अतिक्रमित संरचना हटाउँदै फुटपाथ ‘क्लियर’ पार्न थालेपछि सर्वसाधारण हर्षित

संवाददाता
बैशाख २२, २०८०

हेटौंडा– बजार क्षेत्रको अतिक्रमित संरचना हटाइरहेको र निकट भविष्यमै नगरको मुख्य सडक २५–२५ मिटर भत्किने चर्चाले हेटौंडा उपमहानगरपालिकामा गर्माएको छ ।

नगरका चोकचौतारी, चिया अड्डामा सडकको दायाँबायाँ २५–२५ विस्तारको चर्चाले प्रवेश पाइरहँदा उपमहानगरपालिका भने डोजर लिएर बजार क्षेत्रका अतिक्रमित संरचना हटाउन लागिपरेको छ । मंगलबारदेखि फुटपाथ ओगटेर पसलका सामान राख्ने व्यवसायीदेखि कानुनविपरित फुटपाथ छोपिने गरी टप निकाल्ने घरधनीलाई कानुनी उपचार गर्न उपमहानगरको नगर प्रहरी सक्रिय भइरहेको छ । बजार क्षेत्रमा व्यवसायीहरुले अस्थायी रुपमा घरसँगै जोडेर निर्माण गरेको टपहरु भत्काउन सुरु गरिएको हो ।

उपमहानगरका अहिले त्रिभुवन राजपथको चौकीटोल ओरालादेखि पूर्वपश्चिम राजमार्गको राप्तिरोड हेटौंडा अस्पताल अगाडिसम्म क्षेत्रमा व्यवसायीले राखेको अस्थायी टप निकाल्ने काम नगर प्रहरीले गरिरहेको हो । ५० मिटर सडक विस्तारको तयारीको रुपमा बुझ्न उपमहानगरपालिकाकी मेयर मीनाकुमार लामाले आग्रह गरेपछि यसले थप चर्चा बटुलिरहेको छ । बुधवार जिल्ला प्रशासन कार्यालयमा ५० मिटर सडक विस्तारलाई लिएर सर्वपक्षीय बैठकसमेत बसिसकेको छ ।

हरित र सुन्दर नगरीको रुपमा रहेको हेटौंडा बजार क्षेत्रमा रहेको राजमार्गको विस्तार नहुँदा बजारको स्वरुप थप बिग्रँदै गएकोले उपमहानगरले सडक विस्तारको पहिलो चरण अतिक्रमित संरचना हटाएर सुरु गरेको मेयर लामाले बताएकी छन् । व्यवसायीले आफ्नो व्यवसायको प्रवद्र्धनका लागि घरभन्दा बाहिर थपेको ‘अस्थायी टप’ उपमहानगरले हटाइरहेको हो । बजार क्षेत्रको हेटौंडा १, २, ४ र १० नम्बरमा रहेका पसल व्यवसायीले राखेको सामानको प्रचारका लागि घरसँगै जोडेर बनाएको अस्थायी टप हटाउने काम चलिरहँदा नगरबासीले भने उपमहानगर नेतृत्वलाई स्याब दिइरहेका छन् ।

अस्वाभाविक ढंगबाट फुटपाथ क्षेत्रलाई कब्जा गरी निर्माण गरिएको अस्थायी टप हटाउने काम जारी राख्न बजारमा आएका सर्वसाधारणको प्रतिक्रिया छ ।
साझाकुराले राप्तिरोड, मेनरोड, उद्योग वाणिज्य संघ चोक, कान्तिराजपथमा भेटिएका सर्वसाधारणसँग उपमहानगरले अतिक्रमित संरचना हटाएको र ५० मिटर सडक विस्तारको चर्चा बारे सोधेको थियो ।

