बसपार्कमा घण्टाघर बनाइने, अनुत्पादक क्षेत्रमा लगानी नगर्न सुझाव

संवाददाता
अशोज १३, २०८०

हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१०, स्थित बसर्पाकमा पर्यटकीय आकर्षणका लागि घण्टाघर निर्माण गरिने भएको छ । १० नम्बर वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ बाट घण्टाघर निर्माणका प्रक्रिया सुरु गरिने वडाअध्यक्ष फुर्वादोर्जे लामाले जानकारी दिए ।

लामाले यसअघि सामाजिक सञ्जाल फेसबुकमा घण्टाघर निर्माणको प्रक्रिया अगाडि बढाउन लागेको जानकारी दिएका थिए । त्यहाँ उनलाई आर्थिक मन्दीको चपेटामा रहेको देशमा अनुत्पादक क्षेत्रमा लगानी नगर्न भन्दै सर्वसाधारणले सुझाव दिएका छन् ।

कतिपयले घण्टाघर निर्माण गर्न लागेकोमा धन्यवाद दिएका थिए भने कतिपयले घण्टाघर निर्माणमा हुने खर्च उत्पादनको क्षेत्रमा लगानी गर्न वडाध्यक्ष लामालाई सुझाव दिएका थिए ।

२०७४ यता नेपालमा धेरै भ्यूटावर निर्माण भएको भन्दै तत्कालीन सरकारको चर्को आलोचना भएको थियो । अग्लोडाँडामा पनि भ्यूटावर निर्माण भएको विषय सामाजिक सञ्जालमा भाइरल नै बनेको थियो ।

हाल मुलुकको अवस्थाका कारण तीन तहकै सरकारले भ्यूटावर, घण्टाघर निर्माण गरेर बस्ने समय नभएको र रोजगारी सृजना हुने खालका र उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बहस तीव्र रुपले चलिरहेको छ । अर्थशास्त्री र अर्थविदहरुले नै अनुत्पादक क्षेत्रमा गरिएको लगानीले मुलुकको अर्थतन्त्रलाई धराशायी बनाइरहेको बताउँदै आएका छन् ।

हेटौंडाको बसपार्कमा उपमहानगरपालिका कार्यालयले जिल्लाको चिनारीको रुपमा रहेको ठेकी निर्माण गरिसकेको छ । हेटौंडाको बसपार्कमा पारिजातसँगै रहने र यसको पनि व्यवस्थापन गरेर घण्टाघर निर्माण गर्न लागिएको वडाध्यक्ष लामाले बताएका छन् । बसपार्कमा घण्टाघर मात्र नभई पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले सूचना केन्द्र पनि निर्माण गरिने अध्यक्ष लामाले बताए ।

‘घण्टाघर भित्र छिरेपछि सूचना केन्द्र बनाइने छ । जहाँ हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रको सबै पर्यटकीय क्षेत्रको सूचना एकैस्थानबाट दिने तयारी छ । यसबाट धेरैले पर्यटकीय क्षेत्रको सूचना लिन सक्नेछन् ।’, घण्टाघरको डीपीआर तयार भइसकेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*