वडा अध्यक्षकै घरबाट गाँजा बरामद, एकाघरका तीन जना पक्राउ

संवाददाता
बैशाख १९, २०८०

हेटौंडा– विशेषतः मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा व्यावसायिकरुपमै अवैध गाँजा तथा अफिम खेती हुने गरेको छ । कानुनले बर्जित गरेको गाँजा खेती नियन्त्रणमा जनप्रतिनिधिदेखि सरोकारवालाले चासो नदिँदा राक्सिराङ र कैलाशका धेरै युवा तथा बृद्धहरु भीमफेदीलगायत कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

तरकारी खेती गर्नुपर्ने बारीका पाटामा मकैभित्र लुकाएर लगाइने गाँजा खेतीले धेरैको परिवार नै उझाडिएको घटना जिल्लामा छन् । अवैध गाँजा खेतीलाई निरुत्साहित गर्नुपर्नेमा मकवानपुरमा निर्वाचनका बखत गाँजा खेतीलाई कानुनी मान्यता दिलाउने आश्वासनले सोझासाझा नागरिकहरु जेलको हावा खान विवश छन् ।

तस्करी र माफियाहरुको बनावटी जालसाझीमा परी गाँजा खेती र ओसारपसारमा राक्सिराङ र कैलाशका धेरै सोझासाझा युवा तथा बृद्धहरु जेल जीवन बताइरहेको घटना नयाँ भने हैन । तर, मकवानपुरमा जनतालाई गाँजा खेती र ओसारपसारमा नलाग्न सचेतना फैलाउनुपर्ने जिम्मेवार तहका वडा अध्यक्ष नै गाँजा कारोबारको आरोपमा पक्राउ परेका छन् ।

जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–७ का वडा अध्यक्ष शिवराज थिङ सोमबार गाँजासहित घरबाटै पक्राउ परे । शिवराजसहित एकाघरका तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार वडाध्यक्ष थिङसहित भीमलाल थिङ र इन्द्रबहादुर थिङ पक्राउ परेका छन् ।

तीनै जना एउटै परिवारको रहेको खुलेको छ । भीमलाल वडाध्यक्ष शिवराजको बाबु हुन् भने इन्द्रबहादुर नातामा काका पर्छन् । थाहा–७, आग्रा घर भएका वडाध्यक्ष शिवराम ३९ वर्षका हुन् भने उनका बाबु ७६ र काका इन्द्रबहादुर ६७ वर्षका भए ।

शिवराज गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले नेकपा माओवादी केन्द्रका बिनायक गोलेलाई झिनो मतान्तरले पराजित गरेका थिए । १२ मतान्तरले मात्रै वडाध्यक्ष बनेका उनले नौ सय १६ मत पाउँदा बिनायकले नौ सय ४ मत ल्याएका थिए ।

सोमबार बिहान ८ बजेको समयमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक उमेशप्रसाद कोइरीको कमान्डमा खटिएको संयुक्त टोलीले शिवराजको घरबाट र इन्द्रबहादुरको घरबाट गरेर २ सय २ किलो लागूऔषध गाँजा र धुलो बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले उनीहरुलाई पालुङ ईलाका प्रहरी कार्यालयमा ल्याएर राखिएको जानकारी दिए । घरमा लागूऔषध गाँजा बिक्री वितरण गर्ने उद्देश्यले लुकाएर राखेको अवस्थामा प्रहरी टोलीले बरामद गरेको डीएसपी कार्कीले जानकारी दिए ।

शिवराजको घरबाट ३० वटा पोकामा २७ किलोग्राम गाँजाको धुलो र ईन्द्रबहादुरको घरबाट १० वटा बोरामा एकसय ७५ किलो लागूऔषध गाँजा गरी कूल दुईसय २ किलो लागूऔषध गाँजा तथा धुलो फेला पारिएको कार्कीले बताए ।

कोरोना कहरको मौकामा मकवानपुरको दुर्गम बस्तीहरुमा गाँजा खेती बढ्दै गएको थियो । गाउँका व्यापारी एवम् तस्करहरुको उक्साहट र लगानीमा जिल्लाका पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ र कैलाश गाउँपालिकाका अधिकांश भागमा गाँजा रोप्ने क्रम कोरोना कहरमा बढेको हो । त्यसयता स्थानीयले गाँजा खेतीलाई नरोकेको जानकारी प्रहरी कार्यालयसँग छ ।

कोरोना कहरपछि मात्रै प्रहरीले पटक–पटक गाँजा तथा अफिम खेती फँडानी गर्दै आइरहेको डीएसपी कार्की बताउँछन् । उनले चालू आर्थिक वर्ष २०७९–०८० को चैत मसान्तसम्म मात्रै लागूऔषध मुद्दामा पक्राउ परेकामध्ये ७० प्रतिशत राक्सिराङ, कैलाश र हेटौंडा उपमहानगरका हुने गरेको जानकारी दिए । प्रहरी हिरासतमा रहेका ५९ जनामध्ये ६० प्रतिशत लागूऔषध ओसारपसारका आरोपित छन् ।

२०७४ मा स्थानीय तह निर्वाचन भएपछि प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिहरुको संयुक्त प्रयासमा मकवानपुरमा गाँजा खेतीलाई न्युनिकरण गर्दै लगिएको थियो । कैलाश र राक्सिराङका जनप्रतिनिधिहरुले पालिकालाई गाँजामुक्त क्षेत्र बनाउन विभिन्न किसिमका विकास निर्माणका काम र गाँजा खेती नगर्नका लागि दबाबमूलक अभियान पनि चलाएका थिए ।

स्थानीय प्रशासनले गाँजा र अफिमका बोटहरु फाँड्नका लागि पटक–पटक प्रहरी परिचालन पनि गरेको थियो । जसकारण विगत वर्षमा गाँजा र अफिम खेती गर्ने र गर्न लगाउनेहरु निरुत्साहित भएका थिए । तर, कोरोनाका कारणले सबै खाले मानिसहरु घर÷घरमा थन्किनुको साथै आर्यआर्जन अवरुद्ध भएकाले आम्दानीको निम्ति गाँजा खेती गर्न थालेको बताइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*