तानले बताए ।चलचित्र छायांकनको लागि उपयुक्त स्थलको बारेमा फेस्टिभलमा आएका चलचित्र निर्माता, निर्देशक तथा कालाकारलाई जानकारी दिनेगरी बृत्तचित्र तयार पारिएको मुक्तानको भनाई छ ।

कार्यक्रम अवधिभर थाहाको पर्यटकीय क्षेत्रको अवलोकन गर्ने थाहानगरको पर्यटन बढाउने तस्वीर कार्यक्रम स्थलमा अवलोकन गराइनेछ । यसैगरी चलचित्र, लघुचलचित्र, म्युजिक भिडियो, भ्लग तथा इत्यादिका निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई थाहा नगरपालिकासँग पारस्परिक गराउन प्रयास गर्ने आयोजकले जनाएको छ ।
फेस्टिभलमा चलचित्र, लघुचलचित्र, म्युजिक भिडियाको निर्माता, निर्देशक तथा निर्माण समूहसँग विशेष अन्तरक्रिया गराइनेछ । मकवानपुरमै पहिलोपटक फिल्म फेस्टिवलको आयोजना भएकोले फेस्टिवलका विशेष आकर्षक हुने आयोजकको दाबी छ ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, थाहा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपाली, वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, फ्लोरिकल्चर एसोसिएसनका मीनबहादुर तामाङ, आयोजक समितिका सहसंयोजकराजीवकुमार स्याङ्तान, नेकपा माओवादी केन्द्र थाहानगर समिति अध्यक्ष विनोदकुमार लामा, जनकल्याण माविका प्रधाध्यापक सानोभाइ कार्कीलगायतले थाहानगरको कला, संस्कृति र पर्यटन क्षेत्रको विकासका बारेमा चर्चा गरेका थिए ।

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोगमा आयोजना गरिएको फिल्म फेस्टिवलको पहिलो दिन शनिबार थाहानगरको पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रर्दशनी गरिएको हो । कार्यक्रममा कला र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विजयश्याम अमात्य, बाबुसाहेब बलामी, वीरमान स्याङ्तान, सगुन तामाङ र केशव सापकोटालाई सम्मान गरिएको थियो ।

फिल्म फेस्टिवलमा छ वटा चलचित्र, १६ वटा लघुचलचित्र र छ वटा वृत्तचित्र प्रदर्शनी गरिने छ । डेसान, बुलबुल, ऐन झ्यालको पुतली, राधा, प्रकाश र आमा खाण्डोको प्रदर्शनी गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*