भीमफेदी कारागारका ३० जना कैदीबन्दी बिरामी

हेटौंडा– भीमफेदीमा रहेको भीमफेदी कारारमा अज्ञात रोगबाट सोमबार ३० जना कैदीबन्दी एकैपटक बिरामी परेका छन् । भीमफेदी गाउँपालिका–३ मा रहेको कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीमा ज्वरो आउने, काँप्ने, पेट दुख्ने र शरीर कमजोर भएको महसुस हुने समस्या देखिएको कारागार प्रशासक तीर्थ पौडेलले जानकारी दिए ।
कारागार प्रशासक पौडेलका अनुसार बिहान १० जना बिरामी भएपछि नजिकैको स्वास्थ्यकेन्द्रमा उनीहरुको उपचार गरिएको थियो । दिनभर बिरामीको संख्या बढेपछि गाउँपालिका र स्वास्थ्यकेन्द्रको सहयोगमा कारागारमै उपचार गरिएको थियो । प्रशासक पौडेलका अनुसार २ जना डाक्टरसहित आठजना स्वास्थ्यकर्मी कैदीबन्दीको उपचारमा खटिएका थिए ।
केही कैदीबन्दीले मानिस नै चिन्दैनौं भनेपछि कारागारले थप उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहयोग मागेको पौडेलले बताएका छन् । उक्त ब्लकमा तीन हप्ता अगाडि एकजना बन्दीको मृत्यु भएको थियो ।
त्यसपछि उनीहरुमा मनोसामाजिक समस्या देखापरेको उनको दाबी छ । ‘विषाक्त खानाको कारण बिरामी भएको हो कि भनेर हामीले परीक्षण ग¥यौं । तर, त्यस्तो केही पाइएन,’ उनले भने । कारागारमा हाल १ हजार १ सय ८ जना कैदीबन्दी रहेका छन् ।