उपाधि जित्न हेटौंडामा एक वर्षपछि भिड्दै मनाङ र हिमालयन शेर्पा

पछिल्ला ६ खेलमा कसको पल्लाभारी ?
संवाददाता
फाल्गुन १०, २०७९

हेटौंडा– हेटौंडामा जारी पाँचौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज बुधवार हुँदैछ ।

हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दी क्लबसँग मकवानपुर गोल्डकपको उपाधिका लागि ए डिभिजन क्लब हिमालय शेर्पाले संघर्ष गर्दैछ । मकवानपुर गोल्डकपको पाँचौ संस्करणसम्म आइपुग्दा मनाङ र हिमालय शेर्पा दुवै पहिलो पटक फाइनल पुगेका हुन् ।

२०६४ सालमा दोस्रो जनआन्दोलन सहिद स्मृति गोल्डकपका रुपमा आयोजित प्रतियोगिता थ्रीस्टारले जितेको थियो । प्रतियोगिताको दोस्रो संस्करण २०७५ सालमा जिल्ला फुटबल संघले गरेकोमा आयोजक मकवानपुर विजयी बनेको थियो । त्यसपछिका दुई गोल्डकप उपाधि विभागी टोली त्रिभुवन आर्मीले जितेको छ ।

डिफेन्डिङ च्याम्पियन आर्मी क्वाटरफाइनलबाटै बाहिरिएसँगै मकवानपुर गोल्डकपले नयाँ विजेता पाउँदैछ । मनाङ वा हिमालयनको नाममा नयाँ इतिहास बन्ने भएको हो । रंगशालामा मंगलबार भएको पत्रकार सम्मेलनमा मनाङ र हिमालयन दुवैले उपाधि जित्ने दाबी गरे । हिमालयन शेर्पाका प्रशिक्षक सुमन श्रेष्ठले उपाधि जित्ने लक्ष्य मैदानमा उत्रिने बताए ।

हिमालयनका केही खेलाडी घाइते भएपनि फाइनल खेल्न समक्ष रहेको श्रेष्ठको भनाई छ । हिमालयनका कप्तान विश्वास श्रेष्ठ नै घाइते छन् । उनको सेमिफाइनल खेलमा एपीएफसँग खेल्दा लडेर हातमा चोट लागेको छ । घाइते भए पनि फाइनल खेल्न सकिने कप्तान श्रेष्ठ बताउँछन् ।

राष्ट्रिय टिमका गोलरक्षकसमेत रहेका मनाङका कप्तान दिप कार्कीले उपाधि जित्न सक्षम भएको बताए । उनले मनाङसँग युवा खेलाडीहरु धेरै रहेको बताए । ‘विगतका खेलाडी भन्दा यसपाली मनाङसँग धेरै युवा खेलाडीहरु छन् । मनाङले भविष्यलाई सोचेर युवाहरु ल्याएको हो,’ कार्कीले भने ।

मनाङसँग बार्सिलोनाका पूर्वडिफेन्डर सन् २०१४–०१५ मा बार्सिलोनाको सिनियर टोलीबाट खेलेका सेनेगलका दिवान्दु डियाग्ने नियाङ उज्वेकिस्तानका खेलाडी सिडजामोल डेबुलेशन जस्ता अनुभवी खेलाडी छन् ।

हिमालय शेर्पाले क्यामरुनी टोली एभिनियर एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । हिमालयन सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा सुनिल श्रेष्ठको निर्णायक गोलबाट विजयी बनेको थियो । हिमालयनसँग पनि माउसालगायतका नेपालमा यसअघि विभिन्न प्रतियोगिता खेलिसकेका दुई अफ्रिकन खेलाडी छ ।

बलियो टिम एभिनियरलाई हराएको हिमायलनले मनाङलाई कमजोर प्रतिस्पर्धी भने नमानेको प्रशिक्षक श्रेष्ठले बताए । मनाङसँग राम्रो टिम रहेको उनको भनाई छ । नेपाली फुटबलमा मनाङ र हिमालयन शेर्पाको प्रतिस्पर्धा भने रोमाञ्चक छ । मनाङ र हिमालयन शेर्पा करिब १ वर्षपछि भेट्दै छन् ।

विगतका प्रतिस्पर्धालाई हेर्दा हिमालयन शेर्पाको स्थापना र उसले माथिल्लो डिभिजनमा खेल्न थालेदेखि मनाङ मस्र्याङदीको बलियो प्रतिद्वन्द्वी भएर अगाडि आएको छ । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा यिनै दुई टिम भिडेका थिए । जसमा मनाङले जितेको थियो ।

फागुन २०७८ मै मनाङ मर्स्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा हिमालयन शेर्पालाई हराएर पुगेको थियो । हिमालयन शेर्पाले वर्ष ०६८ देखि ए डिभिजनमा खेल्न थालेको थियो ।

हालसम्म मनाङ र हिमालयनबीच एडिभिजन लिगमा कुल ६ भेट भएकोमा मनाङले धेरै जितेको छ । यी ६ खेलमा मनाङ चार पल्ट विजेता रहेको छ भने एक पल्ट हिमालयन शेर्पाले जित निकालेको थियो । २०६८ मा लिग खेलेपछिको पहिलो भेटमै हिमालयन शेर्पा मनाङसँग १–२ ले पराजित बनेको थियो ।

मनाङ वर्ष २०६९ मा १–० गोलले विजयी बन्यो । २०७५ मा मनाङ २–१ ले विजयी रह्यो । वर्ष ०७० मा भने हिमालयन शेर्पाले मनाङलाई २–१ ले हराएको थियो । २०७६ मा हिमालयनले मनाङलाई गोलरहित बराबरीमा रोकेको थियो ।

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगितामा विजेता हुने टोलीले १५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*