मकवानपुरका ९ पालिका बजेट ल्याउने तयारीमा

संवाददाता
असार ८, २०८०

मकवानपुरका ९ वटा स्थानीय तह आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ल्याउने तयारीमा जुटेका छन् । हेटौंडा उपमहानगरपालिकाले भने यसअघि नै नीति, कार्यक्रम र बजेट एकैसाथ ल्याईसकेको छ ।

मकवानपुरमा एक उपमहनगर, एक नगरपालिका र ८ गाउँपालिका छन् । जसमध्ये थाहा नगरपालिका र बाँकी ८ गाउँपालिकाले बजेटको तयारी गरेका हुन् । विकट कैलाश गाउँपालिकाले भने बिहीवार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम स्थानीय तहले असार १० भित्र आगामी आवको नीति तथा कार्यक्रम र बजेट गाउँरनगरसभामा पेस गर्नुपर्छ । बजेटमा गत आवको राजस्व र व्ययको यथार्थ विवरण, चालु आवको अन्तिमसम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आवको योजना तथा कार्यक्रम र आय व्ययको अनुमानित विवरण समावेश गर्नुपर्छ ।

स्थानीय तहले आन्तरिक राजस्व र आयबाट प्राप्त रकम, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलगायतका आधारमा वार्षिक बजेट निर्माण गर्नुपर्दछ । योजना निर्माणका विभिन्न तह पार गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने अन्तिम तयारीमा जुटेका स्थानीय तहको बजेट केही कटौती हुने भएको छ ।

संघ र प्रदेशबाट प्राप्त हुने अनुदान खुम्चिएको र आन्तरिक आम्दानीको स्रोत परिचालन कमजोर बनेपछि संघ र प्रदेश सरकारको जस्तै यहाँका सबै जसो स्थानीय तहको बजेटको आकार घट्ने निश्चित भएको छ । स्थानीय तहको आगामी आवको बजेट चालु आवको तुलनामा १० प्रतिशतको हाराहारीमा बजेटको आकार घट्ने आंकलन स्थानीय तहका पदाधिकारीहरुको छ ।

हेटौँडा उपमहानगरपालिकाले संघ र प्रदेशबाट आउने अनुदानसँगै आन्तरिक स्रोत घटेको भन्दै चालु आवको तुलनामा घटाएर आगामी आवको बजेट ल्याएको थियो । आगामी आवका लागि हेटौँडा उपमहानगरपालिकाले दुई अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँको बजेट ल्याएको थियो । यो चालु आवको बजेटको तुलनामा हेटौंडा उपमहानगरको बजेट ११ करोड रुपैयाँले कम हो ।

स्थानीय तहको आगामी आवको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकता विगत वर्षमा झैँ मूलतः कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटन नै पर्ने भएको छ । राक्सिराङ गाउँपालिकाका प्रवक्ता एवं वडा नं। ५ का वडाध्यक्ष हरिबहादुर प्रजाले आगामी आवको नीति तथा कार्यक्रम र बजेट असार ९ गते गाउँसभामा पेस गर्ने गरी तयारी भइरहेको जानकारी दिए । उनले प्रदेश र संघीय सरकारबाट अनुदान रकम घटेर आएकाले आगामी आवको बजेटको आकार घट्ने बताए ।

कैलाश गाउँपालिकाले कार्यक्रम र बजेटको रातो किताबमा पहिलो पटक गाउँपालिकाभित्र काम गर्दै आएको गैरसरकारी संस्थाको बजेट र कार्यक्रमसमेत समेटेर आगामी आवको बजेट सार्वजनिक गर्ने भएको छ । यो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले यही असार ७ गते नीति तथा कार्यक्रम र १० गते बजेट ल्याउने गरी तय भएको जानकारी दिए । उनले बजेटको आकार घट्ने जानकारी दिँदै कृषि, पर्यटन र ग्रामीण सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर बजेट आउने बताए ।

यसैगरी भीमफेदी गाउँपालिकाको नीति तथा कार्यक्रम असार ७ गते र बजेट असार १० गते ल्याउने गरी तयारी गरिएको छ। भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले आगामी आवको बजेटमा शिक्षा र स्वास्थ्यले प्राथमिकता पाउनुका साथै चालु आवका अधुरा योजनाले निरन्तरता पाउने बताए ।

बकैया गाउँपालिकाले कृषि, शिक्षा र पूर्वाधारलाई जोड दिँदै आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउने जनाएको छ । गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले १० गतेभित्र आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी तयारी भइरहेको भन्दै आन्तरिक राजस्व परिचालन वृद्धि गर्ने गरी आगामी आवको नीति तथा कार्यक्रम आउने जानकारी दिए ।

मकवानपुर जिल्लाका अन्य स्थानीय तहको जस्तै आन्तरिक स्रोत परिचालन कमजोर र प्रदेश र संघीय अनुदान घटेर आएकाले थाहा नगरपालिकाको आगामी आवको बजेटको आकार पनि घट्ने भएको छ । थाहानगर उपप्रमुख भरत गोपालीले असार १० मा बजेट ल्याउने गरी तयारी भइरहेको भन्दै टोल र वडास्तरमा योजनाबारे छलफल भइरहेकाले अहिले कुन क्षेत्रले प्राथमिकता पाउने भन्ने निक्र्योल नभएको बताए ।

बागमती गाउँपालिकाका उपाध्यक्ष फणिन्द्रकुमार तिमल्सिनाले कृषि, पशुपालन र पूर्वाधारलाई प्राथमिकतामा राखेर यही असार १० गते गाउँपालिकाको बजेट आउने बताए । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले यही असार १० देखि १२ भित्र नीति तथा कार्यक्रम र बजेट कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राख्दै ल्याइने जानकारी दिए ।

त्यस्तै मनहरी गाउँपालिकाले पनि आगामी असार १० गतेभित्र बजेट ल्याउने तयारी गरिरहेको गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले जानकारी दिइन् । यसैगरी इन्द्रसरोवर गाउँपालिकाको आगामी आवको नीति तथा कार्यक्रम र बजेट असार १० गते गाउँसभामा पेस गर्ने कार्यतालिका बनेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रह्लाद कार्कीले चालु आवको अनुपातमा आगामी आवको बजेट पाँचदेखि १० प्रतिशतसम्म घट्ने बताउँदै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम र बजेट आउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*