हेटौंडामा विराट ज्ञान महायज्ञ सुरु

संवाददाता
२०८० बैशाख २१, बिहीबार १४:४१

हेटौंडा– हेटौंडामा पञ्चवर्षीय विराट ज्ञान महायज्ञको बुधबारबाट सुरु भएको छ । १ वैशाखदेखि ६ दिनसम्म गर्ने भनिएको महायज्ञ २० वैशाखबाट सुरु भएको हो ।

महायज्ञको पहिलो दिन कलश यात्रापछि महायज्ञको सुरुवात गरिएको गोरक्षेश्वर विकास समितिका अध्यक्ष एवम् संरक्षक अजयराज सुमार्गीले जानकारी दिए । हरेक ५ वर्षको अन्तरालमा बैशाख १ गते नयाँ वर्षबाट महायज्ञ यसअघि २०६० साल २०६५ साल २०७० साल २०७५ सालमा आयोजना गरिएको थियो । महायज्ञ शुभारम्भ समारोहमा बोल्दै पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले विराट् महायज्ञ मौलिकता संरक्षणतर्फको सर्वोत्तम कार्य भएको टिप्पणी गरे ।

हाम्रो देशको मौलिकता संरक्षण गर्नका लागि आवश्यक परे संविधान संशोधन गर्न पनि ठूला दल तयार हुनुपर्ने उनले बताए । ‘संविधानलाई संशोधन गरेन भने कुरुप हुन्छ, मौलिकता संरक्षणका लागि आवश्यक प¥यो भने संविधान संशोधन पनि गर्नुपर्छ’, पराजुलीले भने ।

कार्यक्रमका राप्रपा प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले आफूहरु नेपाललाई बौद्धिक धर्मसहितको धार्मिक राष्ट्र बनाउन कम्मर कसेर लागेको उल्लेख गर्दै सबैलाई साथ दिन अपिल गरे । यस्तै मकवानपुर–१ बाट निर्वाचित राप्रपाका संघीय सांसद दिपकबहादुर सिंहले धर्म, परम्परा, संस्कार र रितिरिवाजलाई बेवास्ता गरेर कुनैपनि मुलुक अघि बढ्न नसक्ने धारणा राखे ।

उनले धर्मसंस्कृतिको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गरे । राष्ट्रियसभाका पूर्वसदस्य रामनारायण बिडारीले राजनीतिभन्दा धर्मको क्षेत्र फराकिलो हुने तर्क गरे । महायज्ञ मूल आयोजक समितिका संयोजक अजेयराज सुमार्गीले धार्मिक र अध्यात्मिक जागरणका लागि पञ्चवर्षीय महायज्ञ आयोजना गरिएको बताए ।

महायज्ञमा पितृको सम्झनामा करोडौँ दीप प्रज्वलन गर्नुका साथै महाआरती एवं महिलाबीच मात्रै गीता वाचन प्रतियोगिता पनि गरिनेछ । महायज्ञ अनन्त श्रीविभुषित स्वामी कमलनयनाचार्यको प्रमुख संरक्षकत्व र वैदिक दर्शनका व्याख्याता अग्निहोत्री डा।सीताराम खनालको अभिभावकत्वमा सञ्चालन हुने महायज्ञमा करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यबाट भक्तिसंगीतमय श्रीमद्भागवत कथा प्रवचन हुनेछ ।

महायज्ञमा विभिन्न धर्म संस्कृतिका आचार्य गुरुहरु, सामाजिक व्यक्तिहरु एनआरएनसँग सम्बन्धित राष्ट्रिय÷ अन्तर्राष्ट्रिय व्यक्तिहरु, समाजसेवी, बुद्धिजीवी, प्राध्यापक, शिक्षक, उद्योगपति, व्यवसायीलगायत नेपालका अन्य जिल्लाबाट समेत विशिष्ट व्यक्तिहरुको सामुहिक उपस्थिति रहने सुमार्गीले जानकारी दिए ।

महायज्ञ हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समिति परिसरमा २६ वैशाखसम्म आयोजना हुनेछ । बुधबारको खैजडी भजन, डाण्गिया नृत्य, झाँकीसहित अभुतपुर्व अलौकिक शान्तिशोभा कलशयात्रा गरिएको थियो । बैशाख २१ गते बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रनाम पाठ, होमहोमादी, विश्वस्तुति, ८ बजे मण्डव पुजन तथा पाठ पाठपारायण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, महाआरती, ५ बजेदेखि खैंजेडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजन कीर्तन हुनेछ ।

बैशाख २२ गते तेश्रो दिन बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रहनाम पाठ, शिवस्तुति, ८ बजे मण्डप पुजन तथा पाठपारायण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म खैँजडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजन किर्तन हुने जनाएको छ । बैशाख २३ गते बिहान सबैकार्य पुर्ववत दिवकार्य पुर्ववत् अपरान्ह ३ बजे विश्वशान्तिको कामना सहित बाजागाजाका साथ नगरपरिक्रमा बुद्धचोक हेडम्बीचोक, मानसचोक, संगमचोक, कान्तिराजपथ हुँदै शीतल महलचोक, मेनरोड भुटनदेवी चोक हुँदै अखण्ड हरिकिर्तन चोकमा दीप प्रज्वलन साँझको कार्यक्रम गरिने कार्यतालिका रहेको छ ।

त्यसैगरी, बैशाख २४ गते बिहान ५ बजे वेदध्वनि, विष्णुसहस्रनाम पाठ, शिववस्तुति, ८ बजे ब्रतवन्ध कार्यक्रम तथा पाठपारायण, १२ बजे सामूहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, महाआरती, ५ बजेदेखि खैँजेडी भजन प्रतियोगिता, ६ बजेदेखि ८ बजेसम्म भजनकिर्तन हुने जनाएको छ । बैशाख २५ गते बिहान ५ बजे वेदध्वदिन, विष्णुसहस्रनाम पाठ, शिवस्तुति, ८ बजे मण्डप पुजन तथा पाठपाराण, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्तिसंगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, साँझ ६ बजे राप्तीतटमा सवा ५ बजे दीपप्रज्वलन हुनेछ भने महायज्ञको अन्तिम दिन बैशाख २६ गते बिहान ७ बजे कथावाचन, ११ बजे तिलार्चना, पुर्णाहुति, समापन कार्यक्रम, पुरस्कार वितरण सामुहिक भोजनसहित विदाई कार्यक्रम हुने आयोजक समितिका महासचिव ह्याग्रीव आचार्यले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*