प्रहरीचौकी अगाडिकै दुईवटा सहकारीमा ‘फिल्मी शैली’मा चोरी

संवाददाता
अशोज १३, २०८०

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–६, स्थित चौघडा बजारका दुईवटा ठूला सहकारी संस्थामा ‘फिल्मी शैली’मा चोरी भएको छ ।फिल्महरुमा देखाइने चोरी गर्दैगरेको अवस्थाको दृश्य भन्दा फरक थिएन चौघडाको दुईवटा सहकारी संस्थाको चोरी घटना ।

नाम चलेका जनकल्याण बचत तथा ऋण सहकारी र चौघडा बचत तथा ऋण सहकारी संस्थामा भएको चोरी घटनाले सहकारीहरु कति सुरक्षित छन् रु भन्ने बिषयमा प्रश्नचिन्ह खडा गरेको छ ।

सहकारीहरुको भौतिक संरचनामाथि सुरक्षाको प्रश्न उठ्नु जतिबेला स्वभाविक भयो, त्यतिबेला प्रहरी कार्यालयको सुरक्षा व्यवस्था फितलो बन्न पुग्यो । जनकल्याण र चौघडा सहकारी करिब १ सय मिटरको दुरीमा छन् ।दुवै सहकारीको मध्येभागमा छ, प्रहरीचौकी चौघडा । प्रहरीचौकीको सामुन्ने अगाडि जनकल्याण सहकारी छ भने थोरैको दुरीमा चौघडा सहकारी ।

मकवानपुरगढी गाउँपालिकाको १ नम्बर वडा र बकैया गाउँपालिकाको सीमाना सिमात खोलासम्म चौघडादेखि राजदेवी आसपास क्षेत्रसम्मको करिब ३० किलोमिटर क्षेत्रको सुरक्षा जिम्मा लिएको प्रहरी चौकीले आँगनकै दुई सहकारी ‘फिल्मी शैली’मा चोरी हुँदासमेत पत्तो नपाएको हो । सम्भावित घटनाको पूर्वजानकारी (सुराकी) र आपत्तकालीन सूचनालाई आधार मानेर मात्रै सुरक्षा व्यवस्थापन मिलाइरहेको प्रहरीको परम्परागत शैलीका कारण चोरलाई सहकारीको चोरीमा सहजता बनेको देखिन्छ ।

बुधवार मध्यरात १२ बजेको समयमा दुईजना नकावधारी चोरहरु चौघडा सहकारीमा प्रवेश गरेको स्थानीय सुन्दर आचार्यले जानकारी दिए । दुईजनाले मुखको पूरै भाग छोपेको र हातमा पञ्जासमेत लगाएको सिसिटिभी फुटेजबाट देखिएको छ । सिसिटिभी फुटेजबाट पहिचान हुने डरले मुख छोप्नु र प्रहरी अनुसन्धानबाट पत्ता लाग्ने डरले हातमा पञ्जा लगाउनुले दुई सहकारी ‘प्रोफेसनल चोर’को शिकार बनेको सहजै अनुमान लगाउन सकिन्छ । चौघडा सहकारीमा उद्देश्यअनुरुप पैसा नभेटेपछि चोरहरु नजिकैको जनकल्याण सहकारीमा केही समयपछि आइपुगेको सिसिटिभी फुजेटबाट देखिन्छ ।

जनकल्याण सहकारीमा प्रवेश गर्नासाथ एकजना पैसा राख्ने सेफतर्फ सिधै गएको र एकजना सिसिटिभीको तार काट्न गएको अनुमान लगाइएको छ । त्यसपछिको घटना भने सिसिटिभीमा कैद हुन सकेको छैन । करिब २ घण्टाभित्र दुई वटा सहकारीमा चोरी भएको अनुमान लगाउन सकिन्छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीले चोरीको घटना हुँदा प्रहरीचौकी चौघडा पनि सुरक्षा व्यवस्थापनमै खटिएको दाबी गर्छन् ।

धरान–चतरा– हेटौंडा सडक खण्ड र कान्तिलोकपथ दुवै मार्गमा पर्ने व्यस्त सडक अगाडिकै दुई सहकारीमा चोरी हुँदा बिहीवार साँझसम्म चोरको पहिचान हुन सकेको छैन ।‘हामीले अनुसन्धान गरिरहेका छौं ।’, डिएसपी भण्डारीले भने । उनले प्रहरीटोली गस्तीमै रहेका बेला चोरी भएको पनि जानकारी दिए । ‘प्रहरीटोली गस्तीमै थियो । सायद, गस्ती कतै गएको बेला घटना घटेको हुनुपर्छ ।’, भण्डारीले भने । जनकल्याणमा दुईजनाको समूहले मूलढोका फुटाएर प्रवेश गरी भल्ट फुटाएर ५० हजार ५ रुपैयाँ नगद चोरेको संस्थाले जनाएको छ । चौघडा बचतमा भवन पछाडितर्फको झ्यालको ग्रिल उक्काएर प्रवेश गरे पनि संस्थामा नगद राख्ने नगरेकाले नगद चोरी नभएपनि विद्युतीय उपकरण र भौतिक संरचनामा सामान्य क्षति भएको जनाइएको छ ।

जनकल्याणमा लेखा समितिको बैठकका लागि बिहान समितिका पदाधिकारी आउँदा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो भने चौघडा बचतमा कार्यालय समयमा कर्मचारी आएपछि चोरी भएको थाहा पाएर प्रहरीलाई खबर भएको थियो । घटनास्थलमा प्रहरीचौकी चौघडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली पुगेर अनुसन्धान थालेको छ । केही समय अघि सहकारीमा चोरी हुने क्रम बढेपछि चौघडा क्षेत्रका अधिकांश सहकारीले संस्थामा नगद राख्न छोडेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*