मकवानपुरमा ९ महिनाभित्र ३२ हजार सवारीसाधनमाथि कारबाही

संवाददाता
२०८० बैशाख २२, शुक्रबार १४:३२

हेटौंडा– मकवानपुरमा चालू आर्थिक वर्ष २०७९/८० को ९ महिनामा कानुन उल्लघंन गरी सञ्चालन गर्ने ३२ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् ।

सवारीसाधनको कागजपत्र साथमा नबोक्नेदेखि तीव्र गतिमा सवारी चलाउनेसम्मलाई गरेर विभिन्न कसुरमा जरिवाना तिराउँदै कारबाहीको भागिदार बनाइएको हो । चालू आवको साउनदेखि चैत मसान्तसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले ३२ हजार ८९ सवारीसाधनलाई कारबाही गरेको हो ।

कानुन उल्लंघन गरी सवारी चलाउनेलाई कारबाही गर्दा सरकारको ढुकुटीमा २ करोड ४५ लाख ८९ हजार ५ सय रुपैयाँ राजश्व संकल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयकाअनुसार चालू आवको चैत मसान्तसम्म कागजात पत्र साथमा नबोकी हिँड्ने ७ हजार ९ सय ७५, सवारी चालक अनुमति पत्र (लाइसेन्स) नबोकी हिँड्ने २ हजार ३ सय ९८ सवारी चालक कारबाहीमा परेका छन् ।

सवारीसाधनको अत्यावश्यक इन्डिकेटरभित्र पर्ने बत्तिको अवस्था ठिक नभएका ३ हजार १ सय १२, तीव्र गतिमा सवारी चलाउने ४ सय ४९, सवारीधनी पत्रमा उल्लेख भएको प्रयोजन विपरित चलेका ४ सय ५०, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने २ हजार १९ तथा र अन्य गरी ३ हजार ८ सय २१ सवारीसाधन कारबाहीमा परेको ट्राफिक कार्यालयको तथ्यांक छ ।

साउनदेखि चैत मसान्तसम्म सवारीसधान कारबाहीबाट २ करोड ४५ लाख ८९ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्यले जानकारी दिए । चालू आवको पहिलो महिना अर्थात् साउनमा ७ सय ६४ सवारीसाधन कारबाहीबाट २४ लाख ६ हजार ५ सय राजश्व संकलन भएको थियो ।

भदौमा ५ सय ७६ सवारीसाधन कारबाहीबाट २४ लाख ४९ हजार, असोजमा ५ सय ५३ सवारीसाधन कारबाहीबाट २५ लाख ५७ हजार, कार्तिकमा ६ सय ४९ सवारी कारबाहीबाट २९ लाख ७५ ५ सय राजश्व संकलन गरिएको प्रमुख आचार्यले बताए ।

मंसिरमा ५ सय २९ सवारीसाधन कारबाहीबाट २२ लाख ५२ हजार ५ सय, पुसमा ६ सय ५८ सवारीसाधन कारबाहीबाट २९ लाख १० हजार, माघमा ५ सय ९७ सवारीसाधन कारबाहीबाट ३० लाख ४७ हजार ५ सय , फागुनमा ६ सय ४२ सवारी कारबाहीबाट २७ लाख ९९ हजार ५ सय राजश्व संकलन भएको प्रमुख आचार्यले जानकारी दिएका छन् ।

चालु आवको चैत महिनामा मात्रै ४ हजार २ सय ५० सवारीसाधन कारबाही गर्दा ३० लाख ९२ हजार राजश्व संकलन गर्न सफल भएको इन्स्पेक्टर आचार्यले बताए ।

कार्यालयले चैतमा मात्रै ८ सय ३८ वटा ट्रकमार्फत ६ लाख ६६ हजार, ४ सय ६० वटा बसमार्फत ३ लाख ४३ हजार, ९ सय २७ कार, जीप, भ्यानमार्फत ७ लाख १३ हजार, १ सय ३३ ट्याक्टर मार्फत ९२ हजार पाँच सय, १ हजार २ सय ५० मोटरसाइकलमार्फत ८ लाख ६८ हजार, टेम्पो तथा अन्य ६ सय ४२ सवारीसाधनमार्फत ४ लाख ९ हजार ५ सय राजश्व संकलन भएको प्रमुख आचार्यले बताए ।

कार्यालयले मादक पदार्थ सेवन (मापसे)मा कारबाही परेको ३ सय ४० सवारीसाधानबाट साउनदेखि चैतसम्म ३ लाख ४१ हजार, गलत रुट परमिट बनाइएको कसुरमा ४ हजार ६ सय २४ सवारीसाधनबाट ३४ लाख ८६ हजार, ओभरलोड बोक्ने २ हजार ५ सय २५ सवारी कारबाहीबाट २५ लाख १८ हजार, सिट बेल्ट तथा हेलमेट नलगाई असुरक्षित तरिकाले सवारीसाधन चलाउने ४ हजार ३ सय ४६ सवारी साधनबाट २९ लाख ४ हजार राजश्व संकलन गरेको प्रमुख आचार्यले जनाए । कागजात पत्र साथमा नबोकी हिँड्ने ७ हजार ९ सय ७५ सवारीसाधनबाट ५६ लाख ५६ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्र नबोकी हिँड्ने २ हजार ३ सय ९८ सवारीसाधन चालकबाट २४ लाख २० हजार, बत्तिको अवस्था ठिक नभएकोमा ३ हजार १ सय १२ सवारीसाधनबाट १९ लाख ५४ हजार, तीव्र गतिमा सवारी चलाउने ४ सय ४९ सवारीसाधनबाट ४ लाख ७ हजार ५ सय, प्रयोजन विपरित चलेका ४ सय ५० सवारीसाधनबाट ४ लाख २१ हजार ५ सय, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने २ हजार १९ सवारीसाधनबाट १८ लाख ६९ हजार र अन्य कारबाहीमा परेका ३ हजार ८ सय २१ सवारी बाट २६ लाख १२ हजार पाँच सय राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*