३८ लाखको लागतमा बन्यो दुई पालिका जोड्ने पुल

संवाददाता
असार २४, २०८०

हेटौंडा– हेटौंडा उपमहानगरपालिका र राक्सिराङ गाउँपालिकाको सीमानामा पर्ने चुर्लिङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । लामो समयदेखि पुल निर्माणको माग गर्दै आएका हेटौंडा–१९ शिरान्चोक बेसीटोलका बासिन्दा पुल निर्माणसँगै हर्षित भएका छन् ।

बर्षाको समयमा चुर्लिङखोला तरेर वारपार गर्नुपर्ने बाध्यतासँगै उत्तिकै जोखिमबाट उनीहरु मुक्त भएका छन् । हेटौंडा उपमहानगरपालिकाले संघीय शसर्त अनुदानमार्फत झोलुङ्गे पुल निर्माण गरिदिएको हो । २०७६ मा डिपीआर स्वीकृत भई २०७७ सालमा आएको बजेट कार्यान्वयनमा ल्याउन नसक्दा स्थानीयले चिन्ता गरेको थिए । लामो समय पुल निर्माणका लागि धायौं, अहिले बल्ल गाउँलेको आंकाक्षा पुरा भएको स्थानीय कुमार व्लोनले बताए ।

उनले भने ‘‘हामी ठुला मान्छे त खोला तर्छन् विद्यालय जाने बालबिलकालाई ठुलो समस्या थियो त्यो ट-यो ।’, बर्षौदेखि खोलापारीको विद्यालयमा अध्ययनको लागि खोलातरेर जानुपर्ने बाध्यतामा रहेका हेटौंडा–१९ शिरान्चोक बेसीटोलका बालबालिकाको समस्या टरेको हो । झोलुङ्गे पुल निर्माणसँगै अध्ययनका लागि खोला तर्नुपर्ने जोखिमबाट उनीहरु मुक्त भएका हुन् ।

तीन बर्षअघि पुल निर्माणको लागि आएको बजेट कार्यान्वयन हुन नसक्दा अध्ययनका लागि जानुपर्ने बालबालिका खोलाको जोखिम मोल्दै विद्यालयसम्म पुग्ने गरेका थिए । हेटौंडा–१९ र राक्सिराङ–१ जोड्ने चुर्लिङखोला तरेर राक्सिराङ गाउँपालिका–१ दुङ्गेञ्ज्याङमा रहेको कालिका आधारभूत विद्यालयसम्म जानका लागि शिरान्चोक बेसीटोलका बालबालिकालाई बर्षाको समयमा समस्या हुने गरेको थियो । उपमहानगरको बेसीटोलबाट १५ घरका ३५ जना बालबालिका अध्ययनका लागि विद्यालय जाने गरेका छन् ।

पुलको अभाबका कारण नजिकै देखिएपनि वारीपारीको सम्बन्धका लागि हिउँद कुर्नपर्ने अवस्था थियो अब समस्याबाट छुटकारा पाएको स्थानीयले बताए । दुई पालिका जोड्ने झोलुङ्गे पुलको हेटौंडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले उद्घाटन गरेका छन् । शिरान्चोकवेसी झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिले ३८ लाख रुपैयाँको लागतमा पुल निर्माण गरेको हो ।

झोलुङ्गे पुलको निर्माण प्राबिधिक सहयोग राडो नेपालले गरेको थियो । ७६ मिटर लामो पुलमा संघीय सरकारले ८५, हेटौंडा उपमहानगरपालिकाले १३ र उपभोक्ता समितिले २ प्रतिशत लगानी गरेका छन् । निर्माण भएको झोलुङ्गे पुलबाट दुई पालिकाका ५ हजार स्थानीय लाभाम्वित हुने बताइएको छ ।

झोलुङ्गे पुलको उद्घाटनमा जग्गा दान गर्ने बाघसिं स्याङ्तान, बीरबहादुर लो र पुल निर्माणको क्रममा काममा खटिएका स्थानीय मिस्त्री हर्कबहादुर थोकर, ईन्द्रबहादुर स्याङतानलाई सम्मान गरिएको थियो । पुल निर्माण समितिका अध्यक्ष कुमार व्लोनको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१९ का अध्यक्ष नरनाथ सुवेदी, राडो नेपालका कार्यक्रमा संयोजक बिष्णु धिताल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*