मकवानपुरगढीमा पिल्लर उठाएर ६ वर्षदेखि अलपत्र पुलको ठेक्का रद्द

संवाददाता
चैत्र २७, २०७९

हेटौंडा– मकवानपुरगढीमा वर्षौदेखि अलपत्र पक्की पुलको ठेक्का रद्द गरिएको छ । ठेकेदारले समयमै काम नगर्दा मकवानपुरगढीको ५ र ३ नम्बर वडा जोड्ने पुलको सामरी खोलामा पिल्लर मात्रै ठडिएका छन् ।

पुलको पिल्लर मात्रै हेरेर जोखिम मोल्दै सामरी खोला ओहोरदोहोर गर्नुपर्ने वडाबासीको बाध्यता निकट भविष्यमै हट्ने भएको छ । बागमती प्रदेशको भौतिक विकास मन्त्रालयले पुलको ठेक्का तोडेर नयाँ ठेक्का लगाउने तयारी गरेको छ ।

निकट भविष्यमै पुलको नयाँ ठेक्का लगाएर अलपत्र रहेको निर्माण कार्य पूरा गर्ने योजनामा पुल हेरिहेको मन्त्रालयअन्तर्गत्को पूर्वाधार विकास कार्यालय चितवन अघि बढेको छ । सामरी खोलामा निर्माणाधीन पुल (सामरी खोला प्रि स्ट्रेसड ब्रिज) पटक–पटक म्याद थप गर्दा पनि पुरा भएको थिएन ।

पूर्वाधार विकास कार्यालय र नागार्जुन—शंकरमाली जेभीबीच २०७२ सालमा ठेक्का सम्झौता भई २०७४ सालमा निर्माण गरिनुपर्ने उक्त पुलको खोलामा पिल्लर मात्रै ठडिएका हुन् । पटकपटक म्याद थप गर्दा पनि हालसम्म निर्माणकार्य अगाडि नबढाइएको भन्दै मन्त्रालयले ठेक्का रद्द गर्दै निर्माण कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा समेत राख्ने निर्णय गरेको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिए । उनले ठेक्का रद्द भइसकेको र अब नयाँ प्रक्रियाअनुसार ठेक्का लगाएर काम सक्ने जानकारी दिएका हुन् । उनले पुलको भौतिक प्रगति ४५ प्रतिशत मात्रै भएको बताए । खर्च प्रगति ३० प्रतिशत भइसकेको यादवले बताए ।

पुल निर्माण पूरा हुन स्ल्याब ढलान, बार र रंगरोगन बाँकी छ । नागार्जुन—शंकरमाली जेभीले ठेक्का लिएर हेटौंडाकै स्थानीय ठेकेदारलाई पेटी ठेक्का दिएको थियो । पेटी ठेकेदारले काम गर्न नसकेपछि निर्माण कम्पनी पनि अप्ठेरोमा परेको छ ।

नागार्जुन—शंकरमाली जेभीले पूर्वाधार विकास कार्यालय चितवनमा १ करोड ६७ लाख रुपैयाँ भुक्तानीको लागि दाबी गरेको छ । जसमा करिब ६० लाख रुपैयाँ ठेकेदारलाई भुक्तानी हुन बाँकी रहेको इन्जिनियर यादवले जानकारी दिए । उक्त रकम अध्ययन पश्चात भुक्तानी गर्नुपर्ने वा नपर्ने निक्र्यौल गरेर निर्णय लिने तयारी मन्त्रालय र कार्यालयको छ ।

नागार्जुन—शंकरमाली जेभीले तोकिएको समयभित्र पुल निर्माण गर्न नसकेपछि प्रथम पटक २०७५ चैत २६ गते तीन महिना चार दिनका लागि समय थप गरिएको थियो । उक्त समयभित्र पनि पुल निर्माण हुन नसकेपछि २०७६ फागुन ८ गते पुनः एक वर्षको लागि समय थपिएको थियो ।

दुई पटकसम्म म्याद थप्दा पनि ठेकेदारले काम नगरेपछि भौतिक मन्त्रालयले ठेक्का रद्द गरेको हो । भौतिकमन्त्री युवराज दुलालले गत माघमा निर्माणाधीन पुलको स्थलगत निरीक्षण गर्दै तत्काल काम नगरे पुलको ठेक्का तोड्न सक्ने चेतावनी दिएका थिए । ठेकेदार सरकार भन्दा पनि शक्तिशाली हुन खोजेपछि दुलालले ठेक्का तोडेका हुन् ।
जनताको जनजीवनसँग जोडिएको विकासका पूर्वाधार निर्माणमा पटकपटक समय थप्दा पनि काम नभएपछि रद्द गर्नुको विकल्प नरहेको दुलालको भनाई छ । प्रदेश सरकारसँग पहुँचको आधारमा काम छल्ने कार्य अब अन्त्य हुने मन्त्री दुलालले बताए ।

