संघ र प्रदेशले छुटाएको योजना मनहरीले समेट्ने कालाखेतीको प्रतिबद्धता
मनहरी– हालसालै संघ र प्रदेश सरकारले बजेट बिनियोजन गरिसकेपछि आ–आफ्नो ठाउँबाट टिक्काटिप्पणी आइरहेको बेला मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले गाउँबासीको नाममा सम्बोधन गरेका छन् ।
गाउँबासीको नाममा सम्बोधन गर्दै पालिका अध्यक्ष कलाखेतीले संघीय र प्रदेश सरकारबाट बिनियोजित बजेटले मनहरी गाउँपालिकाको अपेक्षाकृत माग र समस्या सम्बोधन नगरेको दाबी गरेका छन् । ‘बजेटको लागि हामीले धेरै पटक संघ र प्रदेश सरकारको मन्त्रालय धायौ, माग ग-यौ । तर, बिनियोजनको बेला सम्बोधन कम भएको देखियो, तथापी देशको आर्थिक अबस्थाले गर्दा होला, पहिलाको अनुपातमा माग गरेको बमोजिम बजेट आउन नसकेको साँचो हो ।,’ उनले भनेका छन् ।
आगामी ४ बर्ष भित्रमा सक्दो प्रयास गरेर आगामी बर्षमा संघ र प्रदेश सरकारसंग समन्वय गरेर मनहरी गाउँपालिकामा बजेट ल्याएर सम्मुनत विकास गरिने अध्यक्ष कालाखेतीले प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट ल्याउँदैछ । संघ र प्रदेश सरकारले समेट्न नसकेको बजेटहरु अब गाउँपालिकाले सम्बोधन गरी समस्यालाई हल गर्ने प्रतिबद्धता कालाखेतीले गरेका हुन् ।