उपमहानगरका दुई वडामा महिलालाई गार्मेन्ट तालिम

संवाददाता
बैशाख १६, २०८०

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले गाउँमै बसेर रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले नगरको दुई वडामा गार्मेन्ट तालिम सञ्चालन गर्ने भएको छ ।

पहिलो चरणमा बेसिक र दोश्रो चरणमा एड्भान्स तालिम सञ्चालन गर्दै घरमै बसेर रोजगार बन्ने अवसर उपमहानगरपालिकाले दिन थालेको हो । शुक्रबार पहिलो चरणमा हेटौंडा–५ पिप्लेमा सञ्चालन भएको एक महिने बेसिक तालिमको समापनमा उपमहानगरका नगर प्रमुख मिनाकुमारी लामाले रोजगारीको अवसरबाट बिमुख भएका महिलाहरुलाई आयआर्जनमा जोड्नका लागि काम गरिरहेको बताइन् ।

उनले तालिम लिनेमात्र नभई सीपलाई आयआर्जनको पाटोमा जोड्नका लागि आवश्यक सहजीकरण उपमहानगरले गर्ने बताइन् । ज्ञानलाई उत्पादनसँग जोडेर काम गर्न लामाको सुझाब छ ।

तालिममा सहभागीलाई आवश्यक उपकरण र कच्चापदार्थका लागि उपमहानगरले सकेको व्यवस्थापन मिलाउने उनले विश्वास दिलाएकी छन् । लामाले अब हेटौंडा–१८ मा गार्मेन्ट तालिम सञ्चालनको तयारीमा उपमहानगर रहेको जानकारी दिइन् । पहिलो चरणको बेसिक तालिम लिएका १० जना महिलाहरुका लागि आवश्यक पर्ने मेसिनको व्यवस्थापन उपमहानगरले गर्ने भएको छ ।

तालिम लिएकाहरुलाई अहिलेको लागि आवश्यक रहेको ७ वटा मेसिनमध्ये तालिमको क्रममा खरिद गरेका ४ वटा रहेको र बाँकी ३ वटा मेसिन उपमहानगरले दिने भएको छ । पहिलो चरणको बेसिक तालिममा सहभागीले सर्ट, पाइन्ट र फ्रक सिलाउन सिकेका थिए ।

बेसिक तालिममा सहभागीलाई उपमहानगरले जेठ महिनामा एड्भान्स तालिम आयोजना गर्दै उनीहरुलाई दक्ष सीपयुक्त व्यक्ति बनाउने बताइएको छ । उनीहरुले एड्भान्स तालिम सञ्चालन नभएसम्मका लागि खोपेगल्लीमा रहेको जय प्रकृति सिलाई प्रशिक्षण केन्द्रमा निःशुल्क सीप सिक्ने व्यवस्था केन्द्रका सञ्चालक मेनुका श्रेष्ठले दिएकी छन् ।

अहिले लिएका तालिमबाट उनीहरुले रेडिमेट सर्ट, पाईन्ट र फ्रक बनाउन सक्ने बताइएको छ । बेसिक गार्मेन्ट तालिमको समापनमा उपमहानगरपालिकाका बिज्ञ सल्लाहकार कृष्ण घिताल, सहकारी तथा उद्योग विकास शाखाका हीमप्रसाद पौडेल, बेसिक तालिमका प्रशिक्षक अनुज परियार, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष जितेन नेपालीको आतिथ्यता थियो ।

तालिम समापनका क्रममा उपमहानगरले रोगजारीको अवसर सृजना गर्नका लागि हेटौंडा–१७ का उर्मिला सुनारलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । सिलाई कटाईको सीप भएपनि मेसिनको अभावमा रोजगारीमा जोडिन नसकेकी उनलाई नगर प्रमुख मिनाकुमारी लामाले हस्तान्तरण गरेकी हुन् । उपमहानगरले आयआर्जनमा जोड्न १३ हजार छसय रुपैयाँ बराबरको मेसिन सुनुवारलाई प्रदान गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*