कोदो उत्पादनमा मकवानपुरगढी र भीमफेदीको प्रोत्साहन
हेटौंडा– मकवानपुरका दुई स्थानीय तहले रैथाने बालीका खेतीलाई अनुदान दिएर प्रोत्साहन दिँदै आएका छन् । धान र गहुँ जसरी सिँचाइ नचाहिने कोदोबालीलाई प्रोत्साहन दिन थालिएको हो ।
किसानले निर्वाहमुखी तवरले परम्परादेखि कोदोबाली लगाउँदै आएका थिए ।गाउँपालिकाले प्रोत्साहन गर्न थालेपछि अब भने कोदोको मकवानपुरगढी र भीमफेदी गाउँपालिकामा व्यावसायिक खेती अघि बढेको छ । मकवानपुरगढी र सँगैको भीमफेदी गाउँपालिकाले चालु वर्षदेखि कोदो खेतीलाई प्रोत्साहन दिन थालेका हुन् । मकवानपुरगढीका १, २, ४ ,७ र ८ नम्बर वडाका अधिकांश बासिन्दाले कोदोखेती गरेका छन् ।
मकवानपुरगढी गाउँपालिकाले बजारको व्यवस्थासँगै समर्थन मूल्य पनि तोकेकाले बिक्री हुनेमा ढुक्क रहेका किसान कुसुमबहादुर घलानले यो वर्ष २० रोपनी जग्गामा कोदो रोपेका छन् । बजारीकरणमा स्थानीय तहले सघाउन सुरु गरेपछि उनले यसपटक २० रोपनीमा कोदो रोपेको बताए । खेती विस्तार गर्ने घलान एक्ला होइनन् ।
२ रोपनीमा लगाउँदै आएकी अम्बिका चौलागाईले यसपटक १० रोपनी जग्गामा कोदो रोपेकी छन् । ‘बेच्न र उचित मूल्य पाउन समस्या नभएकाले कोदो रोप्न थालेका हौं ।’, चौलागाईले मख्ख पर्दै भनिन्, ‘पहिला त गाईगोरुलाई नल खुवाउन घाँसको रुपमा कोदोखेती गरिन्थ्यो, अहिले कमाइका लागि गरिन्छ ।’, मकवानपुरगढी गाउँपालिकाले कोदोको ब्रान्डिङसँगै बजारीकरण पनि थालेको छ ।
मकवानपुरगढीले कोदोको समर्थन मूल्य प्रतिकेजी ४५ रुपैयाँ तोकेको छ । कोदो स्थानीय सहकारीमा बेच्ने किसानलाई प्रतिकेजी थप २ रुपैयाँ र सहकारीलाई बजारको व्यवस्थापन गर्न प्रतिकेजी २ रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दोर्जे लामाले बताए ।
अध्यक्ष लामाले भने–‘मकवानपुरगढीका कृषकहरु अहिले कोदोखेतीतर्फ आकर्षित भएका छन् ।’ संघीय सरकारले कोदोखेतीको प्रवद्र्धनका लागि अनुदान दिन थालेपछि गाउँपालिकाले पनि सुरु गरेको उनले बताए । मकवानपुरगढीमा गतवर्ष २ सय ५० हेक्टरमा कोदोखेती गरिएको थियो । अहिले विस्तार भएर ३ सय हेक्टर पुगेको गाउँपालिकाको कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताए ।
चौधरीका अनुसार पालिकाका करिब २ सय घरधुरीले कोदोखेती गरेका छन् । गाउँपालिकाले कोदोको पिठो बजारमा ल्याएको छ । कोदोको खपत बढाउन विद्यालयको दिवाखाजा कार्यक्रममा सातामा एकदिन कोदोका परिकार खुवाउनु पर्ने नियम बनाइएको छ । दिवाखाजा कार्यक्रममा कोदोको सेल, हलुवालगायत विभिन्न किसिमका परिकार बनाएर खान दिने गरिएको छ ।
गाउँपालिकाले गत वर्षदेखि बाँझो जग्गा खनजोत गरेर खेती गर्ने कृषकलाई प्रतिरोपनी ९ सय रुपैयाँ प्रोत्साहनस्वरुप अनुदान दिने गरेको छ । गत आवमा ४१ रोपनी बाँझो जग्गा खनजोतगरिएको थियो । यो वर्ष गाउँपालिकाले कोदो र फापरको समर्थन मूल्य तोक्नका लागि प्रक्रिया अगाडि बढाएको गापा उपाध्यक्ष मानकुमारी पाख्रिनले बताइन् ।
यसैगरी भीमफेदी गाउँपालिकाले चालु आवदेखि कोदोखेती गर्ने किसानलाई प्रतिरोपनी २ हजार ५ सय रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ । कोदोखेती गर्नेलाई अनुदान दिने व्यवस्था बजेटमै घोषणा गर्दा किसानमा सकारात्मक सन्देश गएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । ‘अहिलेको वर्ष झण्डै तीन हजार रोपनीमा कोदो रोपिएको छ ।’, उनले भने । गत वर्षसम्म कोदोखेती एक हजार रोपनीमा पनि थिएन । भीमफेदीले कोदोखेती प्रवद्र्धन गर्न चालु आवका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।