हेटौंडामा परमिट नभएका मयुरीले ‘सोझासाझा’ महिलालाई तनाव

संवाददाता
२०८० असार ८, शुक्रबार ०९:५५

हेटौंडा– पौरखी नेपाल नामक संस्थाको विदेशबाट फर्किएका महिलालाई स्वदेशमै स्वरोजगार बनाउने परियोजनाले सोझासाझा महिलाहरुलाई तनाव दिएको खुलासा भएको छ ।

संस्थाको परियोजनाको उद्देश्य महिलालाई दुःख र तनाव दिने नभएता पनि विदेशबाट फर्किएका महिलालाई कानूनी प्रक्रिया नपु-याई तीन पाङ्ग्रे विद्युतीय रिक्सा (मयुरी) दिएर समस्या भएको पाइएको हो । काठमाडौंमा केन्द्रीय कार्यालय र हेटौंडामा शाखा रहेको संस्थाले कानुनी प्रक्रिया पूरा नगरी मकवानपुरका विपन्न महिलालाई तीन पाङ्ग्रे मयुरी बाँडेको थियो ।

२०७४ सालदेखि संस्थाले विपन्न महिलाको आयआर्जन उकास्ने भन्दै मयुरी चलाउन सिकाएर बिनालगानी मयुरी खरिदमा सहयोग गरेको थियो ।संस्थाको उद्देश्य राम्रो भएपनि तीन पाङ्ग्रे मयुरी बिक्री गर्ने गिरोहको सेटिङमा परेपछि यतिबेला मकवानपुरका डेढ दर्जन विपन्न महिलाहरु तनावमा परेका हुन् ।

कानून कार्यान्वयनमा हेटौंडा उपमहानगर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर प्रतिबद्ध बनेपछि विपन्न महिलाको नाममा दिइएको मयुरी नियन्त्रणमा छन् । पौरखीले २०७४ सालदेखि बाँडेको मयुरीको रोड परमिट ९निश्चित सडकमा सञ्चालन अनुमति० नभएपछि ट्राफिक प्रहरी कार्यालय परिसरमा करिब दर्जन मयुरी थन्किएका छन् ।

यसबारे विस्तृत बुझ्न २०७४ सालमा फर्किनुपर्ने हुन्छ । पौरखी नेपाल संस्थाले विदेशबाट फर्किएका विपन्न महिलालाई मयुरी बाँडेको थियो । पौरखी नेपाल मकवानपुरकी पूर्वअध्यक्ष मिरा दाहालका अनुसार संस्थाले ०७४ मा ९ जना महिलालाई मयुरी दिएको थियो । साढे ४ लाख मूल्य कायम गरिएको मयुरीको २ लाख संस्थाले व्यहोर्दा २ लाख ५० हजार रुपैयाँ संस्थाले नै बैंकबाट ती महिलाहरुको नाममा ऋण कायम गरिदिएको थियो ।

संस्थाले मकवानपुरमा मयुरी सञ्चालन कार्यक्रम सफल भएपछि पुनः २०७६ सालमा थप ९ जना महिलालाई मोरङको विराटनगरमा रहेको ड्याप नामक कम्पनीबाट मयुरी ल्याएर वितरण गरिएको दाहालले जानकारी दिइन् । यत्तिकैमा हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा सडक क्षमताभन्दा बढी तीन पाङ्ग्रे अटो र मयुरी भएपछि २०७६ पुसदेखि हेटौंडाभित्र सञ्चालनका लागि अनुमति ९परमिट० नदिन यातायात व्यवस्था सेवा कार्यालय बीरगञ्ज र हेटौंडालाई पत्राचार गरेको थियो ।

हाल हेटौंडा बजारमा अटो र मयुरी देखेर सर्वसाधारणमात्र नभई उपमहानगरका जनप्रतिनिधिदेखि ट्राफिक प्रहरी नै हैरान भएका छन् । बजार क्षेत्रमा अटो र मयुरीको संख्या ‘कमिलाको ताँती’भन्दा कम देखिने गरेको छैन । यसका कारण प्रदेशकै राजधानीको ट्राफिक व्यवस्थापन जटिल बनिरहेको छ ।ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त राख्न अटो, मयुरी नियन्त्रणको विकल्प सरकारी निकायसँग छैन ।

त्यसैकारण उपमहानगरपालिकाले २०७६ पुस ७ गतेभन्दा अगाडि परमिट प्राप्त तीन पाङ्ग्रे सवारीलाई २०७९ साउन १९ गतेदेखि हरियो स्टिकर टाँस्ने अभियान सुरु ग¥यो । हरियो स्टीकर टाँसेका अटो र मयुरीलाई मात्र उपमहानगरभित्र सञ्चालनको अनुमति दिएको छ ।

