हेटौंडा बसर्पाकबाट ४ बालश्रमिकको उद्दार
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडास्थित बसर्पाक क्षेत्रबाट बालश्रममा प्रयोग भइरहेका ४ जना बालबालिकाको उद्दार गरिएको छ ।बालमैत्री घोषणाको तयारीमा रहेको उपमहानगरले बुधवार बसर्पाकका होटलबाट कानुनविपरित श्रममा लागिरहेका बालबालिकाहरुको उद्दार गरेको हो ।
उपमहानगरको महिला तथा बालबालिका विकास महाशाखाले नगर क्षेत्रमा रहेका बालश्रमिकहरुको प्रारम्भिक तथ्यांक संकलन गरेपछि बुधवारबाट उद्दार तथा परिवारमा पुनःस्थापनाको कदम चालेको हो ।
कैलाश गाउँपालिका घर भई विगत १० महिनादेखि बसर्पाकस्थित डाँफे होटलमा काम गरिरहेका १५ वर्षीय बालकको उद्दार गरिएको छ । बलराम छिसिङ र दुर्गा छिसिङ दम्पतीका छोरा ती बालकले कक्षा–५ मा पढेर छोडेको उद्दारमा संलग्न सिबिन बालहेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिए ।डाँफे होटलबाटै भीमफेदी गाउँपालिका–६, माण्डु घर भएकी १५ वर्षीया बालिकाको उद्दार गरिएको छ ।
सर्पाकको धादिङ होटल एण्ड लजमा कार्यरत् धादिङको रोराङ गाउँपालिका घर भएकी १३ वर्षीया बालिकाको पनि उद्दार गरिएको सिबिनका ज्ञवालीले जानकारी दिए । गण्डकी होटल एण्ड लजबाट भीमफेदी–५ सुपिङ घर भएकी १५ वर्षीया बालिकाको पनि उद्दार गरिएको छ । ४ कक्षा पढेर छोडेकी ती बालिका होटलमा १ महिनादेखि काममा लागेको अनुगमन टोलीले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिकाको बालअधिकार समिति अन्र्तगत बालश्रम अनुगमन उपसमितिका सदस्य, जिल्ला प्रहरी कार्यालयकी निरीक्षक चुडाकुमारी खड्का, श्रम कार्यालयका भीम शर्मा, बाल हेल्पलाइनका झविन्द्र ज्ञवाली, नगर बालमैत्री सहजकर्ता, सिएससी नेपालका कल्याणी बस्नेत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, १० नम्बर वडाका जनप्रतिनिधि, महिला तथा बालबालिका सरोकार केन्द्र र टाइनी हेन्सका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले बालश्रमिकको उद्दारसँगै नगर क्षेत्रमा अनुगमन पनि गरेको छ ।
अनुगमन टोलीले मुन लाइट गेष्ट हाउस, बाइपास राम मन्दिर नजिकको महालक्ष्मी इन्जिनियर वर्कसप, दिपक अटो वर्कसपमा बालश्रम बारे निरीक्षण गरेको थियो । जसमा मनलाइन गेष्ट हाउसमा एक हप्ता अगाडि बालश्रम प्रयोग भइरहेको र हाल बालश्रम नरहेको पाइएको ज्ञवालीले जानकारी दिए । महालक्ष्मी इन्जिनियर वर्कसपमा सल्यान जिल्लाको करिब १६ वर्षीय बालक श्रममा भेटिएको तर, जन्मदर्ता नभएकाले उमेर यकिन गर्न कठिन, उमेर यकिन हुने कागजात पेश गर्न एक हप्ताको समय दिइएको ज्ञवालीले बताए ।
दिपक अटो वर्कसपमा बालश्रम रहेको फेला परेको छ । अनुगमन टोलीका अनुसार बालबालिकाहरु हाल बालहेल्पलाइन १०९८ को संरक्षणमा रहेका छन । उद्दार भएका बालबालिकाको उमेर, काम गरेको समय, उपलब्ध तलब, बालबालिका माथि दुव्र्यबहार तथा शोषण भए–नभएको परामर्श पश्चात जरिवान, क्षतिपुर्ति, बाँकी रहेको तलवको बारेमा पछि निर्णय हुने र बालबालिकाहरुलाई सम्बन्धित अभिभावक झिकाएर पुनःस्थापना गरिने भएको छ । बालश्रमिक उद्दारको कार्य जारी राख्ने उपमहानगरको महिला तथा बालबालिका विकास महाशाखाले जानकारी दिएको छ । नगरभित्र ६३ जना बालश्रमिक रहेको प्रारम्भिक तथ्यांक छ ।
पहिलो चरण १९ वटै वडामा प्रारम्भिक तथ्यांक संकलन गर्दा ६३ जना बालबालिकामा श्रममा भेटिएको उपमहानगरपालिको महिला तथा बालबालिका विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिइन् । सबैभन्दा बढी बालश्रमिक वडा नम्बर ४ मा ९ जना रहेका छन् । ४ नम्बर वडाभित्र होटल तथा रेष्टुरेन्ट र वर्कशप पनि धेरै रहेका छन् ।
उपमहानगरको प्रारम्भिक तथ्यांक अनुसार वडा नम्बर–६, १२ र १६ मा भने बालश्रमिक नभेटिएको प्रमुख लामिछानेले जानकारी दिइन् । बालश्रमिकहरुमा बालक ५५ जना र बालिका ८ जना रहेको उनको भनाई छ । कानुनतः १८ वर्षमूनिका बालबालिकालाई श्रममा लगाउन पाइँदैन् । तर, हेटौंडाका होटल तथा वर्कशपहरुले कानुनको धज्जी उडाउँदै बालश्रम प्रयोग गर्दै आइरहेका छन् ।
उपमहानगरको प्रारम्भिक तथ्यांकअनुसार ६३ जना बाल श्रमिकमा १७ वर्षका १४ जना, १६ वर्षका १३ जना, १५ वर्षका १५ जना, १४ वर्षका १३ जना, १३ वर्षका ५ जना र १२ वर्षका ३ जना छन् । उनीहरुमध्ये मकवानपुरका ३३ जना, बाहिर जिल्ला २२ र छिमेकी राष्ट्र भारतका ७ जना र एक जनाका विवरण नखुलेको बालश्रमिकहरु भेटिएको महिला तथा बालबालिका विकास महाशाखा प्रमुख लामिछानेले जानकारी दिएकी छन् ।
तथ्यांकअनुसार मोटर ग्यारेज वर्कशपमा काम गर्ने बालश्रमिकहरु २२ जना, रेष्टुरेन्ट, होटल र ब्याङ्कटेस १२, यातायात क्षेत्रमा १२, निर्माण ढुवानीमा ७ जना, घरायसी काममा तीन जना, कवाडी र फ्याक्ट्रीमा २÷२ जना र अन्यमा ३ जना रहेको पाइएको छ ।