विद्यार्थीको सहारा बन्दै हेटौंडा–१८ का वडाध्यक्ष अनिल बानियाँ

संवाददाता
अशोज १६, २०८०

हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ का वडा अध्यक्ष अनिल बानियाँ वडाभित्र बसोबास गर्ने क्याम्पस पढ्दै गरेका विद्यार्थीका लागि सहारा बनेका छन् ।

आर्थिक अभावकै कारण उच्च शिक्षा अध्ययन गर्न नसक्ने परिवारलाई लक्षित गरी उनले सुरु गरेको निःशुल्क बस सेवा प्रभावकारी बनेको छ । १८ नम्बर वडाका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न हटिया चिसापानी वा हेटौंडा बजार नै आउनुपर्ने बाध्यता छ ।

हेटौंडासम्म आउजाउ गर्दा बिरामीलाई पढ्ने खर्च भन्दा बढी यातायातमा खर्च हुने गरेको छ । यसै विषयलाई मध्यनजर गरेर वडाध्यक्ष बानियाँले आफ्नो वडाबाट टाढाको बाटो क्याम्पस पढ्न जाने विद्यार्थीहरुलाई निःशुल्क बस सेवा सुरु गरेका हुन् ।

१८ नम्बर वडाबाट हेटौंडाको बजार क्षेत्रमा रहेका क्याम्पसमा अध्ययन गर्न आउनका लागि १८ किलोमिटर टाढा पर्छ । बस भाडा तिरेर विद्यार्थीलाई आउन पनि समस्या छ । त्यसैले त्यस वडाबाट क्याम्पस पढ्न आउने विद्यार्थीका लागि निःशुल्क बस सेवा सुरु गरिएको वडा अध्यक्ष बानियाँले जानकारी दिए ।

यस वडाबाट १ सय २९ जना विद्यार्थी हेटौंडा बजार आसपासका क्याम्पसमा अध्ययन गर्न आउने गरेका छन् । ती विद्यार्थीहरुको बस भाडा वडा कार्यालयले तिरिदिन लागेको उनले बताए । गत भदौ १७ गतेदेखि यस क्षेत्रमा निःशुल्क बस सेवा सुरु भएको हो ।

पढ्न चाहने विद्यार्थीका लागि यो नयाँ सुरुवात रहेको उनले बताए । हरेक दिन क्याम्पस आउन जानका लागि बसभाडा महगो पर्ने, कोठा भाडामा लिएर पढ्नका लागि बिद्यार्थीका लागि सहज नहुने भएकाले यसतर्फ सहयोग गरिएको वडा अध्यक्ष बानियाँले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*