बालश्रम लगाउने तीन होटल कारवाहीमा
हेटौंडा– बालबालिकालाई निकृष्ट श्रममा लगाउने हेटौंडाका तीन होटल कारवाहीमा परेका छन् । हेटौंडा–१० बसपार्क क्षेत्रमा रहेको होटलले बालबालिकालाई निकृष्ट श्रममा प्रयोग गरेको पाइएपछि श्रम कार्यालय हेटौंडाले सोमबार तीन होटललाई कारवाही गरेको हो । कारवाहीमा बसपार्क क्षेत्रमा रहेको धादिङ, डाँफे र गण्डकी होटल परेका छन् ।
श्रम कार्यालय हेटौंडाका अनुसार होटल धादिङले ११ बर्ष उमेरकी बालिकालाई श्रममा लगाएको भन्दै ७ हजार रुपैयाँ, होटल डाँफेले १५ बर्षीय बालक र गण्डकीले १६ बर्षीया बालिकालाई काममा लगाएको भन्दै ३–३ हजार रुपैयाँ जरिवाना तिरेका छन् । श्रम कार्यालयको कारबाही पछि उनीहरुले आगामी दिनमा होटलमा बालश्रमको प्रयोग नगर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
आगामी मंसिर मसान्तसम्म हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणाको तयारीमा रहँदा बसपार्क क्षेत्रका होटलमा बालश्रममा लगाएको ४ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये एकजना जन्मदर्ताका आधारमा परिवारमा पुनस्र्थापना भएका छन् भने अन्य तीन जनालाई सोमबार श्रम कार्यालयमा बालश्रमबारे आवश्यक परामर्श सहित परिवारको जिम्मा लगाइएको हो ।
उपमहानगरको नगर बालअधिकार समिति अन्तरगतको बालश्रमिक उद्दार तथा पुनस्र्थापना उपसमितिको नेतृत्वमा गएको अनुगमन टोलीले बसपार्कका बिभिन्न तीन होटलबाट कानुनविपरित श्रममा लगाइएका बालबालिकाको उद्दार गरिएको हो । अनुगमन टोलीले कैलाश गाउँपालिका घर भई विगत १० महिनादेखि बसर्पाकस्थित डाँफे होटलमा काम गरिरहेका १५ वर्षीय बालक , डाँफे होटलबाटै भीमफेदी गाउँपालिका–६, माण्डु घर भएकी १५ वर्षीया बालिका, धादिङ होटल एण्ड लजबाट धादिङको रोराङ गाउँपालिका घर भएकी १३ वर्षीया बालिका र गण्डकी होटल एण्ड लजबाट भीमफेदी–५ सुपिङ घर भएकी १५ वर्षीया बालिकाको उद्दार गरिएको हो ।
बालश्रम ऐन (निषेध तथा नियमित) २०५६ अनुसार १४ बर्ष भन्दा मुनिका बालवालिकालाई श्रममा प्रयोग गर्न नपाउने व्यवस्था रहेको छ भने १४ देखि १८ बर्ष समूहको हकमा श्रम कार्यालयबाट श्रम अनुमति लिएर प्रयोग गर्न पाउने प्राबधान छ । तर, १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई निकृष्ट श्रममा लगाउन नमिल्ने व्यवस्था रहेको छ ।
यदी कानुन उल्लंघन गरेमा ३ महिना कैद वा ५० हजार रुपैयाँसम्म जरीवाना वा दुबै हुने व्यवस्था छ ।
उपमहानगरको प्रारम्भिक चरणको तथ्याङक अनुसार हेटौंडामा ६३ जना श्रमिक बालवालिका रहेका छन् । उनीहरुलाई बालश्रममा प्रयोग नगर्नका लागि सम्बन्धित निकायमा जानकारी गराइएको छ ।
यदी बालश्रमको प्रयोग भएको पाइएमा उद्दार र जरिवाना सहित कानुनी कारवाही गरिने उपमहानगरले जनाएको छ । उपमहानगरले बालमैत्री पालिका घोषणाको लागि थालेको तयारीमा सबैलाई सहकार्यको लागि आव्ह्वान गरेको छ ।
बालश्रम नियमनका लागि हेटौंडा उपमहानगरपालिकाको बालअधिकार समिति अन्र्तगत बालश्रम अनुगमन उपसमितिका संयोजक सुरज बतौंलाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक चुडाकुमारी खड्का, श्रम कार्यालयका भीम शर्मा, नगर बालमैत्री सहजकर्ता सपना दुंगाना, सिविनका झबिन्द्र ज्ञवाली, सिएससी नेपालका कल्याणी बस्नेत, महिला तथा बालबालिका सरोकार केन्द्रका तजविज गर्तौला र टाइनी हेन्स एलिना स्याङ सहितको टोली निर्माण गरेको छ ।