हेटौंडा अस्पतालमा दैनिक आउँछन् मानसिक बिरामी

संवाददाता
अशोज १३, २०८०

हेटौंडा– हेटौंडा–१० निवासी ३२ वर्षीया सरिता पाण्डे (नाम परिवर्तन)लाई करिब ३ महिनादेखि घरमै बसिराख्दा पनि मन आत्तिने, अब के हुन्छ ? भन्ने डर पैदा भइरहन्थ्यो ।

केही समयअघि टिकटकमा एकजना मनोरोग विशेषज्ञको जानकारीमूलक भिडियो हेरेपछि आफ्नो समस्या मानसिक समस्या हो जस्तो लागेर हेटौंडा अस्पतालमा जचाँउन आइन् । आफूलाई एन्जाइटी भएको थाहा भएपछि अहिले उपचारमा लागेकी छिन् । पहिले अरुले के भन्लान भनेर कसैलाई नभनेको समस्या बिशेषज्ञकहाँ आएर उपचार पाएपछि अहिले मनोबल बढेको बताउँछिन् ।

सरिता जस्तै सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट मानसिक समस्याबारे जानकारी पाएर आफ्नो मानसिक समस्या समाधानका निम्ति अस्पताल धाउनेहरुको सँख्या बढ्दै गइरहेको हेटौंडा अस्पतालका मनोरोग बिशेषज्ञ डाक्टर उद्धव लामा बताउँछन् । उनका अनुसार हेटौंडा अस्पतालमा दैनिक २० देखि ३५ जनासम्म बिरामी मानसिक समस्या लिएर आउने गरेका छन् । नेपाली समाजमा मानसिक समस्यालाई सामान्य कुरा मानिने र इज्जत जाने डरका कारण यस्ता समस्याबारे बिरामीहरु खुलेर सहजरुपमा उपचारमा जान चाहदैनन् । समस्या नियन्त्रण बाहिर गएपछि मात्रै स्वास्थ्य सँस्थामा बिरामीहरु जाने गर्दथे ।

तर, पछिल्लो समय भने जँचाउन आउने धेरैजसोले सामाजिक सञ्जालबाट समस्याबारे जानकारी पाएर विशेषज्ञ सेवा लिन आएको डाक्टर लामाले बताए । उनीहरु निन्द्रा नलाग्ने, डर लाग्ने, आत्तिएको जस्तो हुने, बढी चिन्ता हुने जस्ता समस्याहरु पनि मानसिक समस्या हो र यसको उपचार विशेषज्ञबाट हुन्छ भन्ने जानकारी सामाजिक सञ्जालबाट पाएका कारण परामर्शका लागि आएको डाक्टरलाई बताउछन् । डाक्टर लामाका अनुसार २०७२ सालको भुकम्प तथा कोभिड–१९ को महामारीपछि मानसिक समस्या अत्यधिक बढेको भएपनि उपचारमा आउने न्युन छन् ।

यद्यपी आउनेमध्ये अधिकांश सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको कारणले नै आउने गरेको उनको दाबी छ । सबैभन्दा बढी समस्या डिप्रेसन र एन्जाइटी देखिएको छ भने मकवानपुरको सन्दर्भमा लागूऔषध दुव्र्यसनी र मादक पदार्थ अत्यधिक सेवनका कारण पनि मानसिक समस्या बढी देखिएको लामाको भनाइ छ । यस्तै विविध कारणले गर्दा पुरुषलाई भन्दा बढी महिलालाई मानसिक समस्या देखिने गरेको छ । महिलालाई सामाजिक रुपमा विभेद, स्वतन्त्रताको अभाव र अधिकतम कामको जिम्मेवारी जस्ता बिषयले मानसिक समस्या निम्तिने गरेको उनले बताए ।

यस्तै घर र कार्यक्षेत्रका कामको दोहोरो भूमिकामाथि सामाजिक संस्कारहरुले थिचिएर तनाव व्यवस्थापन गर्न नसक्दा महिलालाई बढी मानसिक समस्या देखिने बिशेषज्ञको भनाइ छ । सामाजिक सञ्जालसँगै विभिन्न संघसँस्थाले मानसिक स्वास्थ्य बिषयमा जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छन् । मानसिक स्वास्थ्यबारे जनचेतना बढ्दै गएपनि उपचार सेवा लिनेको संख्या अत्यन्त न्यून छ । दैनिक रुपमा हेटौंडा अस्पतालमा एक हजार भन्दा धेरै बिरामीहरु अन्य सेवा लिन आइरहँदा मनोरोग उपचारका लागि ३० जना भन्दा कम आउने गर्दछन् ।

गत साउन महिनामा यस अस्पतालमा ३१ हजार ८ सय ९४ जनाले उपचार सेवा लिएकोमा मनोरोगतर्फ जम्मा २ सय ९६ जनाले मात्र सेवा लिएका थिए । मानसिक रोग तथा समस्याबारे जानकारी बढ्दै गएपनि अस्पताल जान संकोच मान्ने परिपाटीले गर्दा उपचार गराउनेको संख्या न्यून रहेको मनोरोग बिशेषज्ञहरुको भनाइ छ । उचित उपचार, मनोपरामर्श र सामाजिक सहयोग पाएको खण्डमा मानसिक समस्याको पूर्णरुपमा उपचार सम्भव भएकोले केही समय यता मानसिक समस्या भएका

बिरामीको संख्या बढ्दो क्रममा छ । मनोचिकित्सकका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो । कुनै देखिने रोग मात्र पूर्ण स्वस्थताको अवस्था होइन ।

कुनै व्यक्ति शारीरिकरुपमा स्वस्थ्य भईकन मन, विचार, सोच, व्यवहारमा तादाम्य राख्छ, व्यक्तिले आफू, परिवार, समाजमा सामञ्जस्य कायम गरेको छ, व्यक्तिको व्यवहार, सोच त्योसँग मेल खान्छ, आफ्नो पोटेन्सियल, स्ट्रेन्थ, कमजोरपन सहज रुपमा चाल पाउँछ, त्यसलाई मनन गर्न सक्छ, आफू, परिवार र समाजलाई केही योगदान गर्न सक्छ भने त्यो अवस्थामा व्यक्तिको मानसिक रुपमा स्वस्थ भएको बुझिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*