बागमतीमा सरकार विस्तार गर्न कार्यदल गठन

संवाददाता
चैत्र १५, २०७९

हेटौंडा– गठबन्धनको शिर्ष तहमा सत्ता साझेदार दलहरुबीच मन्त्रीको विषयमा भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन बन्न पुग्यो ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक मन्त्रालय भागबण्डा नमिलेर निष्कर्षहीन बनेको हो ।

संघीय सरकारमा जस्तै, बागमती प्रदेश सरकार विस्तारमा पनि गठबन्धनको प्रदेश तहमा अलमल छ । संघीय सरकारमा मन्त्रिमण्डलको भागबण्डा नमिले जस्तै बागमतीमा पनि सरकार विस्तारमा सकस देखिएको हो । मन्त्रालय संख्या भन्दा बढी मन्त्रालयमा दाबी परेपछि मंगलबार गठबन्धनका दुई दलले कार्यदल गठन गरेका छन् । काठमाडौंमा गठबन्धनको ठूलो दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामा र मुख्यमन्त्री शालिकराम जम्कट्टेलको बैठकपछि कार्यदल गठन गर्ने निर्णय भएको छ ।

बागमतीमा कार्यदलले मन्त्रालय भागबण्डाको टुंगो लगाउने भएको हो । ११ वटा मन्त्रालय संख्या रहेको बागमती सरकारमा नेपाली कांग्रेसले ६, नेकपा (एकीकृत समाजवादी) ले ३ र हाम्रो नेपाली पार्टीले १ मन्त्रालयमा दाबी गरेको छ । २५ पुसमा नेकपा एमाले र राप्रपासहितको गठबन्धनबाट सरकार गठन हुँदा माओवादी केन्द्रले लिएको ४ वटा मन्त्रालय कायम छ । माओवादीले लिइरहेको ४ वटासहित सरकार बाहिर रहेका ३ दलले ९ वटा मन्त्रालयमा दाबी गरेपछि मुख्यमन्त्री जम्कट्टेललाई भागबण्डा मिलाउन सकस देखिएको हो ।

सरकार विस्तारको सम्बन्धमा छलफल गर्न कांग्रेस बागमती संसदीय दलका नेता लामा र मुख्यमन्त्री जम्कट्टेल काठमाडौंमा बसेपछि कार्यदल बनेको हो । कार्यदलको संयोजकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकार रहेका छन् । कार्यदलमै पनि भागबण्डाअनुसार सहभागिता छ ।

७ सदस्यीय कार्यदलमा कांग्रेसले संयोजकसहित ३ सदस्य, माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट २ जना छन् । कार्यदलको सदस्यमा कांग्रेसबाट कुन्दनराज काफ्ले, तीर्थ लामा, माओवादीबाट सरल सहयात्री, रत्न ढकाल, हाम्रो नेपाली पार्टीबाट सैलेन्द्रमान बज्राचार्य र एकीकृत समाजवादीबाट एक प्रतिनिधि रहेका छन् । एकीकृत समाजवादीको प्रतिनिधिको नाम भने नटुंगिएको संयोजक चित्रकारले जानकारी दिए ।

चित्रकारका अनुसार कार्यदलले तत्काल मन्त्रिमण्डल भागबण्डा टुंगाएर पेस गर्ने भएको छ । कार्यदलका सदस्य तथा माओवादी केन्द्रका सांसद सरल सहयात्रीले हप्ता दिनभित्र सरकार भइसक्ने जानकारी दिए ।

बिहीवार कार्यदलको बैठक बसेर दलहरुको दाबीमाथि छलफल हुने उनले बताए । ‘मन्त्रालय संख्या भन्दा बढीमा दाबी परेको छ । अब कार्यदलले भागबण्डा टुंगो लगाउन समन्वय गर्छ । मन्त्रालय संख्या वृद्धि नगर्नेमा सबै दलहरु एकमत छन् । ११ वटै मन्त्रालयभित्र भागबण्डा हुन्छ’, सहयात्रीले भने ।

कांग्रेसले केन्द्रीय गठबन्धनमा भागबण्डा नलागी बागमतीमा सरकार विस्तार नहुने अडान लिँदै आएको छ । सांसद संख्याअनुसार मन्त्रालय भागबण्डा हुनुपर्ने बताउँदै आएको कांग्रेसले केन्द्रकै मोडालिटीमा भागबण्डा टुंग्याउने तयारी गरेको हो । बागमतीमा नेकपा माओवादी केन्द्रबाट जम्कट्टेल मुख्यमन्त्री छन् ।

उनले १० चैतमा दोस्रो पटकको विश्वासको मत पाएसँगै गठबन्धनमा मुख्यमन्त्रीको लडाई लगभग सकिएको हो । १० चैतमा बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिँदै सरकार निरन्तरताको योजनामा सफल बनेका थिए । विश्वासको मत पाएसँगै जम्कट्टेल सरकार विस्तारको तयारीमा पनि छन् ।

मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालयलगायत चार वटामा माओवादी केन्द्रका मन्त्रीहरु नै छन् । बाँकी ७ वटा मन्त्रालय बाँडफाँड हुनेछ । तर, नेपाली कांग्रेसले ६ वटा मन्त्रालयमा दाबी गरेपछि गठबन्धनकै नेकपा (एकीकृत समाजवादी) ले एउटा मन्त्रालय पाउने देखिन्छन् । तर, एकीकृत समाजवादीले एउटा मन्त्रालयमा चित्त नबुझाउने सांसदहरु बताउँछन् ।

मुख्यमन्त्री आफैंले हाल ७ वटा मन्त्रालय सम्हाल्दै आएका छन् । रकार गठन हुँदा मन्त्रिपरिषद्मा गएका नेकपा एमाले र राप्रपाले राजीनामा दिएपछि रिक्त मन्त्रालयको काँध जम्कट्टेलले थामिरहेका छन् । २५ पुसमा नयाँ सरकार गठन भएपछि लागेको भागबण्डामा एमालेले ४ वटा र राप्रपाले ३ वटा मन्त्रालय पाएको थियो । राप्रपाले १३ फागुनमै सरकारलाई दिएको समर्थन फिर्तासहित मन्त्रीबाट राजीनामा दिएको थियो भने एमालेले १० गते राजीनामा दिएको हो ।

सत्तामा नहुँदा पनि पहिलोपटक मुख्यमन्त्रीलाई विश्वासको मत दिएको स्मरण गर्दै कांग्रेस मुख्य सचेतक कुन्दनराज काफ्लेले सांसदको सिट संख्याको आधारमा मन्त्रालय भागवण्डा गरिनुपर्ने बताए । उक्त हिसाबले हेर्दा कांग्रेसको भागमा ६ वटा मन्त्रालय पर्न आउने उनको भनाई छ ।

प्रदेशसभामा २ सिट रहेको हाम्रो नेपाली पार्टीले पनि एउटा मन्त्रालयमा दाबी गरेको छ । हाम्रो नेपाली पार्टीले अघिल्लो गठबन्धनमा पनि मन्त्रालय दाबी गरेको थियो ।

तर, केन्द्रीय गठबन्धनमा हाम्रो नेपाली पार्टी सहभागी नभएकाले र ठूला दललाई भाग कम हुने भएपछि बागमतीमा मन्त्रालय दिने सम्भावना कम रहेको बुझिन्छ । सरकारलाई समर्थन गरेकाले हाम्रो नेपाली पार्टीलाई कार्यदलमा राखिएको र सरकारमा सहभागी गराउने वा नगराउने पछि छलफल हुने कार्यदल संयोजक चित्रकारले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*