पूर्वी क्षेत्र फापरबारीमा रामनवमी मेला
हेटौंडा– मकवानपुरको पूर्वी क्षेत्रस्थित बामगती गाउँपालिकामा रामनवमी मेला सुरु भएको छ । बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले मेलाको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फणिन्द्रकुमार तिमल्सिना, वडाअध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवीलगायतको सहभागिता रहेको थियो ।
चैत १६ गतेसम्म बागमती–८, शान्तिपुर फापरबारीस्थित रामजानकी मन्दिरमा मेला संचालन हुने मेलाका संयोजक खड्कबहादुर पुलामीले जानकारी दिए । मेलामा करिव एक सय स्टल रहेका छन् । मेलामा बालउद्यान, खाना, कपडा, भाँडाकुँडा, खाद्यान्न, जुत्ता चप्पलका स्टल छन् ।
करिव दुई करोड रुपैयाँ कारोवारको लक्ष्य राखिएको मेलामा लगभग एक लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । मेला अवलोकन गर्न मकवानपुर सहित सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, काभ्रे र ललितपुरबाट दर्शकहरु आउने मेला आयोजक समितिका सहसंयोजक मनोज नेगीले जानकारी दिए ।
मेलामा स्थानीय उत्पादनहरु प्रवद्र्धन गरिने आयोजकले जनाएको छ । स्थानीयस्तरमा उत्पादन भएका सुन्तला, बेसार, केरा, साग, कफी, बागमती खोलाको माछा, अर्गानिक बंगुरको छोइला, फापरको ढिँडोलगायत खाद्यान्नको प्रवद्र्धन तथा स्थानीय कलासंस्कृति, तामाङ समुदायको डम्फुनाच, भजनकीर्तन, राई, मगरको संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम गरिने स्थानीय समाजसेवी तथा सल्लाहकार किशोर रानाले जानकारी दिए ।
ऐतिहासिक रामनवमी मेला फापरवारीको शान स्थानीय कलासंस्कृति, कृषि, पर्यटन प्रवद्र्धन हाम्रो पहिचान भन्ने मुल नाराकासाथ स्थानीय धार्मिक तथा ब्यापार मेलाको आयोजना गरिएको बागमती गाउँपालिका वडा नं. ८ का वडाअध्यक्ष केशव तिमल्सिनाले बताए ।
मेलामा गायक विश्व दोङ, ताराप्रकाश लिम्बु, क्षितिज रानामगर लगायतले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । २०३३ सालदेखि वार्षिकरुपमा हुँदै आएको मेला कोरोना महामारीपछि सञ्चालन हुन सकेको थिएन ।