हेटौंडामा ओभरलोड नियन्त्रण गर्न प्रहरीलाई वडाको पत्र
हेटौंडा– पछिल्लो समय ओभरलोड बोकेको टिपरले आतंक मच्चाएको भन्दै वडा कार्यालयले प्रहरी प्रशासन समक्ष पत्राचार गरेको छ ।
हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाकार्यालयले ओभरलोड नियन्त्रण माग गर्दै जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र प्रहरीचौकी चौकीटोललाई पत्राचार गरेको हो । वडाबासीको माग बमोजिम ओभरलोड र ओभर स्पीड नियन्त्रण गर्न पत्राचार गरिएको उपमहानगरका प्रवक्तासमेत रहेका १ नम्बर वडाअध्यक्ष सविन न्यौपानेले बताए । हेटौंडा नगरक्षेत्रमा रहेका तीनवटा ठूला सिमेन्ट उद्योगका कच्चापदार्थ आपूर्ति गर्ने क्रममा टिपरले क्षमता भन्दा बढी लोड बोकेर नगरको मुख्य सडक र यात्रुलाई जोखिममा पारिरहेका छन् ।
तीव्रगतिका टिपर आउने बित्तिकै मोटरसाइकल, साइकल, अटो, मयुरी जस्ता सवारीसाधन कालोपत्रे सडक छोडेर भाग्नुपर्ने अवस्था छ । टिपरले ढाला भन्दा माथि चुली लगाएर चुनढुंगा ल्याएपछि सडक सुरक्षामै खतरा निम्तिएको हो । नेपालको सडकहरु १० मेट्रिकटन भारवहन गर्ने सवारीका लागि निर्माण गरिएको भएपनि ५० टन भन्दा बढी चुनढुंगा बोक्ने टिपरहरु निर्वाध चलिरहेका छन् ।
तर, प्रहरी प्रशासनको यसतर्फ कुनै ध्यान गएको छैन । जसकारण स्थानीयको आवाजलाई १ नम्बर वडाकार्यालयले प्रहरीसँग पत्राचार गरेको हो । ओभरलोड बोकेका टिपर नियन्त्रणमा प्रहरीले सक्रियता नदेखाए स्थानीयहरु सडकमै उत्रिने चेतावनी दिएको वडाध्यक्ष न्यौपानेले बताएका छन् ।
‘ओभरलोड बोक्ने टिपरहरुले सडकमा आतंक नै मच्चाइरहेको पाइयो । ढाला भन्दा माथि ढुंगा बोक्दा सडकमा असुरक्षा र ओभर स्पीडले ज्यानधन नै जोखिममा छ । यसकारण वडाकार्यालयले तत्काल नियन्त्रण गर्न प्रहरी कार्यालयलाई पत्र लेखेको हो ।
प्रहरीले चासो नदेखाए वडाबासीहरु सडकमै उत्रिने चेतावनी दिइरहेका छन ।,’ न्यौपानेले भने । मकवानपुरमा सरकारी मापदण्डविपरित ओभरलोड चुनढुंगा बोक्ने १ सय भन्दा बढी टिपरहरु विगत एक महिनाभित्र कारबाहीमा परेका छन् । तर, टिपरमाथिको कारबाही प्रहरीको सक्रियता मात्र नभई राजनीतिक दल र स्थानीयको दबाबबाट सृजना भएको चर्चा छ ।
टिपरले ढाला बरार मात्रै चुनढुंगा बोक्न पाउनुपर्ने मापदण्ड छ । तर, मकवानपुरका सिमेन्ट उद्योगको खानी क्षेत्रबाट टिपरले मापदण्डविपरित ढाला भन्दा माथि चुली बनाएर चुनढुंगा ओसार्दै आएका हुन् । विगतदेखि नै राजनीतिक शक्तिको आढमा विभिन्न निर्माण कम्पनीले प्रहरीलाई समेत प्रलोभनमा पारेर चुनढुंगा वसारपसार गरिरहरको नागरिक समाजको आरोप छ ।
मकवानपुरगढी, मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको सीमानामा पर्ने शिखरकटेरी नजिक सालक पार्कमा प्रहरीले छड्के चेकिङ गरेर ओभरलोड बोक्ने टिपरलाई कारबाही गर्दै आएको छ । तर, टिपरहरुको अटेरीपनाका कारण ट्राफिक प्रहरी नै हैरान बनेका छन् ।
हेटौंडास्थित ऋद्धिसिद्धि सिमेन्ट उद्योगले राक्सिराङ गाउँपालिका र शिवम् सिमेन्टले मकवानपुरगढी गाउँपालिकाको ७ र ८ नम्बर वडामा रहेका खानीक्षेत्रबाट चुनढुंगा उत्खनन् गरिरहेका छन् । उत्खनन् गरिएका चुनढुंगा टिपरहरुले ढाला भन्दा माथि चुली बनाएर कानुनविपरित ओसारपसार गरिरहेका हुन् ।
दुवै सिमेन्ट उद्योगका लागि चुनढुंगा उत्खनन् र ढुवानीको जिम्मा लिएका बानियाँ निर्माण सेवा प्रालि, मोर्डन इन्फ्रास्टक्चर प्रालि, मोतिदान कन्ट्रक्सन प्रालि र बागमती विन्द्यबासिनी कन्ट्रक्सन प्रालिले भने प्रमुख जिल्ला अधिकारी (सीडीओ) राजेन्द्रदेव पाण्डेलाई यसअघि शान्ति सुरक्षा र व्यवसाय गर्ने वातावरण बनाइदिन निवेदनसमेत दिएका थिए ।
प्रजिअ पाण्डेलाई बुझाएको पत्रमा ठेकेदारले मुख्यतः दुईवटा विषयलाई जोड दिएका छन् । पहिलो, शान्ति सुरक्षा माग गर्दै व्यवसाय गरी खान पाउनुपर्ने माग छ । दोस्रो, ओभरलोड बोक्ने टिपरलाई कारबाही गर्न आवाज उठाउनेलाई स्वार्थ समूहको आरोप लगाउँदै भौतिक कारबाहीसम्मको धम्की दिइएको थियो ।
ठेकेदारको निवेदनपछि सिडिओ पाण्डेदेखि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसम्मले चासो देखाएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्यले जानकारी दिए । साझाकुरासँग कुरा गर्दै ट्राफिक प्रमुख आचार्यले सिडिओ र मुख्यमन्त्रीले समेत ओभरलोड टिपरका सम्बन्धमा चासो देखाएर छलफल गरिएको बताए ।
इन्स्पेक्टर आचार्यले ओभरलोड बोकेका टिपर नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने बताए । ‘ओभरलोडलाई हामीले कारबाही गरिरहेका छौं । हामीले खानी क्षेत्रबाटै ढाला भन्दा माथि ढुंगा नल्याउन निर्देशन दिएका छौं । ल्याएको पाइए कारबाही गर्छौ’, आचार्यले भने ।
उनले खानी क्षेत्रबाट उद्योगसम्म पुग्न टिपरलाई वैकल्पिक मार्गको पनि व्यवस्था नभएकाले मुख्य सडकबाटै हिँड्नुपरेको बताए । आफूले वैकल्पिक सडकको विषयमा ध्यान दिएपनि सम्भवन नदेखेको इन्स्पेक्टर आचार्य बताउँछन् । प्रहरीले टिपरले ढाला बराबर मात्रै ढुंगा बोक्न पाउने मापदण्ड रहेको जनाएको छ ।