भीमफेदी गाउँपालिकाद्वारा बाराही माविलाई स्कुल बस

संवाददाता
अशोज १६, २०८०

हेटौंडा– भीमफेदी गाउँपालिका वडा नम्बर ४ मा रहेको बाराही माध्यमिक विद्यालयमा विद्यालय बस सेवा सुरु गरिएको छ । आइतबार भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामा र उपाध्यक्ष सञ्जीव श्रेष्ठको उपस्थितमा एक कार्यक्रमको आयोजना गरि बस सेवा सुरु गरिएको हो ।

भीमफेदी गाउँपालिकाको ३० लाख रुपैयाँ आर्थिक सहयोगमा उक्त बस सेवा सुरु गरिएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रमेश आचार्यले बताए । साविक निबुवाटार गाविस हाल भीमफेदी गाउँपालिका वडा नम्बर ३ र ४ गरि दुईवटा वडा बनाइएको छ । दुईवटै वडाको लागि माध्यमिक तहको स्कुल भने बाराही माध्यमिक विद्यालय मात्र रहेको अध्यक्ष आचार्य बताउँछन । उनले भौगोलिक हिसाबले बिकट भएकोले स्थानीय अभिभावक र विद्यालयको माग बमोजिम गाउँपालिकाको अध्यक्ष हिदम लामा र उपाध्यक्ष सन्जीव श्रेष्ठको विशेष पहलमा यस विद्यालय बसको ब्यवस्था भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथी भीमफेदी गाउँपालिकाको अध्यक्ष लामाले आफ्नो छोटो भनाइ राख्दै ओखर, बोखर, इकचुङ्ग, लेख पान्द्राङ्ग ,चिलाउने ,गोठ डाडा ,ज्याल्टार, गोल्पिङ्ग बेसी, चिउरी बगैँचा ,लगाएको ठाउँबाट आउने विद्यार्थी भाइबहिनीलाई सजिलो बनाउनको लागि बसको ब्यवस्था गरेको बताए । लामाले सबै अभिभावकलाई आग्रह गर्दै अब सरकारी विद्यालयमानै गुणस्तरीय शिक्षा प्रदान हुने भएकोले निर्धक्क भएर आफ्ना नानी बाबुलाई विद्यालय पठाउन अनुरोध गरे ।

धेरै खर्च गरेर बोडिङ्ग स्कुल हालेर मात्र पढाइ राम्रो हुने हैन स्थानीय सरकार विद्यालय व्यवस्थापन समिति विद्यार्थी र अभिभावक सक्रिय भए सरकारी स्कुलको पढाइमा कुनै कमी नहुने लामाले बताए । कार्यक्रममा वडा अध्यक्षहरूका सागर पाण्डे, जहार सिङ्ग लामा, कासिराम बज्यु, प्रकाश पुडासैनी, विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद गौतम, शिक्षक अभिभावक विद्यालय लगाएको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*