पुल भासिएपछि हेटौंडाको बाटो प्रयोग गर्न अनुरोध
हेटौंडा– पृथ्वी राजमार्गको नौबिसे मुग्लिन खण्डमा यातायात अवरुद्ध भएको छ । संघीय राजधानी काठमाडौंसँग जोड्ने प्रमुख राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।
धादिङको थाक्रे गाउँपालिका र धुनिवेंसी नगरपालिका जोड्ने गणेशखोलाको पुल भासिँदा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ । सोमबार रातिसम्म पनि यातायात सञ्चालन हुन सकेको छैन ।
पुल नै भासिएपछि ट्राफिक प्रहरी कार्यालय धादिङले हेटौंडा–पालुङ–नौबिसे सडक खण्डअन्तर्गत्को त्रिभुवन राजपथ प्रयोग गर्न सवारीसाधनलाई अनुरोध गरेको छ । यसअघि पनि पृथ्वीराजमार्ग अवरुद्ध हुँदा काठमाडौं जाने सवारीसाधनहरु त्रिभुवन राजपथबाट सञ्चालन हुने गरेका थिए ।
सोमबार दिउँसो वर्षा भएपछि पुलको धुनीबेंसी पट्टीको भाग भासिएको थियो । दिउँसो केही समय एकातर्फी भएको सवारी आवागमन दिउँसो ४ बजेदेखि पूरै सडक भासिएर आवागमन नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए ।
भासिएको पुलसँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेको थियो । नयाँ पुल निर्माणका लागि पुल छेउमा केही समयदेखि खनिएको थियो । राजमार्ग अवरुद्ध भएपछि साना सवारीसाधनलाई कच्ची सडक प्रयोग गरी आवागमन गरिएको छ । ट्राफिक प्रहरीले काठमाडौं नुवाकोट गल्छीको बाटो प्रयोग गर्न पनि अनुरोध गरेको छ ।