हेटौंडामा बालश्रमिक ६३ जना मात्रै ?

हेटौंडा– जिल्लाका १० वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै बालश्रमिक हेटौंडामा भेटिन्छन् । ठूलो सहरी क्षेत्र भएकाले पनि बालश्रम बढी हेटौंडामा हुने गरेको विगतकै अध्ययनले देखाउँछ ।
बालश्रम व्याप्त रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी मंसिरमा बालमैत्री स्थानीय शासन अबलम्बन गरेको स्थानीय तहको रुपमा घोषणा गर्ने तयारी गरेको छ । बालमैत्री उपमहानगरको सूचिमा पर्ने तयारी गरेको हेटौंडाले टोलटोलमा र विद्यालयसम्म बालमैत्री अभियान पु¥याउनेदेखि बजार क्षेत्रमा देखिएको बालश्रम समस्या समाधानमा जोडका साथ काम गरिरहेको छ । बालमैत्री घोषणा पूर्व काम गर्नुपर्ने ५१ वटा सूचकमध्ये बालश्रम तथा बालविवाह उपमहानगरलाई टाउको दुखाई बनिरहेको छ ।
बजारका होटल, रेष्टुरेन्ट, वर्कशपलगायतका व्यवसायिक क्षेत्रमा धेरै बालश्रमिक छन् । उपमहानगरपालिकाको महिला तथा बालबालिका विकास महाशाखाले बालमैत्री अभियानकै क्रममा नगर क्षेत्रभित्र ६३ जना बालबालिका श्रममा रहेको प्रारम्भिक तथ्यांक निकालेको छ । १९ वटै वडा कार्यालयको समन्वय लिइएको बालश्रमिकहरुको तथ्यांकप्रति भने कतिपयले आशंका व्यक्त गरेका छन् ।
बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सिविन बालहेल्पलाईन नेपाल मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले बालश्रमिक १ सयको हाराहारीमा हुनुपर्ने बताए । उपमहानगरले प्रारिम्भक तथ्यांकअनुसार ६३ जना मात्रै बालश्रमिक भेटिए पनि अध्ययन जारी राख्ने भएको छ ।
उपमहानगरपालिकाले सिविन नेपालसँगको समन्वयमा तथ्यांक संकलनदेखि बालश्रमिकको उद्दारको काम गरिरहेको छ । ज्ञवालीले हाल अध्ययन गर्दा ६३ जना मात्रै बालश्रमिक भेटिएको र १ सय जनाको हाराहारीमा हुनुपर्ने बताए । उनकाअनुसार विगतमा पनि हाल बालश्रम घटेको जानकारी दिए । ‘हेटौंडामा पहिला जस्तो बालश्रम धेरै छैन् । अहिले घटेको पाइन्छ ।
तर, बालश्रमिकको तथ्यांक १ सयको हाराहारीमा हुनुपर्छ । थप अध्ययन पनि हुँदैछ ।’, ज्ञवालीले भने । हेटौंडा उपमहानगरपालिकामा रहेका बालश्रमिकहरुको प्रारम्भिक तथ्यांक अनुसार ६३ जना बालबालिका श्रममा रहेको पाइएको हो ।
पहिलो चरण १९ वटै वडामा प्रारम्भिक तथ्यांक संकलन गर्दा ६३ जना बालबालिकामा श्रममा भेटिएको उपमहानगरपालिको महिला तथा बालबालिका विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिइन् । सबैभन्दा बढी बालश्रमिक वडा नम्बर ४ मा ९ जना रहेका छन् ।
