किसानको समस्या सुन्न पैसा नलाग्ने टोल फ्रि नम्बर

संवाददाता
फाल्गुन १२, २०७९

हेटौंडा– बागमती प्रदेश सरकारले किसानको गुनासो सुन्नको लागि पैसा नलाग्ने टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानसहित मन्त्रालयसँग सरोकार राख्नेहरुको समस्या सुन्नको लागि बुधबारबाट निःशुल्क सेवाको रुपमा ‘टोल फ्रि नम्बर’ सञ्चालनमा ल्याएको हो ।

बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेलले निःशुल्क टेलिफोन सेवाको सुरुवात गर्दै टोल फ्रि नम्बरले किसानहरुले सिधै मन्त्रालयसँग पहुँच राख्नसक्ने बताए ।

मन्त्री पोखरेलको अनुसार मन्त्रालयप्रति किसान वा सरोकारवालाले टोल फ्रि नम्बर १८१०५००००११ नम्बरमा निःशुल्करुपमा फोन गरेर आफ्ना समस्या, गुनासोहरु टिपाउन सक्नेछन् ।

यो सेवा हाललाई कार्यालय समयमा मात्र हुने मन्त्रालयले जनाएको छ । फोनको चाप बढेको अवस्थामा समय पनि बढाउने मन्त्री पोखरेलको भनाइ
रहेको छ । टोल फ्रि नम्बरले किसानको समस्या पहिचान हुने र प्राथमिकताको आधारमा उनीहरुको समस्यालाई समाधान गर्न मन्त्रालयले काम गर्नेसमेत उनले बताए ।

हाल कार्यालय समयमा मात्रै टोल फ्रि नम्बर सञ्चालन गरिएको भएपनि आवश्यकताअनुसार यसको समय बढाइने उनको भनाइ छ । मन्त्री पोखरेलले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै प्रतिबद्वतापत्र सार्वजनिक गरेका थिए । सोही अनुसार टोल फ्रि नम्बर सञ्चालनमा ल्याएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*