चुरियामाई सुरुङमार्ग पुनःनिर्माण अन्तिम चरणमा

हेटौंडा– दक्षिण एसियाकै पहिलो सुरुङमार्गको रुपमा ब्याख्या गरिएको चुरियामाई सुरुङको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ ।
हेटौंडा उपमहानगरपालिका र बारा जिल्लासम्म सीमा जोडिने चुरियामाई मन्दिरमा बनाइएको सुरुङ भग्नावशेष थियो ।
बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक चुरियामाई सुरुङको पुनःनिर्माण थालेका थिए । २०७८ साउनमा थालिएको पुनःनिर्माण २०८० वैशाखसम्म आइपुग्दा अन्तिम चरणमा पुगेको हो । १०६ वर्ष पुरानो सुरुङ पुनःनिर्माण गर्न प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत्को यातायात पूर्वाधार निर्देशनालयले माउण्टेन इन्फ्रा कम्पनीसँग ३ करोड ३६ लाख १३ हजार रुपैयाँको लागत सम्झौता गरेको थियो ।
श्री ३ चन्द्रशम्शेरको पालामा वि.सं. १९७४ सालमा नेपाली सेनाका इञ्जिनियर डिल्लीजंग थापाले सुरुङमार्ग निर्माण गरेका थिए । सुरुङ नेपाली प्रविधि प्रयोग गरेर थापाले निर्माण गराएका थिए । करिब ५ सय मिटर लामो सुरुङ मकवानपुरतर्फबाट प्रवेश गरेर बारा पुगिन्थ्यो ।
त्यतिबेला भारतबाट भीमफेदीहुँदै काठमाडौं पु¥याउने साना सवारीसाधन ल्याउन सुरुङ बनाइएको थियो । प्रजातन्त्र पुनःस्थापनापछि त्रिभुवन राजपथ बनेर ठूला–ठूला सवारीसाधनहरु भित्रिएपछि सुरुङ छेउैबाट चुरे पहाड फोडेर सडक बनाइएको थियो । सडक निर्माण भएपछि सुरुङ प्रयोगमा आएन र लामो समयदेखि सुरुङ भग्नावशेष भई रहेको थियो ।
भग्नावशेष सुरुङलाई पुरानै अवस्थामा ल्याउन प्रदेश सरकारले काम गरिरहेको हो । सुरुङको पुनः निर्माण २०७९ वैशाखसम्म सक्ने भनिएता पनि पटक–पटक म्याद थपेर हालसम्म काम अन्तिम चरणमा पुगेको जनाइएको छ । पछिल्लो पटक थपिएको म्याद १९ वैशाखसम्म छ ।
१९ वैशाखसम्म काम पूर्णरुपमा नसकिने भएकाले कानुन अनुसार पुनः म्याद थपेर जेठसम्म काम सक्ने लक्ष्य लिइएको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका इञ्जिनियर एवम् प्रवक्ता हरिप्रसाद ओझाले जानकारी दिए । सुरुङको ७÷८ मिटर खन्न बाँकी रहेको हुँदा जेठसम्म काम सम्पन्न हुने ओझाले बताए । सुरुङ निर्माण कार्यमा हाल ७ जना कामदार खटिएका छन् ।
सुरुङको चौडाइ २ मिटर ७० सेन्टिमिटर तथा उचाई ३ मिटर ३० सेन्टिमिटर रहेको यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता ओझाले बताए । उनले सुरुङलाई पुरानै स्वरुपमा ल्याउने बताए । सुरुङमार्गको दूरी घटेर दुईसय १५ मिटर रहने ओझाको भनाइ छ । मकवानपुरतर्फको सुरुङको प्रवेशद्वारालाई सडक बिस्तारको सम्भावनाले भित्र लगेको देखिन्छ ।
बारातर्फको प्रवेशद्वार भने पुरानै अवस्थाको हुने जनाइएको छ । पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुंगा राखिएको छ, खोपाहरु कुँदिएका छन् । सुरुङमार्ग पुनःनिर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागिसमेत खुला गरिने जनाइएको छ ।