४ नम्बर वडाभित्र होटल तथा रेष्टुरेन्ट र वर्कशप पनि धेरै रहेका छन् । सरोकारवालाहरुको भनाईअनुसार ४ नम्बर वडामा ९ मात्र नभई धेरै बालश्रमिक हुनुपर्ने हो । उपमहानगरको प्रारम्भिक तथ्यांक अनुसार वडा नम्बर–६, १२ र १६ मा भने बालश्रमिक नभेटिएको प्रमुख लामिछानेले जानकारी दिइन् । बालश्रमिकहरुमा बालक ५५ जना र बालिका ८ जना रहेको उनको भनाई छ ।
कानुनतः १८ वर्षमूनिका बालबालिकालाई श्रममा लगाउन पाइँदैन् । तर, हेटौंडाका होटल तथा वर्कशपहरुले कानुनको धज्जी उडाउँदै बालश्रम प्रयोग गर्दै आइरहेका छन् । विगतमा उपमहानगरबाट बालश्रम नियन्त्रणका लागि धेरै पटक अनुगमन भएपनि प्रभावकारी कारबाही हुन नसक्दा बालश्रम हट्न सकेको थिएन् ।
बालश्रमिकलाई उद्दार गर्ने र बालबालिकलाई श्रममा लगाउनेलाई कडा कारबाही नहुँदा परिवारमा पुनःस्थापित भएका बालबालिकाहरु फेरि श्रम बजारमै पुग्ने गरेका थिए । विगतमा सरकारी निकायले बालश्रम नियन्त्रण अभियानलाई कर्मकाण्डी मात्रै बनाउँदा बालबालिकाहरु श्रममा आउने बाध्यता थियो ।
उपमहानगरको प्रारम्भिक तथ्यांकअनुसार ६३ जना बालश्रमिकमा १७ वर्षका १४ जना, १६ वर्षका १३ जना, १५ वर्षका १५ जना, १४ वर्षका १३ जना, १३ वर्षका ५ जना र १२ वर्षका ३ जना छन् । उनीहरुमध्ये मकवानपुरका ३३ जना, बाहिर जिल्ला २२ र छिमेकी राष्ट्र भारतका ७ जना र एक जनाका विवरण नखुलेको बालश्रमिकहरु भेटिएको महिला तथा बालबालिका विकास महाशाखा प्रमुख लामिछानेले जानकारी दिएकी छन् ।
तथ्यांकअनुसार मोटर ग्यारेज वर्कशपमा काम गर्ने बालश्रमिकहरु २२ जना, रेष्टुरेन्ट, होटल र ब्याङ्कटेस १२, यातायात क्षेत्रमा १२, निर्माण ढुवानीमा ७ जना, घरायसी काममा तीन जना, कवाडी र फ्याक्ट्रीमा २÷२ जना र अन्यमा ३ जना रहेको पाइएको छ ।
तथ्यांक संकलनको क्रममा बालश्रमिकहरुमध्ये ५२ जनाले हाल गरिरहेको कामलाई नै भविष्यको योजना बनाएका छन् भने ६ जनाले पढ्न चाहेको र ५ जनाले सीप सिक्न चाहेको बताएका थिए । उनीहरुमध्ये २८ जनाले कमाएको पैसा घरमा पठाउने गरेको, १६ जनाले पारिश्रमिक नपाउने र गरेको, ९ जनाले आफुलाई मात्र खर्च गर्ने गरेको, ९ जनाले कमाइएको प्रयोग नखुलाएको र एक जनाले धुम्रपान÷मद्यपानमा खर्चने गरेको जनाएको छ ।
तथ्यांकअनुसार बालश्रमिकहरुले काम वापत न्यूनतम खान बस्नदेखि अधिकतम मासिक १५ हजार पारिश्रमिक पाउने गरेको बालबालिका बताउँछन् ।हेटौंडा उपमहानगरले वडावडामा बालसहजकर्ता राखेर बालबालिका सम्बन्धी सुचकहरुमा तथ्यांकहरु संकलन गरिरहेको छ ।
महाशाखा प्रमुख लामिछानेले आज बुधवारदेखि श्रममा रहेका बालबालिकाहरुको उद्दार गरिने जानकारी दिइन् । महानगरले बालश्रमिकको उद्दार गर्ने र उनीहरुलाई श्रम बजारमा फेरि आउन नदिन उपमहानगरले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।