सहकारी समस्या निराकरण खोज्दै प्रदेशस्तरीय गोष्ठी

हेटौंडा– बागमती प्रदेशमा सहकारी क्षेत्रमा देखिएका समस्या निराकरणका लागि प्रदेशस्तरीय अन्तक्रिया गोष्ठी आयोजना गरिएको छ । गोष्ठीमा सहकारीमा देखिएको समस्याहरु समाधान गर्न सरकार र सरोकारवाला पक्ष लाग्नु पर्नेमा जोड दिइएको छ ।
बागमती प्रदेश सहकारी विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा आर्थिक संकटको समस्या सहकारीमा देखिएका विकरला समस्या र समाधानका उपायका विषयमा गहन रुपमा छलफल गरिएको छ ।
गोष्ठीको उद्घाटन गर्दै प्रदेशका पर्यटन उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले सहकारीमा देखिएको समस्यालाई समाधान गर्नेतर्फ सबै एकजुट भएर लाग्नुपर्ने बताए । सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने उनको धारणा छ ।
कार्यक्रममा प्रदेशका १३ जिल्लाका सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिका साथै जिल्लामा रहेका विषयगत सहकारी संघहरुको अध्यक्ष एंव प्रतिनिधिको सहभागिता रहेको छ । गोष्ठी आज बुधबार हेटौंडाबाट घोषणापत्र जारी गरेर समापन हुनेछ ।
प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका अध्यक्ष मिनराज कंडेलले सहकारी क्षेत्रमा देखिएको समस्या र निराकरणका लागि सरोकारवालाको भूमिका र छाता संघहरुको दायित्व विषयक आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गरिबी न्यूनीकरण तथा सदस्यहरुको आर्थिक उन्नतिमा सहकारीको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरे ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष परितोष पौड्यालले बचत सहकारीमा देखिएका समस्या र त्यसको समाधान उपायका लागि सरकार र अभियानको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । बोर्डका कार्यकारी उपाध्यक्ष देवकोटाले गोष्ठीको उद्देश्य र प्रदेश सहकारी बोर्डले सम्पादन गर्ने कामहरुबारे आफ्नो प्रस्तुती दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव गोविन्दप्रसाद रिजाल, सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष एंव संविधान सभा सदस्य ओमदेवी मल्ल, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमराज पाठक, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रदेश सहकारी संघको अध्यक्ष रामशरण घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रदेश सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, सहकारी महासंघका पूर्वसञ्चालक बद्रीप्रसाद लम्साललगायतको आतिथ्यता थियो ।