कांग्रेस मकवानपुरका नेताले गृहमन्त्रीलाई भने, ‘ठूला नेताको भयले प्रकरण सामसुम नहोस्’

संवाददाता
२०८० जेष्ठ १, सोमबार १८:४४

हेटौंडा– नक्कली शरणार्थी प्रकरणमा कांग्रेस, नेकपा एमालेका नेताहरु पक्राउ परिरहेको घटनालाई लिएर खुट्टा नकमाउन कांग्रेस मकवानपुरका नेताहरुले आग्रह गरेका छन् ।सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आइतबार भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु तानिने भयले खुट्टा नकमाउन नेताहरुले आग्रह गरेका हुन् ।

नक्कली शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि कांग्र्रेसको संस्थापनइतर समूहका नेताहरुले पनि यसअघि गृहमन्त्री श्रेष्ठलाई भेटेर अनुसन्धानलाई निष्पक्ष ढंगबाट अगाडि बढाउन आग्रह गरेका थिए ।

मकवानपुरका पनि कांग्रेस संस्थापनइतरकै नेताहरुले गृहमन्त्रीलाई भेटेर अनुसन्धान प्रभावकारी बनाएर दोषीलाई कारबाहीको माग गरेका हुन् ।कांग्रेस मकावनपुरका पूर्वसभापति रघुरमण न्यौपाने, जिल्ला कार्यसमितिका उपसभापति तथा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, पार्टी महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, राजु पौडेललगायत कांग्रेसी नेताहरुले ठूला नेता तानिने भयबाट नक्कली शरणार्थी प्रकरणलाई सामसुम पार्न नहुने बताएका छन् । ‘यो प्रकरणमा हामी तपाईंको कार्यकर्ता बनेर उभिएका छौं ।

तपाईंबाट जुन साहसको काम भएको छ, त्यसमा हामी प्रशंसा गर्छौं । यो प्रकरणमा जस्तोसुकै शक्तिशाली र माथिको नेता परेपनि खुट्टा नकमाउनु होला’, नेताहरुले भनेका छन् । गृहमन्त्रीलाई उनीहरुले देशभरका जनता साथमा उभिएको र खुट्टा कमाएको अवस्थामा तीनै जनता विरोधमा पनि उत्रन सक्ने कांग्रेस मकवानपुरका नेताहरुले चेतावनीसमेत दिएका छन् ।‘दह्रो खुट्टा टेक्नु होला । राजनीतिक दबाब, राष्ट्रिय, अन्तराष्ट्रिय दबाब परेपनि काम गर्नुस् । असहयोग गरेर तपाईलाई हटाए पनि जसले हटायो उसकै बेइज्जत हुन्छ, यो घटनामा म तपाईलाई साथ दिन्छु भनेको छु’, न्यौपानेले साझाकुरासँग भने ।

धेरै जनताले विश्वास गरेकाले मुलुकको लागि सबैथोक त्यागेर पनि यस प्रकरण टुंगोमा पु¥याउन आग्रह गरेको उनले बताए । श्रेष्ठले प्रमाण भेटे जति कसैलाई नछोड्ने बताएको न्यौपानेले सुनाएका छन् । प्रमाण खोज्ने कुरामा पनि आफूले सबै शक्ति प्रयोग गर्ने श्रेष्ठले विश्वास दिलाएको उनको भनाई छ । ‘प्रमाण नै केही भेटिएन भने मेरो केही लाग्दैन । तर, यस प्रकरणसँग नाम जोडिएकाहरुलाई मैले कुनैपनि हालतमा छाड्ने छैन’, गृहमन्त्रीको भनाई उत्दृत गर्दै न्यौपाने भन्छन् ।

नक्कली शरणार्थी प्रकरण सतहमा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच बारम्बार बैठक चलिरहेको छ । प्रमुख तीनदलका शीर्ष नेताको बारम्बारको बैठकले आशंका जन्माएको विषय पनि आफूहरुले गृहमन्त्रीसँग राखेको न्यौपानेले उल्लेख गरे । ‘तीन शीर्ष नेताको बैठकले यो प्रकरणलाई कतै सामसुम पार्न खोजिएको त होइन रु भन्ने आमजनताको आशंका छ, यसलाई चिरेर अघि बढ्नु नै राम्रो हुन्छ भन्ने सुझाव हामीले दिएका छौं’, उनले भने । गृहमन्त्रीले कुनै हालतमा पनि खुट्टा नकमाउने कुरा बताएको न्यौपानेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*