गत साउन यता जिल्ला ट्राफिक प्रहरी कार्यालयले मटो र मयुरी गरेर पाँचसय २८ वटालाई कारबाही गरिसकेको छ । कारबाहीमा परमिट नभएका विपन्न महिलाले चलाउने मयुरी पनि परेका छन् । पौरखी नेपालले परमिट बिना नै कानुनी प्रक्रिया पूरा नगरी दिएको मयुरीका कारण महिलाहरु ९ हजारसम्म जरिवाना तिर्न बाध्य भएको हेटौंडा–५ की सञ्चमाया थिङले गुनासो गरिन् ।

ट्राफिक प्रहरीले १० दिनदेखि साढे २ महिनासम्म मयुरी थन्काइ दिएको हेटौंडा–११ की कृतिका मोक्तानले बताइन् । मलेशियाबाट फर्किएर मयुरी चलाउन थालेकी मोक्तानलाई परमिट नभएकै कारण मयुरी निल्नु न ओकल्नु भएको छ । ‘चलाउँ भने ट्राफिकले समाउँछ, नचलाउँ ऋण कसरी तिरौं’, मोक्तानले परमिट नभएसम्म आफूले प्रभु बैंकमा कायम भएको ऋण तिर्न नसक्ने बताइन् ।

हेटौंडा–१२ की सम्झना मोक्तानको पीडा पनि उस्तै छ । ट्राफिक देख्नेबित्तिकै आत्तिनु पर्ने समस्या रहेको उनको गुनासो छ । पीडित महिलाहरुले सबै कागजपत्रको बारेमा जानकारी नभएको र मयुरी दिने संस्थाले पनि नबुझाएको बताए । बैंकको ऋणसमेत महिलाहरुले नियमित तिरेका छैनन् । यसबीचमा करिब दुईपटक बैंकको मासिक ७ हजार किस्ता तिरेको र विगतका वर्षदेखि नै बैंकलाई किस्ता नतिरेको जनाइएको छ ।

अब महिलाहरु न मयुरी सहजसँग सञ्चालन गर्ने अवस्थामा छन् न त बैंकको ऋणबाट मुक्ती पाउने । उनीहरु दोधारमा परेपछि उपमहानगरलाई सहयोगको अपिल गरेका छन् । तर, उपमहानगर थप अटो र मयुरी भिœयाउने पक्षमा छैन । संस्थालाई परियोजना कार्यान्वयन गर्नुपर्ने हतास र मयुरी बिक्री गरेर फाइदा खानेको हतारोले महिलाहरु पीडामा परेको हेटौंडा उपमहानगरका प्रवक्ता तथा हरियो स्टिकर व्यवस्थापन समिति संयोजक सविन न्यौपानेले बताए ।

संस्थाले कानुनी प्रक्रिया पूरा नगर्दा सोझासाझा महिलाहरु फसेको संयोजक न्यौपानेको भनाइ छ । न्यौपानेले २०७६ पुसपछि दर्ता भएका अटो र मयुरी सञ्चालन गर्न नदिनेमा उपमहानगर प्रतिबद्ध रहेको बताए । ‘२०७६ पुसपछि आएका कुनैपनि तीन पाङ्ग्रेलाई स्टिकर दिन सक्ने अवस्था छैन’, संयोजक न्यौपानेले अझैपनि स्टिकर दिलाइदिने नाममा मयुरीहरु बिक्री गरिरहेको खबर सुनिएको छ, त्यस्तो हल्लाको पछाडि लागेर मयुरी नकिन्न सबैलाई सूचित गर्दछु ।’ अब साउन १ गतेदेखि स्टिकरको नवीकरण गर्ने, संख्या यकिन गरिने, भाडादर कायम गर्ने, प्रशिक्षणलगायत कार्यक्रम अगाडि बढाउने संयोजक न्यौपानेले बताए ।

२०७४ सालदेखि बाँडेको मयुरीको समस्या हालसम्म पनि समाधान गर्न नसकेको पौरखी नेपालले एक महिनाअघि पुनः ५ वटा मयुरी हेटौंडा झारेको खुलेको छ । परमिट नभई सञ्चालन हुन नसक्नेबारे जानकारी हुँदासमेतपौरखी नेपाल मयुरी ल्याउँदैछ । यसले पनि बिनालगानीको लोभ देखाएर महिलालाई जबर्जस्ती मयुरी भिडाउने रणनीतिमा पौरखी संस्था लागेको देखिएको हो ।

यसबारे थप जानकारी लिन साझाकुराले संस्थाकी केन्द्रीय अध्यक्ष मञ्जु गुरुङलाई फोन गर्दा उनको दुई पटकसम्म पनि फोन उठेन । संस्थाको मकवानपुर शाखाकी पूर्वअध्यक्ष दाहालले महिलाहरुलाई आय आर्जनमा जोड्न राम्रो नियतले नै मयुरी सहयोग गरिएको बताइन् । कानुनी प्रक्रिया नबुझ्दा समस्या भएको उनको स्वीकारोक्ती छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*