बकैयामा बालअधिकार प्रशिक्षक प्रशिक्षण तालिम

संवाददाता
बैशाख १४, २०८०

हेटौंडा– मकवानपुरको दोस्रो बालमैत्री गाउँपालिका घोषित बकैयामा बालअधिकारसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम भएको छ ।तालिममा उपस्थित सरोकारवालाले बालअधिकारको संरक्षण गर्न सबै निकाय एकताबद्ध भएर अभियानमा जुट्नुपर्नेमा जोड दिएका छन् ।

बकैया गाउँपालिकाको आयोजनामा भएको बालअधिकारका विषयमा प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले गरेका छन् ।

तालिम एक हप्तासम्म सञ्चालन हुनेछ । गाउँपालिका अध्यक्ष लामिछानेले १८ वर्षसम्मका बालबालिकाको बालसंरक्षण, विकास, सहभागिता र बालबचाउका हरेक सवालमा भूमिका निर्वाह गर्ने दायित्व सबैमा रहेको बताए । गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले पालिकाभित्र बढ्दो बालविवाहका सवालमा फरक ढंगले अघि बढ्नु पर्ने र बालबालिकामा बढ्दो दुव्र्यसनीका विषयमा चिन्ता प्रकट गरेका थिए ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले प्रशिक्षक प्रशिक्षण तालिमले स्थानीय तहमै बालअधिकारका विषयमा सहजकर्ता उत्पादन गर्ने विश्वास रहेको बताए ।

कार्यक्रममा सहजकर्ता राष्ट्रिय बालसंरक्षण मञ्चका अध्यक्ष प्रकाश खतिवडा, बकैया कार्यपालिका सदस्य लक्ष्मी माझीलगायतको उपस्थिति थियो ।

बकैया वडा नम्बर–३ अध्यक्ष भुवन सिं घलानको सभाध्यक्षता भएको कार्यक्रममा सामाजिक विकास इकाई प्रमुख होमकुमारी सञ्जेलले सहभागीलाई स्वागत गर्दै तालिमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् । तालिममा जनप्रतिनिधि, कर्मचारी, बालमैत्री सहजकर्ता गरी २० जना सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*