३४ जना सर्वसाधारणसँग धारणा माग गर्दा अधिकांशले अतिक्रमित संरचना र फुटपाथ खाली गरिरहेको विषय अत्यन्तै प्रशंसनीय कार्य भएको प्रतिक्रिया दिएका छन् । मंगलबार मकवानपुरगढीबाट बजार आएलगत्तै उद्योग वाणिज्य संघमा उपमहानगरको डोजर देख्ने बित्तिक्कै आफू खुशी भएको गढी–५ का सुरेन्द्र हुमागाईंले बताए । ‘भिडियो तिर बालेनको डोजर कुदेको देखेका थियौं । अब हेटौंडामा पनि डोजर चल्ने भएछ भनेर मलाई धेरै खुशी लाग्यो । कानुनविपरित हिँड्ने जो कोहीलाई छोड्न मिल्दैन्’, उनले भने ।

हेटौंडा–१७, राजदेवीबाट आएकी पार्वती धमलालाई कान्तिराजपथमा फुटपाथ छोडेर सडकबाट हिँडिरहेको अवस्थामा प्रश्न गर्दा उनले रोष प्रकट गर्दै भनिन्, ‘भोट दिने नेताले केही हेर्दैनन् । यसरी फुटपाथ भरी सामान राखेपछि हामी सडकबाट नहिनेर कहाँबाट हिँडौं त,’ धमलालाई उपमहानगरले फुटपाथ खाली गराइरहेको बारे सोध्दा उनी हिँड्दाहिँड्दै रोकिएर हर्षित हुँदै भनिन्, ‘साँच्चै हो र ? डोजर चलेको रे भनेर सुनेको त हो । मलाई विश्वास चाहीँ थिएन । यसरी फुटपाथ भरी सामान राख्न दिनु भएन नी । हामीलाई सडकबाट हिँड्दा गाडीले केही ग¥यो भने उल्टै हामीलाई नै गाली गर्छन् । सोझासाझाले जे गरे पनि गल्ती हुन्छ यहाँ’, उनले दुःखेसो पोखिन् ।

हुमागाई र धमला मात्र हैन धेरैले अतिक्रमित संरचना हटाएको र फुटपाथ ‘क्लियर’ गरिरहेको सूचनाबाट हर्षित भए । उनीहरुले केही दिन तर्साएको जस्तो गरेर नछोड्न उपमहानगर नेतृत्वसँग अनुरोध पनि गरेका छन् । हेटौंडामा २०७४, २०७५ सालदेखि नै फुटपाथ व्यवस्थापन गर्ने उद्देश्यले नगर प्रहरी अगाडि बढेका थिए ।

तर, व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघको दबाबमा फुटपाथ व्यवस्था हुन सकेको थिएन् । नगर क्षेत्रमा पार्किङ व्यवस्थापन पनि उचित ढंगबाट हुन सकेको छैन् । हेटौंडाका व्यवसायीहरुले स्थानीय सरकारसँग पैदलयात्रीको समस्यामा नजरअन्दाज गर्दै फुटपाथमा सामान राखेर ग्राहक तान्न पाउनुपर्ने, व्यवसाय अगाडि सवारीसाधन पार्किङ क्षेत्र तोक्न नहुनेलगायतका माग राख्दै आएका थिए ।

व्यवसायीहरुको दबाबबाट उपमहानगर पछाडि हट्ने गरेको विगतलाई भने मेयर लामाले नजिकबाट नियालेकी छन् । तत्कालीन समयमा उपमेयर हुँदा लामा व्यवसायीहरुको अनुचित माग बारे पूर्ण जानकार थिइन् । उनी अतिक्रमित संरचना हटाउने र फुटपाथ व्यवस्थापनमा पछि नहट्ने बताइरहेकी छन् । उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपानेले अतिक्रमित संरचना र फुटपाथ व्यवस्थापनमा कडाईका साथ अघि बढ्ने बताए ।

व्यवसाय सञ्चालनका लागि सबैलाई उचित वातावरण सृजना गर्न उपमहानगर तयार रहेको भन्दै नगरको सौन्दर्य नै बिग्रने गरी काम गर्न कसैलाई छुट नभएको बताए । पैदलयात्री हिँड्ने फुटपाथमा सामान राख्ने, व्यवसाय नै फुटपाथबाट चलाउन नपाइने र फुटपाथ अतिक्रमण गरेर संरचना बनाएमा हटाइने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*