वडाध्यक्ष सिग्देलसहितको टोली सचेतना लागि घरदैलोमा
हेटौंडा– हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलसहितको टोलीले शैक्षिक संस्था क्षेत्र १ सय मिटर वरिपरी मध्यपान र धुम्रपान बिक्री वितरण नगर्न हात जोड्दै अनुरोध गर्दै घरदैलो गरेको छ ।
श्रमिक मावि, ब्रम्हदिक एकेडेमी, नवदोय मावि, हेटौंडा क्याम्पस, आधुनिक मावि, स्कुल अफ म्यानेजमेन्ट, भुटनदेवी माविको क्षेत्रमा सोमबार सचेतना स्वरूप घरदैलो गरिएको हो । घरदैलोको क्रममा बाल श्रम, लैङ्गीक हिंसा, लागूऔषधविरुद्व स्टिकर समेत विभिन्न स्थानमा टाँसिएको थियो । विद्यालय क्षेत्र वरिपरि मध्यपान र धुम्रपान मुक्त बनाउनु, विद्यालयलाई शान्ति क्षेत्र बनाउनु र लागू औषत, लैङ्गिक हिंसा, वालश्रम विरूद्व अभियान रहेको वडा अध्यक्ष सिग्देलले बताए ।
कार्यक्रममा जनप्रतिनिधिहरु, टोल विकासका प्रतिनिधिहरु, महिला तथा बालवालिका सरोकार केन्द्र, सामाजिक अभियान सञ्जाल हेटौंडा–४, नेपाल प्रहरी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा वडा सदस्य जगन्नाथ पाण्डे, सामाजिक अभियान सञ्जाल, हेटौंडा–४ की अध्यक्ष माया लामा, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा–४ का संयोजक श्रीराम दाहाल, श्रमिक मावि व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, हेटौंडा क्याम्पसका प्रमुख देवचन्द्र मानन्धर, उपप्रमुख अर्पण पराजुली, महिला तथा वालवालिका सरोकार केन्द्र, मकवानपुरकी अध्यक्ष सरु सिलवाललगायतको सहभागीता रहेको वडा सचिव टीका कंडेलले बताए ।