चुरेहिल हस्पिटलको फार्मेसी शील
हेटौंडा– जिल्ला अनुगमन टोलीलाई अनुमतिपत्र देखाउन नसकेपछि हेटौंडामा सञ्चालित निजी क्षेत्रको ठूलो हस्पिटल चुरेहिलको फार्मेसी शील भएको छ ।
अनुमति नै नलिई गैरकानुनी रुपमा फार्मेसी सञ्चालन गरिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा बिहीवार गएको अनुगमन टोलीले चुरेहिलको फार्मेसी शील गरेको हो ।
अनुमतिपत्र देखाउन नसकेको अवैध फार्मेसीमा म्याद गुज्रिएको औषधि फेला परेको कारण अनुगमन टोलिले फार्मेसीमा ताला लगाएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले जानकारी दिए । उनले फार्मेसी शील गरेको र अनुमतिपत्र प्रशासन कार्यालयमा बुझाएपछि मात्रै सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए । हस्पिटलको आकस्मिक कक्षमा प्रयोग गर्न भने फार्मेसी प्रयोग गर्न दिइएको उनले बताए ।
चुरेहिलको फार्मेसीले गम्भीर लापरबाही गरेको देखिएपनि प्रशासनले कारबाही गर्न आनाकानी गर्दै आएको थियो । अनुगमन टोलीले जनस्वास्थ्य माथि गम्भीर खेलवाड गरेको प्रत्यक्ष देख्दा पनि फार्मेसीलाई सुझाव र निर्देशन दिएर छाड्ने तयारी गरेपछि उपभोक्ता हित संरक्षण मन्चले आपत्ति जनाएको थियो ।
अनुगमन टोलीबीच नै विवादको अवस्था सृजना भएपछि प्रशासनले फार्मेसीमा ताला लगाउने निर्णय गरेको अनुगमन टोलीका एक सदस्यले जानकारी दिए । चुरेहिल हस्पिटलले एक वर्षको कर पनि नतिरेको पाइएको छ । अनुगमन टोलीले ७ दिनभित्र कर दाखिला गरेर प्रशासनलाई जानकारी दिन निर्देशन दिएको छ ।
अस्पतालले २५ शैयाको अनुमति लिएर क्षमता भन्दा बढी बेड राखेको र अनुगमन टोली पुग्ने थाहा पाएपछि स्टोरमा बेड लुकाएको भेटिएको थियो । २५ शैयाको अस्पतालले आफ्नो क्षमता भन्दा बढी बेड राखेर संचालन गरेको थियो ।
प्रशासकीय अधिकृत न्यौपानेले भने आकस्मिक कक्ष बाहेक नै २५ बेड देखाएको भएपनि हुने अवस्थामा हस्पिटलले आकस्मिकसहित २५ बेड देखाएको जानकारी दिए । अनुगमन आउने जानकारी अस्पतालले पहिल्यै पाएपछि अस्पतालले बेड लुकाएको पाइएको थियो । बढी राखिएको बेड स्टोर कक्षमा लुकाइएको भेटिएको हो ।