हेटौंडालाई विकास गर्न पहिला गन्तव्य निर्धारणको सुझाव
हेटौंडा उपमहानगरपालिकाले पहिलोपटक नगरको विकासका सन्दर्भमा सरोकारवालासँग अन्र्तक्रियात्मक गोष्ठी गरेको छ । करिब एक वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनाव जितेर पाँच वर्षका लागि उपमहानगरको नेतृत्व सम्हाल्न आएकी मेयर मीनाकुमारी लामाले शुक्रबार सबै क्षेत्रका सरोकारवालासँग उपमहानगरको व्यवस्थित विकासका लागि सुझाव मागेकी हुन् । गोष्ठीमा सहभागीहरुले उपमहानगरको व्यवस्थित विकासका लागि पहिला लक्ष्य र गन्तव्य निर्धारण गर्न सुझाव दिएका छन् ।
उपमहानगरलाई कस्तो बनाउने र विकासको कुन मोडलबाट अगाडि बढ्ने रु भन्नेमा उपमहानर नेतृत्व पहिला स्पष्ट हुनुपर्ने गोष्ठीमा सहभागीहरुले बताएका छन् । हेटौंडालाई औद्योगिक सहर, पर्यटन, शिक्षा, स्वास्थ्य वा अन्य क्षेत्रमध्ये एउटा क्षेत्रलाई प्राथमिकतामा दिएर व्यवस्थित योजना बनाउनु पर्नेमा अधिकांशले जोड दिएका छन् । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका राजनीतिक दल, सामाजिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति थियो
प्रदेश प्रमुख शर्माले उपमहानगरलाई नागरिकले महशुस गर्न सक्ने गरी विकास गर्नुपर्ने बताए । पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट बिनियोजन गरेर समानुपातिक विकासको अवधारणा अपनाउनुपर्ने उनको भनाई छ । हेटौंडा उपमहानगरका पूर्वमेयर तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले विकास केलाई भन्ने बताउँदै विकासबारे बुझ्नुपर्ने बताए । सडक, पुल निर्माणलाई मात्रै विकास देख्न नहुने भन्दै शिक्षा, स्वास्थ्यलगायतका सामाजिक क्षेत्रमा गरिएको लगानीलाई पनि विकासको रुपमा लिनुपर्ने धारणा राखे ।
पूर्वाधार क्षेत्रको विकासलाई मात्रै विकास भन्नु गलत हुने पौडेलले भने । जनताको जीवनस्तर उकास्न र परिवर्तन ल्याउन नसक्ने भएमा पूर्वाधार बनाएर मात्रै विकास नहुने उनको भनाई छ । पौडेलले सर्वप्रथम हेटौंडाको गन्तव्य निर्धारण गर्नुपर्ने बताए । विगतमा नगरको विकास गन्तव्य एउटा, कार्यान्वयन अर्कैतिरबाट भएको भन्दै व्यवस्थित विकास हुन नसकेको उनले बताए । उपमहानगरको ९५ प्रतिशत नीति कार्यक्रम कार्यान्वयन हुन नसकेको पौडेलको दाबी थियो ।
उपमहानगरको विकास चाहने हो भने बिनियोजित बजेटको प्रतिफलर उपलब्धी निर्धारण गर्नुपर्ने बताए । आवश्यकताका आधारमा बजेट बिनियोजन गर्नुपर्ने भएपनि वास्तविकतामा त्यस्तो नभएको उनको जिकिर छ । उनले परिणाम नआउने ठाउँमा बजेट, श्रम र समय खेर नफाल्न पनि उपमहानगर नेतृत्वलाई सुझाव दिए । गोष्ठीमा राष्ट्रियसभा सदस्य तथा बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा।खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
देवकोटाले स्थानीय शासन, संघीयता, अन्तर तह समन्वय, बजेट तर्जुमा र स्थानीय तहका असल अभ्यास बारे प्रस्तुतीकरण दिँदै उपमहानगरको विकासमा व्यवस्थित योजना बनाएर अघि बढ्नुपर्ने बताए । डा। देवकोटाले संविधानले स्थानीय तहलाई अधिकार दिएपनि विकेन्द्रीकरण व्यवहारमा लागू हुन नसकेको बताए । सिंहदरबारको अधिकार स्थानीय तहसम्म पु¥याउन विकेन्द्रीकरणले काम गनुपर्ने भएता पनि राजनीतिक नेतृत्वका कारण कार्यान्वयनमा समस्या आएको उनको भनाई थियो । संविधानतः प्राप्त अधिकार पूर्ण कार्यान्वयन गर्न सके उपमहानगरको व्यवस्थित विकास हुने देवकोटाको जोड छ ।
उनले वर्तमान अवस्थामा १२ कक्षा पास गरेपछि युवा पुस्ता देशमा नबस्ने गरेको भयावह स्थितिलाई विकाससँग जोड्नुपर्ने बताए । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले नगरको सुन्दरियता हराएको बताए । टोलटोलमा सुमो काउन्टर, पैदल यात्रीलाई सास्तीले नगरको सुन्दरता हराएको उनको भनाई थियो । नगरभित्र लागूऔषध प्रयोगकर्ताहरु बढेकोतर्फ उपमहानगरपालिकाले ध्यान दिनुपर्ने लामाले बताए । पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने भन्दै सभापति लामाले भारतीय पर्यटकको आकर्षणको केन्द्र बनाएर आम्दानी गर्न सकिने बताए ।
हेटौंडा उपमहानगरकी प्रमुख लामाले नगरको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताइन् । आफूले पहिलो पटक व्यवस्थित विकासको लागि सुझाव संकलन गर्न खोजेको भन्दै नगरबासीको मुहारमा खुशी ल्याउने गरी काम गर्ने बताइन् । नगरबासीले दिएको मतको सम्मान नगरको विकासबाट परिपूर्ति गर्ने उनको भनाई छ । आधारभू आवश्यकताका क्षेत्रमा प्राथमिकताका साथ बजेट बिनियोजन गर्ने बताउँदै लामाले सुझाव कार्यान्वयन हुनेमा विश्वास दिलाइन् ।
गोष्ठीमा बागमती प्रदेश सभा सदस्य तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मवकानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडाका निवर्तमान मेयर हरिबहादुर महत, उपमेयर राजेश बानियाँ, माओवादी केन्द्र मकवानपुरका अध्यक्ष तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानलगायतको आतिथ्यता रहेको थियो ।