कर्मचारीले सूचना नदिए मन्त्रालयलाई खबर गर्नूस्ः श्रेष्ठ

संवाददाता
जेष्ठ २, २०८०

हेटौंडा– बागमती प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले कर्मचारीले सूचना नदिए मन्त्रालयमा खबर गर्न आग्रह गरेका छन् ।

हेटौंडास्थित मन्त्रालयमा सोमबार भएको सूचनाको हकसम्बन्धी अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले उपयुक्त सूचना माग्दासमेत कर्मचारीले नदिए मन्त्रालयमा खबर गर्न आग्रह गरेका हुन् । उनले सूचना माग्दा नदिनेलाई कारबाही गरिने बताए ।

लोकतान्त्रिक मुलुकमा सूचना लिने र दिने क्रम निरन्तर चलिरहनुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले कार्यालयका सूचना अधिकारीलाई सूचना लिन आउनेलाई प्रक्रिया पु¥याएर सूचना दिन निर्देशन दिए । उनले सूचना लिनेको संख्या धेरै भएता पनि सूचना दिनेतर्फ भने कम रहेको बताएका हुन् ।

सूचना अधिकारीले हौसला र मनोवल बढ्ने खालको क्रियाकलाप नभएको गुनासो आएकाले प्रदेश सरकारले सूचना अधिकारीलाई प्रोत्साहनस्वरुप नीतिगत रुपमा गर्नुपर्ने आवश्यक तयारी गरिरहेको उनले बताए ।

सूचना पाउनु नागरिकको हक रहेको तर, सूचनाको दुरुपयोग भने गर्न नपाइनेतर्फ मन्त्री श्रेष्ठले सचेत गराए । उनले सूचना हकको दुरुपयोग भइरहेकोतर्फ पनि चिन्तित देखिए । सूचना लिएर दुरुपयोग गरिएको घटना रहेको भन्दै सूचनालाई धेरै सदुपयोग गर्न उनको आग्रह थियो ।

नेपालको संविधान २०७२ धारा २७ मा सूचनाको हक, ऐन २०६५ र नियमावली २०६५ जारी भएसँगै प्रदेश सरकारले भने प्रदेश सूचनासम्बन्धी ऐन, २०७६ जारी गरेको र नियमावली निर्माणको तयारीमा रहेको मन्त्री श्रेष्ठले जानकारी दिए । प्रदेश सरकारले सूचना अधिकारीलाई संस्थागत रुपमा मोबाइल नम्बर दिने तयारीसमेत रहेको बताए ।

अन्तरक्रियामा प्रदेश सूचनाको हकसम्बन्धी ऐन र प्रदेश सूचना पुनरावेदन समितिको काम, कर्तव्य र अधिकारबारे समितिका सदस्य कृष्ण सारु मगरले प्रस्तुती दिएका थिए ।

उनले सूचना माग गरेको १५ दिनभित्रमा दिनुपर्छ भन्दै कानुनी व्यवस्था, सार्वजानिक महत्वका सूचनाका विषयमा छलफल गरिएको थियो । नागरिकले सूचना माग्दा सूचना दिनेले पत्रकारलाई मात्र दिने भन्ने सोच जुन सूचना अधिकारीको रहन्छ त्यो सोचको अन्त्य गरिनुपर्ने सहभागीहरुले बताएका छन् । अन्तरक्रियामा जिल्ला अदालत बार एसोसिएसन अध्यक्ष अप्सरा बस्नेतले सूचनाको हकको विषयमा रहेका कानुनी व्यवस्था, उजुरी, दस्तुर जस्ता विषयमा आफनो कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा मुख्यन्याधिवक्ताको कार्यालयका ठाकुरराम भण्डारी, उच्च अदालत बार एसोसिएसनका सुभाषचन्द्र अधिकारी, प्रदेश सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले सूचनाको हक र त्यससँग जोडिएका विषय वस्तुमा आफ्नो धारणा राखेका थिए । मन्त्रालयका सचिव ध्रुव गैंडाको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी पत्रकारहरुले आफ्नो अनुभव र सुझाव राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*