‘लम्पी स्किन’ संक्रमण रोकथाम प्रभावकारी बनाउँदै मन्त्रालय

संवाददाता
जेष्ठ ४, २०८०

हेटौंडा– कीटाणुजन्य ‘लम्पी स्किन’ रोगको संक्रमणबाट मकवानपुरमा झण्डै २०० वटा गाई मरेका छन् । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार बागमती प्रदेशका १३ जिल्लामध्ये मकवानपुरमा ‘लम्पी स्किन’ रोगको बढी संक्रमण देखिएको छ ।

पहिलो चरणमा संकलन गरिएको तथ्यांक अनुसार बागमती प्रदेशभर हालसम्म १८ हजार तीन सय २४ गाईमा संक्रमण देखिएको प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।

देशभर फैलिएको लम्पी स्किन रोग गाईभैँसीमा देखा पर्न थालेपछि पशुचौपाय मर्न थालेका छन् । अधिकारीले दिएको जानकारीअनुसार मकवानपुरको १० वटै स्थानीय तहमा गरेर १ सय ९७ वटा गाई मरेका हुन् । जिल्लाका १० पालिकामध्ये मकवानपुरगढी बढी संक्रमण भएको क्षेत्र हो ।

मकवानपुरगढीमा गाईपालन धेरै भएकाले यहाँका धेरै किसान समस्यामा परेका छन् ।मकवानपुरमा चार हजार ८ सय ३५ गाईमा रोग देखिएको हो । सिन्धुलीमा ९ हजार ६ सय ३४ गाईमा संक्रमण देखिँदा ४७ वटा गाईको मृत्यु, रामेछापमा एक हजार ९ सय ६५, चितवनमा एक हजार ६० गाईमा उक्त रोगको संक्रमण देखिएको अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रदेशको रसुवा र दोलखामा रोग पुष्टि नभएकाले संक्रमित संख्या शून्य छ । धादिङको विवरण मन्त्रालयमा आइनसकेको उनको भनाइ थियो । हालसम्म गाईमा मात्र सङ्क्रमण भएको र भैँसीमा उक्त रोग सङ्क्रमण नभएको अधिकारीले बताए ।

काठमाडौंमा ८३, ललितपुरमा ४०, काभ्रेमा चार सय, नुवाकोटमा तीन सय, सिन्धुपाल्चोकमा ६ र भक्तपुरमा एउटा गाईमा लम्पी स्किन रोग देखापरेको मन्त्रालयको तथ्यांक छ ।रोगबाट पशुमा हुने मृत्युदर कम ९करिब ५ प्रतिशत० भए पनि दुहुना पशुको दूध उत्पादनमा उल्लेख्य ह्रास ९८० प्रतिशतसम्म० हुने भएकाले किसानलाई ठूलो आर्थिक क्षति पुगेको अधिकारीले बताए ।

‘रोग नियन्त्रण गर्न रोगको कारण, लक्षण, यसबाट किसानमा पुग्ने क्षति एवं नियन्त्रण र रोकथामका बारेमा किसान र सबै सरोकारवालासमक्ष जनचेतना फैलाउने काम गरिरहेको अधिकारीले जानकारी दिए । रोगको जोखिमयुक्त क्षेत्रको पहिचान गरी खोप कार्यक्रम यथाशीघ्र सुरु गर्न जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रलाई निर्देशन दिई सकिएको मन्त्रालयले जानकारी दिएको छ ।

मकवानपुरको मकवानपुर गढी गाउँपालिका–५ मा एक हजार पाँच सय डोज खोप लगाउने कार्य सञ्चालन भइरहेको छ । रोग ग्रस्त क्षेत्रमा गई तत्काल निःसङ्क्रमण, उपचारलगायत नियन्त्रणका कार्य सञ्चालन गर्न तत्काल रोग नियन्त्रण समिति बनाइ कार्य अघि सारिएको अधिकारीले जानकारी दिए ।

मन्त्रालयले रोग नियन्त्रण तथा रोकथामलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘लम्पी स्किन डिजिज् नियन्त्रण र रोकथाम रणनीति, २०८०’ तयार गरी कार्यान्वयन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । मन्त्रालयको अनुगमन टोलीले निरन्तर अनुगमन गर्दै संक्रमणको रोकथामका लागि आवश्यक कार्य गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*