कार्यप्रगति सन्तोषजनक नभएको र मन्त्रालयमा बैठक बोलाउँदासमेत निर्माण कम्पनी अनुपस्थित हुनाका साथै आफूले जिम्मा लिएको काममा चासो नदेखाएको र राज्यको लगानी अलपत्र पारेको, सर्वसाधरणले दुःख भोग्नपर्ने अवस्था आएकाले ठेक्का रद्द गरेर नयाँ ठेक्का आह्वान गरिने मन्त्री दुलालले जनाए । सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ७ अनुसारको कार्य गरेकाले ठेक्का सम्झौता अन्त्य गरिएको मन्त्रालयले जनाएको छ ।

पुलको सम्झौताअनुसारको लागत रकम पाँच करोड ३७ लाख ९२ हजार तीन सय पाँच रुपैँया ३० पैसा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कार्यसम्पादन जमानत बमोजिमको बैँक ग्यारेन्टी रकम २६ लाख ९० हजारसमेत जफत हुने जनाएको छ ।

उक्त पुलको ठेक्का तत्कालीन जिल्ला विकास समितिले लगाएको थियो । गतवर्ष निर्माण व्यवसायीले असारको बेला स्ल्याब ढलान गर्न खोज्दा खोलाले फाउन्डेशन बगाएको थियो । निर्माण व्यवसायीले बीमा दाबीका लागि असारमा आएर ढलान गर्न खोजेको आरोप लाग्ने गरेको छ । पुल नबन्दा हरेकवर्ष सामरी खोला वारपार भएर बस्तीमा बाढी छिर्ने डरले स्थानीय अझै त्रसित छन् ।

२०७३ साल पुस ११ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत जिल्ला विकास समिति मकवानपुरले नागर्जुन शंकरमाली जेभीलाई ५ करोड ३७ लाख ९२ हजार ३ सय ५ रुपैयाँमा २०७४ चैत ११ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको ठेक्का दिएको थियो ।

पुलको एकभागमा काठमाडौं जोड्ने बासुदेव मार्ग र अर्कोतर्फ गाउँपालिका केन्द्र जोड्ने सडक विगतमै निर्माण भएका थिए । भौतिक पूर्वाधार विकासमन्त्री दुलाल प्रदेशभित्रका अलपत्र आयोजनामाथि निगरानी बढाइरहेका छन् । प्रदेश सरकारको बजेटमा निर्माण सुरु गरिएको थुप्रै सडक र पक्की पुलको निर्माण अलपत्र छ । सडक र पुल मात्रै नभई, हेटौंडामा प्रदेश सरकारकै सभाहलदेखि प्रदेशसभा भवन निर्माण पनि अलपत्र छ ।

सरकारले पहिलो चरणमा सडक र पुल निर्माणलाई चासो दिएको छ । बागमती प्रदेशभित्र रहेको संघीय र प्रदेश राजधानी जोड्ने छोटोमार्ग कन्तबिजोग अवस्थामा छ । भैँसेदेखि फर्पिङसम्म तीन चरणमा काम भइरहेका छन् । भैँसे–भीमफेदी, हुमानेभञ्ज्याङ–फर्पिङखण्ड र सिस्नेरी–छैमले–दक्षिणकाली खण्डको काम भइरहेका हुन् ।

भैँसेदेखि भीमफेदीसम्म र सिस्नेरी सडकखण्ड स्तरोन्नतीका लागि भौतिक प्रगति भए पनि हुमाने र फर्पिङखण्डको काम भएको छैन । छोटो मार्गको फाखेलतर्फ धेरै सवारीसाधन गुड्ने गरेका छन् । फाखेल क्षेत्रमा औसत सडक राम्रो भए पनि हुमानेदेखि फर्पिङसम्मको खण्ड अत्यन्तै जेखिमयुक्त रहेको छ । हुमानेदेखि फर्पिङसम्मको खण्डमा धेरै सवारी दुर्घटनासमेत हुने गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*